+
+
Shares

उम्मेदवार हुन नपाएकी रास्वपा मधेशकी संस्थापक सभापति भन्छिन्- पुरानालाई नयाँ कपडा लगाइदिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेशको संस्थापक सभापति ममता शर्माले उम्मेदवार चयन गर्ने क्रममा नेतृत्वले आफूमाथि अन्याय गरेको बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:२३

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेशको संस्थापक सभापति ममता शर्माले उम्मेदवार चयन गर्ने क्रममा नेतृत्वले आफूमाथि अन्याय गरेको बताएकी छन् ।

समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने क्रममा उनले तेस्रो स्थानको मत प्राप्त गरेकी थिइन् । काठमाडौंका पूर्व मेयर बालेन शाह पक्षको एकतापछि उनलाई मधेसी महिलातर्फ सातौ स्थानमा राखिएको थियो ।

प्रारम्भिक मतदानबाट आएको मतअनुसार सूचीमा नराखिएपछि समानुपातिक तर्फबाट नाम फिर्ता गर्ने निवेदन दिएको शर्माले जानकारी गराइन् ।

बारा–२ को स्थानीय रहेको हुँदा त्यसै क्षेत्रमा प्रत्यक्ष उठ्न चाहेको पार्टी नेतृत्वलाई जानकारी गराएको उनले बताइन् ।

‘समानुपातिक छोडेर प्रत्यक्षमा उठ्छु भन्दा सबै नेताहरु खुसी हुनुभयो । जनकपुरमा बालेन आएको बेला मधेसका सबै उम्मेदवारलाई टिकट दिएर पठाउने भन्नुभयो,’ शर्माले अनलाइनखबरसँग भनिन्,‘सभापतिले मनिषजीलाई जिम्मेवारी दिएको भन्नुभयो । मैले कुरिराखे । अर्को व्यक्तिलाई टिकट पहिले नै दिइएको रहेछ ।’

बारा–२ मा चन्दनकुमार सिंहलाई रास्वपाले उम्मेदवार बनाएको छ । उनी जसपा नेपालबाट रास्वपा आएका हुन् ।

बारा–२ बाट टिकट नपाउने भए मधेसका जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार हुन तयार रहेपनि पार्टीले टिकट नदिएको गुनासो शर्माले गरिन् । अन्य दल भन्दा रास्वपा फरक भएको देखाउन उम्मेदवार चयनबाट पुष्टी गर्नुपर्नेमा मधेसमा केही नेताले मनलाग्दी गरेको शर्माले आरोप लगाइन् ।

उनी भन्छिन्,‘रास्वपाको उद्देश्यमा प्रश्न उठेको छ । ९० प्रतिशत भन्दा पुराना व्यक्तिलाई टिकट दिइएको छ । पुरानो व्यक्तिलाई नयाँ कपडा लगाइदिएर नयाँ हुने त होइन नि ।’

शर्मा हाल महिला विभागको केन्द्रीय सदस्य छिन् । केन्द्रीय राजनीतिमा आउनुपर्ने भन्दै नेताहरुले वचन दिँदै आए पनि व्यवहारमा लागू नभएको गुनासो उनले गरिन् । २०७९ सालमा आफ्नै प्रयासमा ३२ मध्ये २५ क्षेत्रमा उम्मेदवार उठाउन सफल भएको शर्माले अनलाइनखबरसँग बताइन् ।

‘म उम्मदेवार हुन उमेरले पुगेन । सबै क्षेत्रमा पुगेर रास्वपाको प्रचार गरें । उम्मेदवार उठायौं,’ शर्माले भनिन्,‘मधेसमा बाराबाट समानुपातिकमा रास्वपालाई सबैभन्दा बढी मत आयो । मनिष झा र लक्ष्मी तिवारी समानुपातिक सांसद बन्न पाउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?