News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले आफ्नो साथीलाई सम्बोधन गर्दै नव नेपालको साझा सपना र देशभक्तिको शपथ सम्झिएका छन्।
तिम्रो र मेरो सम्वृद्धि र मुक्तिको एउटै सपना थियो ।
सँगै कोरेका थियौँ नव नेपालको मार्गचित्र ।
एकै पटक शपथ लिएका थियौँ देश भक्तिको ।
सँगै उठाएका थियौँ मुठ्ठीहरू क्रान्तिको ।
तिमी परिवर्तनको झन्डा बोक्दा बोक्दै
शोषण, दमन र अन्यायको खिलाफमा
धावा बोल्दा बोल्दै
साहदत भयौ र अमर शहीद भयौ ।
हाम्रो लक्ष्यमा पुग्छु भन्दा भन्दै ।
तिमीले र मैले देखेका सपनाहरू
पूरा गर्छु भन्दा भन्दै
खै म कहाँ हराएँ
मैले कहाँ बाटो बिराएँ
मैले आफ्नो इमान कहाँ गुमाएँ
मलाई माफ गर साथी
म लोभी, पापी, गुन्डा, कार्यकर्ता या नेता
खै के भएँ के भएँ ।
म हाम्रो गन्तव्यबाट विमुख भएँ ।
तिम्रो वियोगले पीडाले विक्षिप्त
आमाको टिठलाग्दो अनुहार बिर्सिएँ
म सत्ता र सम्पत्तीको
दलदलमा भासिएँ ।
म घोर निद्राबाट ब्यूँझिँदा भ्रष्टाचारको नालीमा डुबेछु
कमिसनको चक्करमा भुलेछु ।
आज म जति नै दुधले नुहाउन खोजे पनि
दुनियाँको नजरमा बदनाम भएको छु
जति नै अत्तर छर्किए पनि
नजिक बस्नेहरू भन्छन्-
म दुङ्दुङ्ती गनाएको छु ।
म चाहेर पनि निस्कन सक्दिन यो भासबाट
म पतन भएको छु गौरवशाली इतिहासबाट
त्यसैले,
मैले तिम्री आमाको आँसु पुछ्न सकिनँ ।
तिम्रा सन्तानको सहारा बन्न सकिनँ ।
मैले नव नेपालको मार्ग खन्न सकिनँ
मलाई माफ गर साथी
म तिम्रो सपना साकार पार्न
असमर्थ भएँ ।
असफल भएँ।।
प्रतिक्रिया 4