+
+
Shares

दाङ-१ : पूर्वमुख्यमन्त्री सोनामको विद्रोह

पार्टीले दोस्रोपटक पनि मेटमणि चौधरीलाई टिकट दिएपछि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले विद्रोहको बाटो रोजेका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८२ माघ २७ गते १९:२४

२७ माघ, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट विदा भएका कुलप्रसाद केसी सोनाम पछिल्लो साढे तीन वर्ष गुमनाम जस्तै थिए ।

जबकि प्रदेश सभाको पाँच वर्षे कार्यकालभर उनले चर्चामै बिताएका थिए- कहिले अभिव्यक्तिले त कहिले प्रदेश संरचणा स्थान्तरण गर्ने कार्यशैलीले ।

तर लामो समय भूमिगत जस्तै रहेका उनी यसपटक दाङ-१ मा मत मागिरहेका छन् । यद्यपि उनी आबद्ध नेपाली कम्युनिस्ट पार्टीले टिकट दिएको भने होइन । बागी उम्मेदवार बनेर उनी मत मागिरहेका छन् ।

यो क्षेत्रमा कांग्रेसबाट योगेन्द्र चौधरी, एमालेबाट रेवतीरमण शर्मा, नेकपाबाट पूर्वमन्त्री मेटमणी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार छन् । र पूर्व मुख्यमन्त्री नै बागी बनेर उम्मेदवार बन्दा यो क्षेत्रको चुनावी प्रतिश्पर्धा रोचक बन्ने अनुमान गरिदैछ ।

उपेक्षाको विद्रोह

०७८ सालमा तत्कालीन नेकपा फुटदा एमाले नेता शंकर पोखरेलाई अल्पमतमा गर्दै सोनाम लुम्बिनीको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीको डेढ वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधि सभा सदस्यको चुनाव लड्न चाहन्थे ।

त्यसबेला उनी रोल्पा (क) प्रदेशसभा सदस्य जितेका थिए । तर उनले टिकट पाएनन् ।

सोनामले चुनाव लड्न चाहेको क्षेत्रमा मेटमणी चौधरी उम्मेदवार भए । त्यसपछि सोनाम राजनीतिमा सक्रिय देखिएनन् । यसपटक पनि उनी आकांक्षी थिए । तर उम्मेदवार फेरि मेटमणि नै बनेपछि उनले विद्रोह रोजे ।

उनी निकट नेताहरु बागी उम्मेदवारीलाई उपेक्षाको विद्रोह भन्छन् । ‘मुख्यमन्त्री भइसकेको व्यक्तिलाई पटक पटक उपेक्षा गरियो’ सोनामको पक्षा खुलेका नेता होमप्रसाद शर्मा भन्छन्, ‘पार्टी नेतृत्वबाट उहाँलाई न्याय भएन ।’

मेटमणिले टिकट पाइरहँदा पूर्व माओवादी पक्षधर नेताहरु असन्तुष्ट छन् । उनीहरु बिस्तारै सोनामका पक्षमा खुल्न थालेको दावी गरिएको छ ।

‘पार्टी आन्दोलनमा लागेकाहरुलाई उपेक्षा गरेर फरक पृष्ठभूमिको मान्छेलाइ उम्मेदवार बनाइयो’, शर्मा भन्छन् । युद्वकालदेखि आन्दोलनमा लागेको र मुख्यमन्त्री भइसकेको व्यक्तिलाई टिकट निदइनु विड्म्बना उनी बताउँछन् ।

सोनामको विद्रोह उनको राजनीतिक संकट टार्न भएको पूर्वमाओवादीका एक नेताले बताए । पार्टीबाट उपेक्षा परिरहनु भन्दा विद्रोह गर्नु उचित भनेर सोनामले यो कदम रोजेको उनी बताउँछन् । ‘पार्टीले टिकट नदिदा उहाँको राजनीतिक भविष्य संकट उन्मुख हुँदै गइरहेको थियो । उहाँ राजनीतिक रुपमा गुमनाम हुँदै जाने अवस्था थियो,’ उनी भन्छन्, ‘यस्तोमा उहाँको राजनीतिक अस्तित्व जोगाउँने अन्तिम विक्लप विद्रोहमात्र थियो ।’

नेकपाका नेताहरुले सोनामको उम्मेदवारी फिर्ता गराउन प्रयास गरेका थिए । तर सोनाम आफ्नो निर्णयबाट पछि हटेनन् । पार्टी निर्णय नमानेपछि सोनमलाई निश्कासन समेत गरिएको छ ।

‘उम्मेदवार नबनाए विद्रोह गर्छु भनेर पहिलै जानकारी गराइ सकेको थिए,’ सोनामले भने, ‘अहिले म अगाडि बढिसकें । अब म स्वतन्त्र रुपमा जनताको काम गर्न चाहन्छु ।’

आफ्नो उम्मेदवारी पार्टीभित्रको विद्रोहभन्दा पनि मतदाताको आवश्यताले भएको उनी बताउछन् । ‘यहाँको मतादाताले तपाई नै आउनु पर्छ भनेपछि म आएको हुँ,’ सोनाम भन्छन् ।

नेकपा तरंगित

पूर्व मुख्यमन्त्री सोनामको उम्मेदवारले दाङ-१ का नेकपा तरंगित छ । सोनामको उम्मेदवारीले खासगरी मेटमणी चौधरीलाई असर पर्ने देखिन्छ । नेताहरुका अनुसार सोनामले माओवादी मत तान्नेछन् । माओवादी अन्दोलनमा जोडिएको पुराना नेता भएकाले पनि उनको यहाँ राम्रै प्रभाव छ ।

उनी माओवादी युद्को बेला जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार थिए । त्यसबेला ३ वर्ष जेल बसे । त्यसपछि उनी पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज हुँदै पार्टीको केन्द्रीय सदस्य हुँदै पोलिट् ब्युरो सदस्य भए । युद्वको त्यो सेन्टिमेन्टले पनि माओवादी नेता कार्यकर्ताहरु सोनामको पक्षमा छन् ।

खासगरी देउखुरी क्षेत्रको राजपुर, गढवा र राप्ती गाउँपालिका पूर्व माओवादी पंती सोनामको पक्षमा खुलेरै लागेका नेताहरु बताउँछन् । यी पालिकाहरु माओवादीको बलियो पकड भएको क्षेत्र मानिन्छ ।

सोनाम मुख्यमन्त्री भइसकेकाले पनि यस क्षेत्रमा उनको केही प्रभाव राम्रो देखिन्छ । खास गरी बुटवलमा रहेको लुम्बिनी प्रदेशको संचरणा रातारात छापामार शैलीमा दाङको देउखुरीमा ल्याएका थिए । शंकर पोखरेलले दाङको देउखुरीलाई प्रदेशको राजधानी घोषणा गरे पनि स्थान्तरण हुन सकेको थिएन । सोनामले आफु मुख्यमन्त्री भएपछि प्रदेश राजधानी बुटवलबाट देउखुरी क्षेत्रमा ल्याएका थिए ।

सोनाम भन्छन्, ‘मुख्यमन्त्री हुँदा मैले यहाँ राजधानी ल्याए । प्रदेशको सम्पूर्ण गुरु योजना बनाए । विकासका योजनाहरु पनि यहाँ ल्याए । यहाँ जनताले मलाई मत नदिए कसलाइ दिने ?’

माओवादी पृष्ठभूमिका नेताहरु उनको पक्षमा खुले पनि जित निकाल्न सजिलो छैन । किनभने कांग्रेस, एमाले र नेकपा बलियो पकड छ । बरु सोनामको उम्मेदवारीले नेकपाको मत बिभाजित हुने देखिन्छ ।

०७९ सालको प्रतिनिधि सभा चुनावमा मेटमणिले माओवादीसँगको चुनावी गठबन्धनबाट जितेका थिए । एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले पराजित गर्दै मेटमणिले २६ हजार ५६३ मत पाएर जितेका थिए ।

उसैपनि चौधरी मत बलियो रहेको दाङ-१ मा चौधरी समुदायबाट नेपाली कांग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरी उम्मेदवार छन् । थारुहट आन्दोलनको पृष्ठभूमिबाट भएकाले उनीसँग चौधरी समुदायको मत राम्रो छ । त्यसैले मेटमणिले पाउँने जातीय मत यसपालि बिभाजित हुने देखिन्छ ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?