+
+
Shares

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १२:०२

१९ माघ, काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए ।  उनी पर्यटन तथा संस्कृति मन्त्री समेत बनेका थिए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए ।

२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए ।

एमाले पृष्ठभूमि 

अचेल युवा संघ भनेर चिनिने एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) मा केपी ओलीपछि केशव स्थापित अध्यक्ष भएका थिए । जितेन्द्रनारायण देव स्थापितको टिममा उपाध्यक्ष थिए ।

एमाले पंक्तिमा बौद्धिक युवाको रुपमा परिचय बनाएका देवलाई पार्टीले नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो ।

एक सदस्यीय उक्त समितिले २०५३ सालमा ३४ हजारलाई नागरिकता बाँडेको थियो, जसबारे अदालतमा अर्को वर्ष मुद्दा परेको थियो ।

नागरिकता वितरण नीतिका बारेमा एमालेले अनुदार अडान राखेको भन्दै देव त्यस बेला असन्तुष्ट बनेका थिए ।

०५४ मा नेपालगञ्जमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनबाट देव केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । पार्टीसँग कतिपय असन्तोषका बाबजुद उनी एमालेमै थिए । संघीयता र पहिचानको मागसँगै क्षेत्रीय राजनीति उत्कर्षमा पुग्दै गर्दा ०६३ सालमा देवले एमाले छाडे ।

सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा आवद्ध भए । विजय गच्छदारले पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा उनले पनि साथ दिए र उक्त पार्टीको महासचिव बने ।

संविधान जारी भएपछि कतिपय मधेश केन्द्रित दलहरु आपसमा एकीकृत भए भने कुनै ठूला पार्टीसँग मिले । फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग एकता गर्‍यो । यसका अध्यक्ष गच्छदारसहित अधिकांश नेता विगतमा कांग्रेसमा रहेकाले कांग्रेससँग एकता सहज भयो । जितेन्द्र देव यसरी एकताबाट स्वतः कांग्रेस भए ।

कांग्रेसले उनलाई राष्ट्रिय सभामा सांसद बनायो । अरु केही जिम्मेवारी दियो । तर देवको राजनीतिक रुझान वामपन्थतिरै थियो ।

१७ असार २०८१ मा एमाले प्रवेश गर्दै केन्द्रीय कार्यालय च्यासलमा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरेका थिए । पार्टी छाडेर अन्यत्र गएकामा आत्मालोचना पनि गरेका थिए ।

त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएको भन्दै धन्यवाद दिएका उनै जितेन्द्र देवले आज विज्ञप्ति जारी गरी व्यक्तिवाद र स्वेच्छाचारी पार्टी बनाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?