९ माघ, बुटवल । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले दाङ-१ बाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको बताए ।
दाङ-१ मा देखिएको विवाद मिलाउनका लागि नेकपाका नेता वर्षमान पुन दाङ पुगेका थिए । दाङ पुगेर नेता पुनले उनीसँग छलफल गरेका थिए । तर केसीले उम्मेदवारी फिर्ता लिन नमान्दा उम्मेदवारी कायमै रहेको हो ।
केसीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका थिए ।
पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए । त्यही झोकमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा आफूले योगदान गर्न चाहेको बताए ।
चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए । केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।
प्रतिक्रिया 4