१७ माघ, काभ्रेपलाञ्चोक । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् ।
शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका हुन् ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयन गर्न उनले निर्देशन दिए ।
अवधारणा अनुसार स्थानीय तहका वडाध्यक्ष एवम् वडास्तरमा रहेका राजनीतिक दलमा आवद्ध पदाधिकारी, व्यक्ति, स्थानीय प्रबुद्ध व्यक्ति एवं आम मतदाताबाट सहयोग लिने उल्लेख छ ।
गृहसचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेसहित काभ्रे आएका गृहमन्त्री अर्यालले वर्तमान सरकारको कोही कसैप्रति झुकाव नभएको भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनुपर्ने बताए ।
छलफलमा सहभागी मन्त्रालयका प्रवक्ता काफ्लेका अनुसार गृहमन्त्री अर्यालले काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा प्रमुखसँगको बैठकमा निर्वाचनको तयारी एवम् व्यवस्थापनका लागि वडा तहका व्यक्तिहरुलाई संलग्न गर्न सके निर्वाचनमा अपनत्व हुने धारणा राखेका थिए । त्यसैले निर्वाचनको बारेमा वडा तहका व्यक्तिसँग बैठक, छलफल गर्न र जानकारी लिन निर्देशन दिएको उनले जानकारी दिए ।
गृहमन्त्री अर्यालले जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा समेत जानकारी लिएका थिए ।
बैठकमा काभ्रेपलालाञ्चोकका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश प्रेमप्रसाद न्यौपानेले निर्वाचन आयोगका कार्यतालिका अनुसारका गतिविधि अघि बढाएको बताए ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला प्रहरी प्रमुख कोमल शाह, प्रमुख सेनानी झलक सुवेदी, सशस्त्र प्रहरी १५ नम्बर गण काभ्रेका प्रमुख माधव रेग्मी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे मन्त्री अर्याललाई जानकारी गराएका थिए ।
प्रतिक्रिया 4