+
+
Shares

मृत्युको ४५ दिनपछि इशानको अन्त्येष्टि, घटना अझै रहस्यमै

रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शंकास्पद मृत्युको ४५ दिनमा अन्त्येष्टी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते २०:००

१६ माघ, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शंकास्पद मृत्युको ४५ दिनमा अन्त्येष्टि भएको छ ।

कञ्चन गाउँपालिका–३ धौलागिरिचोक घर भएका इशानको गत २ पुसमा मृत्यु भएको थियो । प्रहरीले गाडीको ठक्करबाट इशानको मृत्यु भएको बताए पनि मृतकका परिवार र स्थानीयले अस्वीकार गर्दै शव बुझ्न र दाह संस्कार गर्न अस्वीकार गर्दै आएका थिए ।

स्थानीय बुद्धदीप बोर्डिङ स्कूलमा कक्षा ११ मा अध्ययनरत इशान तेक्वान्दो खेलाडी र प्रशिक्षकसमेत थिए ।

२ पुसमा स्कूलबाट पढाइ सकेर घर आएपछि जिमहाउस गएका उनी फर्केका थिएनन् ।

अर्को दिन इशानको शव आफ्नै घरबाट डेढ सय मिटर उत्तरमा सडक किनारको नालीमुनि भेटिएको थियो ।

प्रहरीले गाडीको ठक्करबाट २ पुसको साँझ इशानको मृत्यु भएको र ३ गते शव फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारजनलाई सुनाएपछि परिवार र स्थानीयले त्यसलाई अस्वीकार गर्दै योजनावद्ध हत्या भएको दाबी गरेका थिए ।

इशानको परिवारले गाडीको ठक्करबाट मृत्यु भएको भन्ने प्रहरीको भनाइ पत्यारलाग्दो नभएको तर्क गर्दै आएका थिए ।

इशानको शव ढक्कन भएको नालीमुनि खुट्टा पसारेर कोल्टे परेर सुतेको अवस्थामा भेटिनु, गाडीले ठक्कर दिएको भए गाडीको ब्रेक लागेर टायर घिस्रिएको र रगतको कुनै दाग सडकमा हुनुपर्नेमा त्यसो नभएकाले दुर्घटना नभएको परिवारको दावी थियो ।

मृतकका ठूलोबुबा पुष्पराज शर्माले गाडीको ठक्करबाट मृत्यु भएको विश्वास नलाग्दा शव बुझ्न अस्वीकार गरेको तर प्रहरी प्रशासनले घटनाको अनुसन्धान जारी रहेको र पीडितले न्याय पाउने विश्वास दिलाएपछि शव बुझेर अन्त्येष्टि गरिएको बताए ।

घटनाको सत्यतथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन स्थानीयले पटकपटक इलाका प्रहरी कार्यालय रुद्रपुर र सालझन्डी हुँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर धर्नासहित नाराबाजी गरेका थिए ।

प्रहरीले भने  लु २ ख ४९४८ नम्बरको गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?