+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
37/1 (4.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares
जेनजी आन्दोलन :

ओमानमा जोडिएको प्रेम बानेश्वरमा गोलीले टुट्यो…

नारायण न्यौपाने/रासस नारायण न्यौपाने/रासस
२०८२ मंसिर २३ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकका दिलनारायण तामाङलाई भदौ २३ गते बानेश्वरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भयो।
  • दिलनारायणले दुई छोरालाई पढाइरहेका थिए र पत्नी बुद्धिमायाले थापाथलीस्थित कम्पनीमा सहयोगीको काम गर्थिन्।
  • शहीद घोषित दिलनारायणको परिवारलाई १५ लाख रुपैयाँ र काजक्रिया रकम सरकारले उपलब्ध गराएको छ।

२३ मंसिर, काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।

दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाए ।

‘जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र’, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, ‘त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।’

दिलनारायण डकर्मीको रूपमा मजदुरी गर्थे । छोराहरू निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएका थिए । सानै भएपनि श्रीमतिलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो ।

गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै थिए । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिए । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उनले छोराहरूलाई खाना खुवाएर विद्यालय पुर्‍याए ।

बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र  निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर ‘छोराहरूलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु’, भनिन् ।

छोराहरू स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुगे । ठीक त्यहीबेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उनको कुम हुँदै बाहिरियो । दिलनारायण त्यहीँ ढले ।

एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमान्‌कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उनी आत्तिँदै अस्पताल पुगे । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ । उनले श्रीमान्‌को शव हेर्न सकेनन् ।’त्यसपछि म आफैँ बेहोसझैँ भएछु’, उनले भने, ‘मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।’

मजदुरी गरेपनि दिलनारायण राजनीतिक रूपमा सचेत थिए । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रूपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान गएका थिए ।

बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रूपमा ओमान पुगेका थिए । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।

होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भए । अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।

गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरू कामठाडौं शहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै शहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए ।

आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिए । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने शहीद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।

बुद्धिमाया भक्कानिँदै भन्छिन्, ‘हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।’

अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, ‘देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।’ ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।

शहीद भएकै दिन नयाँ जुत्ता किनेर ल्याएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन । ‘राम्रोसँग पढ, डाक्टर हुनुपर्छ’, भनेर बुवाले भनेको वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।

दिलनारायणलाई सम्झँदै दाजु विद्यासागर भन्छन्, ‘च्यासलमा पछिल्लो समय डकर्मीको काम गथ्र्यो, साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।’

जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा जीवन गुमाएका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । शहीद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम उनले प्राप्त गरेका छन् ।

उक्त रकम मात्र शहीद परिवारका लागि पर्याप्त होइन । शहीदका सपना पूरा गर्दै दिलनारायणजस्तै शहीद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?