११ माघ, काठमाडौं । शिक्षाविद् केदारभक्त माथेमाले विश्वविद्यालयको डिग्री प्राप्ति गर्नु शिक्षाको अन्त्य नभई ज्ञानको नयाँ चरणको सुरुवात मात्र भएको बताएका छन्। नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले खुला विश्वविद्यालयलाई निरन्तर सिकाइको प्रतीकका रूपमा व्याख्या गरे।
‘यो विश्वविद्यालय उमेर, स्थान र परिस्थितिको सीमाभन्दा माथि उठेको विशिष्ट शैक्षिक संस्था हो,’ उनले भने। खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व, जिज्ञासु र स्वअध्ययनशील हुने चर्चा गर्दै उनले दूरशिक्षा पद्धतिले मानिसमा आत्मअनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने बताए।
माथेमाले विद्यार्थीहरूलाई पुस्तक अध्ययन, बहुविषयक ज्ञान र विशेषतः साहित्यको अध्ययनमा जोड दिन आग्रह गरे। यस्तो अध्ययनले विचार, भाषा र मानवीय संवेदनशीलता विकास गर्ने उनको भनाइ थियो।
समारोहका अध्यक्ष एवं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री सुशीला कार्कीले खुला तथा दूर सिकाइमार्फत सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले प्रयास गरिरहेको बताइन्। उनले विश्वविद्यालयले समयको गतिलाई आत्मसात् गर्दै विश्वव्यापी र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाइ सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
समारोहमा उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक यात्राको महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताइन्।
५४५ विद्यार्थी उत्तीर्ण, १८६ दीक्षित विश्वविद्यालय स्थापना भएदेखि २०८२ असार मसान्तसम्म तीनवटै सङ्कायबाट जम्मा ५४५ जना विद्यार्थीहरूले शैक्षिक कार्यक्रम सम्पन्न गरेको जानकारी दिइयो। जसमध्ये सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुनबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना रहेका छन्।
तहगत रूपमा दर्शनाचार्य (एमफिल) मा १५२, स्नातकोत्तरमा ६४, पीजीडीमा २ र स्नातक तहमा ३२७ जना उत्तीर्ण भएका छन्। तीमध्ये १८६ जना विद्यार्थी आइतबार आयोजित समारोहमा प्रत्यक्ष सहभागी भई दीक्षित भएका छन्।
यस दीक्षान्त समारोहमा व्यवस्थापन तथा कानुन सङ्कायअन्तर्गत सुदूरपश्चिम प्रदेशका बाबुराम भुलले नेपाल खुला विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो विद्यार्थी बनेर इतिहास रचेका छन्। दुर्गम क्षेत्र तथा दलित समुदायबाट उनले प्राप्त गरेको यो सफलताको कार्यक्रममा विशेष प्रशंसा गरियो।
समारोहमा विश्वविद्यालयको शैक्षिक जर्नल ‘नेपाल खुला विश्वविद्यालय जर्नल’ को पहिलो अङ्कको समेत अनावरण गरिएको थियो।
प्रतिक्रिया 4