२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।
आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।
कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन् । २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए ।
जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको बहालवाला नेतृत्वसँग हामीले बयान लिइसकेका छैनौँ, अब बल्ल थाल्ने हो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसलगत्तै तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ ।’
अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ । तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन् ।
पुगनपुग एक सातामात्रै अवधि बाँकी रहँदा आयोगले बयानको काम सकेको छैन । थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरु बाँकी भएकाले आयोगको समयावधि थप्नुपर्ने निश्चितजस्तै भइसकेको आयोगसम्वद्ध स्रोतले बतायो ।
प्रतिक्रिया 4