१६ माघ, सिन्धुपाल्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै सिन्धुपाल्चोक–१ को माहोल तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल तथा मतदाता भेटघाटमा सक्रिय भएका छन् ।
गठबन्धन बिना हुन लागेको यस निर्वाचनमा मतदाताको विशेष चासो देखिन्छ । यो क्षेत्रमा नेकपाबाट माधव सापकोटा, नेकपा एमालेबाट सरेश नेपाल, नेपाली कांग्रेसबाट जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राममणि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् ।
१५ दलका उम्मेदवारसँगै तीन जना स्वतन्त्र उम्मेदवार पनि मैदनमा उत्रिएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट नेकपाका सापकोटाले एमालेका नेपाललाई ३ हजार ३५६ मतान्तरले पराजित गरेका थिए । नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रका प्रभावशाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी दौडबाट बाहिरिएका छन् । बस्नेत गत निर्वाचनमा क्षेत्र परिवर्तन गरी सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए ।
उम्मेदवारबीच कडा रस्साकस्सी
तीन वर्षको अवधिमा सिन्धुपाल्चोक–१ को राजनीतिक समीकरणमा व्यापक परिवर्तन आएको छ । यसपटक कुनै पनि दलबीच गठबन्धन छैन, जसका कारण चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
यो क्षेत्रमा पुराना तथा नयाँ उम्मेदवारबीच रस्साकस्सी चलेको छ । नेकपा उम्मेदवार सापकोटा बिरासत कायम गर्ने लक्ष्यका साथ अघि बढेका छन् भने अन्य उम्मेदवार पनि परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मतदातासमक्ष पेस भइरहेका छन् ।
जनयुद्धको पृष्ठभूमिबाट आएका सापकोटा विद्यार्थी राजनीतिमा तार्किक वक्ताका रूपमा परिचित छन् । ३३ महिना सांसद हुँदा उनले उठाएका सिन्धुपाल्चोकका विषय, तातोपानी नाका खोल्न, जुरे पहिरो प्रभावितको पैसा बाँड्न खेलेको भूमिका, बाढी-पहिरोमा जनतामाझ पुगेर गरेको सहयोग त छँदैछ, संसद्मार्फत उनले निर्माण गरेको राष्ट्रिय छवि उत्तिकै मजबुत छ ।
उनी असन्तुष्ट एमाले कार्यकर्ता र देउवा पक्षीय कांग्रेस मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रयासमा छन् ।
यता, कांग्रेसबाट उम्मेदवार बनेका जंगबहादुर लामा ग्रामीण सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन् । यद्यपि, कांग्रेस भित्रकै आन्तरिक मतभेद उनका लागि चुनौतीका रूपमा देखिएको छ ।
कांग्रेस उम्मेदवार लामा असन्तुष्ट पक्षलाई मिलाउँदै पार्टीको परम्परागत मत जोगाउने योजनामा केन्द्रित छन् ।
उता, एमाले उम्मेदवार सरेश नेपाल यसपटक अघिल्लो हारको बदला लिने तयारीमा छन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेपाल पूर्व प्रदेशसभा सदस्य तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीसमेत भइसकेका नेता हुन् ।
तर, पार्टी भित्र पछिल्ला दिनमा देखिएको असन्तुष्टिले उनको चुनावी यात्रालाई कठिन बनाइरहेको छ । पार्टीमा देखिएको असन्तुष्टि व्यवस्थापन गर्न उनलाई चुनौती देखिएको छ ।
पार्टी सञ्चालनमा संलग्न केही व्यक्तिहरूले जीवनभर बिर्सन नसकिने चोट दिएको आरोप लगाउँदै बाह्रबीसे नगरपालिकाका पूर्वमेयर निम्फुन्जो शेर्पाले निर्वाचनको मुखमै एमाले परित्याग गरेका छन् ।
शेर्पाले पार्टी परित्याग गरेको एक सातासमेत नबित्दै वडा नम्बर घुम्थाङका निर्वाचित वडाध्यक्ष निमा शेर्पाले पनि एमाले बाह्रबीसे नगर सचिव पदबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका छन् ।
एमालेमा पार्टी केन्द्रले सुरवातमा युवा व्यवसायी आङ्दोर्जे शेर्पालाई उम्मेदवारको रूपमा अघि सारेको थियो । तर त्यसको २४ घण्टा नबित्दै जिल्ला पार्टी अध्यक्ष होमनारायण श्रेष्ठलाई टिकट प्रदान गरियो । अन्तिम समयमा सरेश नेपालले उम्मेदवारी दर्ता गराए ।
हाल उनी पार्टी भित्रको पंक्ति सुदृढ बनाउने र नेपाली कांग्रेसतर्फका मत आकर्षित गर्ने रणनीतिमा सक्रिय देखिएका छन् ।
नेकपा एमालेमा लामो समयदेखि सक्रिय रहेका भरत पराजुली अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यस क्षेत्रका उम्मेदवार बनेका छन् । रास्वपा उम्मेदवार पराजुली पेसाले जलविद्युत् व्यवसायी हुन् ।
जिल्लाको उत्तरी भेगमा उनको आफ्नै हाइड्रोपावर कम्पनी सञ्चालनमा छ । एमाले पृष्ठभूमिका पराजुलीको रास्वपामा प्रवेशसँगै एमाले नेता जेपी सिलवालदेखि लिएर पराजुलीकै कारण पहिले एमाले भएका र अहिले रास्वपा गएकाको नामावली लामो बन्दै गएकोले यस क्षेत्रमा रास्वपाको राजनीतिक ग्राफ बढ्दो क्रममा देखिएको छ ।
यद्यपि, विद्युत् कम्पनी निर्माण तथा सञ्चालनका क्रममा स्थानीयको माग पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप उनीमाथि लाग्दै आएको छ । यही कारण यो निर्वाचन परीक्षामा उनले कस्तो जनमत प्राप्त गर्लान् भन्ने विषय चासोको केन्द्र बनेको छ ।
सिन्धुपाल्चोक-१ का मतदाताको जीवनस्तर सुधार गर्ने, स्थानीयलाई उद्यमशील बनाउने तथा विकासलाई स्थानीय हातमा ल्याउने उद्देश्यका साथ आफू उम्मेदवार बनेको पराजुली बताउँछन् ।
पराजुली नेकपा, एमाले र कांग्रेस भित्र असन्तुष्ट समूहसँगै युवा मतदातालाई जोड्ने मुख्य रणनीति अपनाइरहेका छन् ।
सिन्धुपाल्चोक–१ अन्तर्गत त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, बाह्रबीसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नम्बर वडा पर्छन् । यस क्षेत्रमा ८३ मतदानस्थल र १७२ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा कूल २ लाख ७४ हजार ९९८ मतदाता रहेका छन् ।
प्रतिक्रिया 4