+
+
Shares

ग्यास ‘पर्याप्त छ’ भन्ने आयल निगम दाबीबीच भौँतारिँदैछन् उपभोक्ता

उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर एउटा पसलबाट अर्को पसल भौँतारिरहेका भेटिन्छन् । डिलरहरूले कम्पनीबाटै ग्यास नआएको जवाफ फर्काइरहँदा उपभोक्ता सास्ती खेप्न बाध्य छन् ।  

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ माघ १८ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा १० दिनदेखि खाना पकाउने एलपी ग्यास अभाव छ र उपभोक्ताहरू सिलिन्डर बोकेर पसलबाट पसल भौँतारिरहेका छन्।
  • ग्यास विक्रेता महासंघले जाडो महिनामा खपत बढ्दा पनि उद्योगीहरूले पर्याप्त ग्यास लोड नगर्दा बजारमा अभाव देखिएको बताएको छ।
  • नेपाल आयल निगमले ग्यास आपूर्ति समस्या समाधान भइसकेको र अहिले नियमित रूपमा ग्यास आपूर्ति भइरहेको दाबी गरेको छ।

१८ माघ, काठमाडौं । पछिल्लो १० दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास संकट चुलिँदै गएको छ ।

उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर एउटा पसलबाट अर्को पसल भौँतारिरहेका भेटिन्छन् । डिलरहरूले कम्पनीबाटै ग्यास नआएको जवाफ फर्काइरहँदा उपभोक्ता सास्ती खेप्न बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालयका अधिकांश विद्यार्थी डेरा गरी बस्ने काठमाडौं कीर्तिपुरमा ग्यास अभाव चर्किएको छ । कतै कुनै पसल वा डिलरमा ग्यास उपलब्ध छ भने पनि कालोबजारी भइरहेको त्यहाँका विद्यार्थीहरूले गुनासो गरेका छन् ।

डेरा भाडामा बस्ने विद्यार्थीहरूले पछिल्लो १० दिनदेखि ग्यास नपाएपछि धेरै नै पीडा भएको त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सुरेश बडालले बताए ।

‘९/१० दिन भइसक्यो कीर्तिपुरतिर ग्यास पाउन छाडेको,’ उनले गुनासो गरे, ‘सरकारले ग्यास जति पनि उपलब्ध छ भनिरहेको छ, तर यता कीर्तिपुरमा भने व्यापारीहरूले ग्यास दिन सकेका छैनन्, भएकाले पनि लुकाएर कालोबजारी गरिरहेका छन् ।’

उपभोक्ताको भान्सासँग प्रत्यक्ष जोडिएको ग्यास कालोबजारी भइरहँदा पनि अनुगमन गर्ने सरकारी निकाय मूकदर्शक देखिएको उनको आरोप छ ।

काठमाडौं कलंकी बस्ने ज्ञानहरि बस्नेत ३ दिनदेखि खाना पकाउने ग्यास खोजीमा छन् । उनले सधैं ग्यास लैजाने पसलमा सोध्दा ग्यास विक्रेताले अहिले डिलरले नै ग्यास नपठाएको उत्तर दिए ।

त्यसपछि बस्नेत आफ्नो वरपरका सबै ग्यास बेच्ने पसल चहारे, तर सबैले ‘अहिले बजारमा ग्यास अभाव छ’ भन्ने उत्तर फर्काए ।

‘कलंकीमा आफ्नो वरपर भएका सबै पसलमा सोध्दा ग्यास छैन भन्ने जवाफ मात्रै पाएँ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि बुझ्दै बुझ्दै टेकुसम्म पुग्दा पनि कुनै पसलमा ग्यास पाउन सकिएन ।’

यो समस्या बस्नेतको मात्र होइन, बालाजु रानीवन बस्ने रमेश थापाको पनि दुरुस्तै छ । अरू बेला एउटा फोन कलका भरमा घरमै आइपुग्ने ग्यास अहिले सिलिन्डर नै बोकेर पसल पुग्दा पनि पाउन मुस्किल छ ।

‘पहिले त फोन गर्दा घरमै आउँथ्यो, अहिले पसलमै सिलिन्डर पुर्‍याउँदा पनि रित्तै हात फर्कनुपरेको छ,’ उनले सुनाए ।

उनी ‘नेपाल ग्यास’ का उपभोक्ता हुन् । ग्यास नपाएपछि अहिले डिलरले उनको नाम टिपेर एउटा सानो कागजको चिर्कटो थमाइदिएको छ ।

‘डिलरमा ग्यास छैन, खाली सिलिन्डर थुपारिएको छ,’ थापा भन्छन्, ‘मलाई एउटा कागज दिएका छन् जसको नम्बर २७ छ र ग्यास आएपछि फोन गर्छु भनेका छन्, तर त्यो फोन कहिले आउने हो टुंगो छैन ।’

डिलरले नै डिपोबाट ग्यास नआएकाले उपभोक्तालाई खाली हात फर्काउनु परेको काठमाडौं कलंकीका ग्यास विक्रेता सुमन गौतम बताउँछन्  ।

‘मैले बेच्ने नेपाल ग्यास हो, अभाव भएको भन्दै डिलरले नै कम ग्यास पठाएको छ,’ उनले भने, ‘मागेजति ग्यास डिलरले दिन नसक्दा ग्राहकलाई रित्तो हात फर्काउनुपर्‍यो, नाम टिपाएर राखेको छ, ग्यास आउनासाथ सबैलाई बोलाएर दिने हो ।’

बजारमा देखिएको ग्यास अभावको सबैभन्दा ठूलो मारमा एउटा मात्र सिलिन्डर हुने विद्यार्थी र न्यून आय भएका परिवार परेका छन् । दुई वा त्यसभन्दा बढी सिलिन्डर हुनेलाई खासै समस्या नभए पनि एउटैको भरमा बस्नेहरूको त भान्सा नै बन्द हुने स्थिति देखिएको उपभोक्ताको गुनासो छ ।

ग्यास अभाव छ : ग्यास विक्रेता महासंघ

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यास खपत सामान्य समयको तुलनामा २०-२५ प्रतिशतसम्म बढ्छ । नेपालमा प्रतिमहिना करिब ४७-४८ हजार टन ग्यास आवश्यक पर्नेमा चालु महिना आयात ४२-४३ हजार टनमा सीमित हुने अनुमान छ ।

ग्यास विक्रेता महासंघ नेपालका अनुसार जाडो मौसम सुरु भएसँगै बजारमा एलपी ग्यास खपत बढ्ने गर्छ । तर, माग बढेसँगै बजारमा ग्यास अभाव देखिएको संघको भनाइ छ ।

महासंघ वरिष्ठ उपाध्यक्ष विष्णु दुलालले जाडो महिनामा स्वाभाविक रूपमा ग्यास खपत बढी हुने र उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास ‘लोड’ नगर्दा बजारमा केही समस्या देखिएको बताए ।

उनका अनुसार नेपाल आयल निगमका महानिर्देशक र एलपी ग्यास प्रमुखसँग यस विषयमा छलफल भइसकेको छ ।

बजारमा ग्यास अभाव हुनुमा मुख्यतया मौसमी माग, उद्योगीहरूको प्राविधिक समस्या र उपभोक्ताको व्यवहार जिम्मेवार रहेको महासंघको भनाइ छ ।

‘जाडो महिनामा अन्य समयको तुलनामा ग्यास खपत बढी हुने र कतिपय उद्योगीले टाढाका डिपोहरूबाट ग्यास उठाउन नखोज्ने तथा नजिकैबाट मात्र ल्याउन खोज्दा आपूर्तिमा सन्तुलन मिल्न सकेको छैन,’ उनी भन्छन्, ‘यसबाहेक अभाव हुने हल्ला चल्नासाथ उपभोक्ताले आफूसँग भएका खाली सिलिन्डरहरू पनि भरेर राख्ने (होल्ड गर्ने) प्रवृत्तिले बजारमा कृत्रिम अभाव जस्तो देखियो ।’

महासंघले आयल निगम र उद्योगीहरूसँग निरन्तर संवाद गरिरहेको र केही दिनभित्रै त्रिपक्षीय बैठक बसेर आपूर्ति व्यवस्था सुदृढ बनाइने उनले बताए ।

यस्तै कतिपय ग्यास उद्योगमा मर्मत सम्भारको काम भइरहेकाले पनि आपूर्तिमा केही ढिलाइ भएको उनले बताए । अबको एक सातादेखि १० दिनभित्र बजार पूर्णरूपमा सहज हुने वरिष्ठ उपाध्यक्ष दुलालको दाबी छ ।

४-५ दिनमै ग्यास अभाव हट्छ : एलपी ग्यास उद्योग संघ

ग्यासको अभाव ४-५ दिनभित्रै पूर्ण हट्छ भनेर नेपाल एलपी ग्यास उद्योग संघले दाबी गरेको छ । संघ अध्यक्ष दिवान चन्दले १५ दिनदेखि आपूर्तिमा समस्या देखिएको र केही अवरोध अब हटिसकेकाले ४-५ दिनभित्रै बजार सामान्य अवस्थामा फर्किने बताए ।

अध्यक्ष चन्दले भारत बरौनी रिफाइनरीमा आएको प्राविधिक समस्या र मर्मत सम्भारका कारण आपूर्तिमा केही ढिलाइ भएको बताए ।

‘१५ दिन पहिलादेखि अलिकति समस्या भएको हो,’ उनले भने, ‘रिफाइनरीहरू अलिकति मेन्टिनेन्समा गए, बरौनीबाट आउने १० हजार टनमा अलिकति डिफेक्ट भएर हो, त्यो बनिसक्यो, अहिले ग्यास आउन थालिसक्यो ।’

आपूर्ति व्यवस्थापनका लागि एक ठाउँका गाडी अर्को ठाउँ पठाउँदा पनि केही समय लागेको उनको भनाइ छ । पछिल्लो केही दिनयता ग्यास आउने क्रम निकै बढिसकेको उनले बताए ।

‘नेपाल ग्यास अहिले आउन थालिसक्यो, अस्ति एकैदिन १० गाडी अर्थात १२ हजार सिलिन्डर आइसके, फेरि अर्को दिन पनि त्यत्तिकै आए,’ अध्यक्ष चन्दले भने, ‘अहिलेसम्म ३०-३५ हजार सिलिन्डर बराबर ग्यास आइसक्यो र आउने क्रम जारी छ ।’

चन्दले बजारमा ग्यास अभाव हुने डरका कारण उपभोक्ताले सिलिन्डर भरेर राख्ने प्रवृत्तिले गर्दा पनि केही समस्या देखिएको बताए ।

‘फ्याक्ट्रीमा अवस्था सामान्य भइसक्यो, तर जति भए पनि सर्टेज (अभाव) भयो भन्दै उपभोक्ताले भरेर राख्दै छन्, त्यसको असर देखिएको हो,’ उनले थपे ।

चन्दका अनुसार ग्यास आयातमा देखिएको समस्या करिब एक महिनादेखि रहे पनि बजारमा भने पछिल्लो करिब दुई सातादेखि मात्र प्रत्यक्ष प्रभाव देखिन थालेको हो । ग्यास अभाव छ भनेर आत्तिनु नपर्ने र ३-४ दिनपछि आपूर्ति व्यवस्था पूर्णरूपमा सहज हुने उनको दाबी छ ।

ग्यास समस्या समाधान भइसक्यो : आयल निगम

नेपाल आयल निगमले बजारमा एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान भइसकेको र अहिले आपूर्ति नियमित भइरहेको दाबी गरेको छ ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार केही निश्चित ग्यास उद्योगको ढुवानीमा समस्या आउँदा बजारमा ग्यास अभाव महसुस भएको हो ।

‘नेपाल, साइबाबा र एभरेस्ट ग्यास ढुवानीमा समस्या भएको थियो, त्यो अहिले समाधान भइसकेको छ र आउने क्रम जारी छ,’ उनले भने ।

बजारमा सबैभन्दा बढी उपभोक्ता भएको नेपाल ग्यासको सिलिन्डर रोटेसनमा केही समस्या आउँदा यसको असर बढी देखिएको प्रवक्ता ठाकुरले बताए ।

‘सबैभन्दा बढी उपभोक्ता नेपाल ग्यासकै हुन्,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसको सिलिन्डरमा रोटेसन भएपछि अलिअलि अभाव देखिइहाल्छ ।’

जाडो मौसम (पुस-माघ) मा नेपाल र भारत दुवैतिर ग्यास खपत बढ्ने र त्यसै समयमा ढुवानीकर्ताहरूले उचित ढंगले ढुवानी नगर्दा समस्या उत्पन्न भएको निगमको भनाइ छ ।

यद्यपि, निगमले उद्योगहरूले मागे जति ‘पीडीओ’ (प्रडक्ट डेलिभरी अर्डर) उपलब्ध गराइरहेको स्पष्ट पारेको छ । समस्या समाधानका लागि निगमले ग्यास उद्योगीहरूसँग छलफल गरिसकेको र अहिले मागभन्दा बढी ग्यास लोड भइरहेको प्रवक्ता ठाकुरको दाबी छ ।

‘हाम्रो खपत यो जाडोको बेला ७५ देखि ८० बुलेट हो, तर अहिले झन्डै ९० देखि १ सय बुलेट लोड भइरहेको छ,’ उनले थपे ।

ग्यास आपूर्ति नियमित भइसकेका कारण उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तर, एउटामात्र सिलिन्डर हुने उपभोक्तालाई भने रोटेसनका कारण केही समस्या पर्न सक्ने उनले बताए ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?