१८ माघ, बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । मतदानस्थलको अवलोकनपछि थप सुरक्षा रणनीति अपनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समिति बागलुङले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको मुल्याङ्कनका आधारमा मतदानस्थललाई तीन भागमा बाँढिएको छ ।
१०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य सूचीमा राखिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
बागलुङमा आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा संवेदनशिलता, विकटता, मुख्य सडकको पहुँचको पूर्वाधार र यस अघिका घटना र प्रतिस्प्रर्धालाई विश्लेषण गरी अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइने गरेको संयोजक आचार्यको भनाइ छ ।
दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई आधार मानेर सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै निर्वाचन प्रहरी पनि सुरक्षाका लागि खटिनेछन् ।
यस पटकको निर्वाचनमा एक मतदानस्थल थप तथा र एक मतदान केन्द्र घटाइएको छ । जसअनुसार १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम छ ।
यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् ।
प्रतिक्रिया 4