११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन् । जसमा नयाँ र अनुभवी तथा युवा अनुहार समेत छन् । समावेशी अनुहार त छँदैछ ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।
आइतबारको निर्वाचनबाट विजयी भएका राष्ट्रिय सभा सदस्यहरूमा यसअघि नै प्रतिनिधिसभामा काम गरिसकेका व्यक्तिहरू समेत छन् । विल्कुल नयाँ अनुहार पनि चुनिएर आएका छन् ।
तल्लो सदनमा चार अनुहार माथि उक्लिए
राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका अनुहार हुन् ।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए । पटक–प्रतिनिधिसभा सदस्य भएर काम गरेका उनी राजनीतिको उत्तरार्धतिर राष्ट्रिय सभा सदस्य भएका हुन् ।
ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका थिए । त्यसबेला उनी उपसभामुख बने । २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जिते । २०६४ को निर्वाचनमा पराजित भए । तर उनी मन्त्रिपरिषद्बाट मनोनीत भएर सांसद बने । २०७० को चुनावमा फेरि पराजित भए । २०७४ र २०७९ मा महोत्तरी ३ बाट निर्वाचित भए ।
यसपटक प्रतिनिधिसभा सदस्य छाडेर राष्ट्रिय सभा सदस्य भएका हुन् ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री पनि प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् ।
२०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । २०७९ को प्रतिनिधिसभा सदस्यको चुनावमा हार बेहोरेकी थिइन् । यसपटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
२०३५ साल जेठ १० गते गुल्मीमा जन्मिएकी झँक्री अनेरास्ववियुको राजनीतिबाट उदाएकी नेतृत्व हुन् ।
यसैगरी, कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभामा रहेर काम गरेका नेता हुन् । २०१२ साल कात्तिक १५ गते जन्मिएका शाही जुम्लाको चन्दननाथ नगरपालिका-५, खलंगा निवासी हुन् ।
बिपीको विचारबाट प्रभावित भएर राजनीतिमा लागेको बताउने शाही ७० वर्ष पुगे ।
२०६४ को पहिलो संविधान सभा चुनावमा आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । शाही पराजित भए । तर, पार्टी छाडेनन् । २०७० को दोस्रो संविधान सभा चुनावमा जुम्लाबाट निर्वाचित भए र नेपालको संविधान २०७२ निर्माणमा भूमिका खेले । २०७९ को चुनावमा प्रदेश सभामा चुनाव लडे, जितेनन् ।
यसपटक उनी राष्ट्रिय सभा सदस्य भएका छन् । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित भएपछि शाहीले संविधान लिक बाहिर गएको र त्यसलाई ट्र्याकमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
निर्विरोध भए सुनिल
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
६६ वर्षीय थापासँग यसअघि नै संघीय सांसद र संघीय मन्त्री भएर काम गरेको अनुभव छ ।
२०७० सालमा धनकुटा क्षेत्र नम्बर-२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसबेला उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चुनाव जितेका हुन् ।
२०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा सुनिल बहादुर थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

प्रतिनिधिसभा सदस्यको पछिल्ला दुई निर्वाचन भने थापाका लागि सुःखद रहेन । धनकुटाबाटै २०७४ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार थिए । एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । त्यसपछि थापाले २०७७ मा राप्रपा परित्याग गरे र कांग्रेसमा गए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । कांग्रेसबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा धनकुटामै उम्मेदवार बने । फेरि एमालेका राजेन्द्रकुमार राईले हराइदिए ।
२०७९ चैतदेखि २०८२ चैतसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारका रूपमा काम गरे । सक्रिय संसदीय राजनीतिमै रहने हुटहुटीले थापालाई राष्ट्रिय सभा सदस्य बनाएको छ । राष्ट्रिय सभामा भने सजिलै सांसद् भए ।
गत पुस २३ गते मनोनयन दर्ताको समय थियो । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन सकेनन् । त्यसपछि थापा निर्विरोध निर्वाचित भए ।
२०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा जन्मिएका थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा रहेर काम गरे ।
शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा दिएर राजनीतिमा सक्रिय भएका हुन् । राजनीतिमा सक्रिय भएपछि हार र जित दुवै अनुभव संगाल्दै अगाडि बढिरहेका छन् ।
मेचे समूदायबाट संसद्मा रोशनी
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्वाचित अर्की सांसद हुन्–रोशनी मेचे । उनी सीमान्तकृत मेचे समुदायकी हुन् ।
मेचे समुदायको विकासका लागि कसरी योगदान दिन सकिन्छ भनेर घोत्लिरहेकी रोशनी आइतबारको निर्वाचनमा विजयी हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भएकी छन् । रोशनीसँग नेपाल कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने प्रतिस्पर्धी थिइन् । न्यौपाने दोस्रो भइन् ।
चुनावी परिणामसँगै अब रोशनी मेचेलाई सीमान्तकृत समुदायको विषयमा के कस्तो संघीय नीति बनाउने हो त्यसको अगुवाई गर्ने ढोका खुला भएको छ ।
झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट मासिरक चार हजार सामाजिक सुरक्षा भत्ता पनि पाउँछन् ।
यो समूदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ । यसअघि २०७४ मा एमालेबाटै मेचे समुदायकी कुमारी मेचे प्रतिनिधिसभा सदस्य थिइन् ।

नवनिर्वाचित रोशनीसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेको अनुभव छ । झापा मेचीनगर १२ की रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी नेतृ हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक गरेकी छन् ।
समाज र कानुन पढ्दै समाज व्यवस्था र कानुनी शासनका केस्रा–केस्रा केलाइरहेकी रोशनीले अब ६ वर्षसम्म संघीय संसद्मा सीमान्तकृत र अल्पसंख्यक समुदायको आवाज उठाउने छिन् ।
मधेशबाट धमेन्द्र, रन्जित र रेखा
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक तीन जना निर्वाचित भएका छन् । ती हुन्– नेपलाी कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा ।
धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा सक्रिय पासवान समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करणविरुद्ध आवाज उठाउँदै आएका नेता हुन् ।
५४ वर्षीय पासवान स्थानीय स्तरमा सरल जीवनशैली, अनुशासित र जनमुखी नेताका रुपमा चिनिन्छन् ।

रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । उनीसँग बिभिन्न गैर सरकारी संस्थामा रहेर काम गरेको अनुभव पनि छ ।
दलित संघको महासचिवसम्म भएर पनि काम गरेका छन् । राष्ट्रिय सभामा रहँदा दलित समुदायको आर्थिक, समाजिक बिकासको लागी काम गर्ने उनको प्रतिबद्धता छ ।
अर्का नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
राजविराज घर भएर उनी विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता हुन् । उनी मधेश प्रदेशबाट अल्पसंख्यक कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रेखा झा निर्वाचित भएकी छन् ।
समावेशी प्रतिनिधित्व, युवाको आवाज
नवनिर्वाचित सांसद् सोम पोर्तेल राष्ट्रिय सभामा युवाहरूको मुद्दा उठाउने बताउँछन् ।
उनी दलित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले दलित समुदायका विषय त उठाउने नै भए । आफूलाई पार्टीले युवाको मुद्दा उठाउन उठाएको पनि उनले सुनाए ।
पोर्तेलका नजरमा पहिले राष्ट्रिय सभालाई ज्येष्ठहरू, अनुभवी र पुराना मान्छेलाई सम्मान गर्ने थलोको रूपमा लिइन्थ्यो ।
उम्मेदवारी दर्ता गरकै दिन उनले भनेका थिए, ‘अब राष्ट्रिय सभामा युवाहरू पनि जानुपर्छ र युवाको भूमिका प्रभावकारी हुनुपर्छ भन्रे हिसाबले पार्टीले मलाई अघि सारेको हो ।’
पार्टीको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गरेका पोर्तेलले गाउँ र जिल्ला हुँदै प्रदेश सदस्य सम्मको जिम्मेवारी सम्हालेर राष्ट्रिय सभामा पुगेका हुन् ।
२०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेका थिए ।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छ्न । दंगाल एमालेका केन्द्रीय सदस्य हुन् ।
डा. दंगाल गोकर्णेश्वर-५ काठमाडौँ निवासी हुन् । अनेरास्ववियुका विभिन्न जिम्मेवारीमा रही काम गरेका उनी एमालेका विभिन्न कमिटीहरूमा क्रियाशील रहँदै आएका नेता हुन् ।
अखिल नेपाल किसान महासंघको अध्यक्ष भएर काम गरे । दक्षिण एसियाली किसान महासंघ, एसियाली किसान मञ्चको नेतृत्व गरे । दंगालका खाद्य सम्प्रभुता, नवउदारवाद र सार्वभौम राज्यका विकल्प, जलवायु परिवर्तन र दिगो विकास, नेपाली किसान आन्दोलन बारे विभिन्न किताबहरू प्रकाशित छन् ।
२०२८ सालमा जन्मिएकी कांग्रेसकी देवकोटा २०४४ सालदेखि राजनीतिमा छिन् । नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिक जीवनको सुरुवात गरेकी उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन् ।
किसानका हकहितका लागि संघर्षरत उनी मौरीपालक किसान महासंघका उपाध्यक्ष पनि हुन् । देशभरका मौरीपालक तथा किसानका समस्या, चुनौती र सम्भावनासँग नजिकबाट परिचित रहेका देवकोटाले राष्ट्रिय सभाको यात्रा तय गरेकी हुन् ।
पढाउँदा पढाउँदै सांसद् भए जगत
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी र सम्झना देवकोटा निर्वाचित भएका छन् ।
जगत त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा २०७३ सालदेखि अध्यक्ष रहेका उनै जगतलाई कांग्रेसले राष्ट्रिय सभा बनाएको हो ।
जगत तनहुँ शुक्लागण्डकी–७ खैरेनीटार निवासी हुन् । कांग्रेस पृष्ठभूमिका भएपनि उनी पार्टीको जिम्मेवारीमा भने थिएनन् ।
एमालेकी देवकोटा तीन वटा चुनावको हारपछि राष्ट्रिय सभा सदस्य बन्न सकेकी छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयरमा उम्मेदवार थिइन् । तर, पराजित भइन् । २०७९ को निर्वाचनमा सोही नगरपालिकामा देवकोटा मेयरको उम्मेदवार भइन् । चुनाव जितिनन् । एमालेले २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा देवकोटालाइ उम्मेदवार बनायो, तर जितिनन् । यसपटक भने देवकोटाको संसद् छिर्ने धोको पुरा भएको छ ।
सम्झना गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । उनी २०४० सालदेखिदेखि कम्युनिस्ट आन्दोलनमा छिन् ।
लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी गुल्मीका र जंगली दाङका पुराना नेता हुन् ।
कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।
दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य थिइन् । पार्टीमा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । यसपछि राष्ट्रिय सभा सदस्य भएकी हुन् ।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन् । खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । भण्डारी माओवादी पृष्ठभूमिबाट आएकी नेता हुन् ।
प्रतिक्रिया 4