१९ माघ, तेह्रथुम । तेह्रथुममा यसपटक नेकपा (एमाले) र नेपाली कांग्रेस आमनेसामने छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका तर संगठन र राजनीतिक प्रभावका हिसाबले बलिया नेताहरूलाई दुवै दलले उम्मेदवार बनाएपछि चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
नेकपा (एमाले) ले केन्द्रीय सचिव भानुभक्त ढकाल लाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका थिए । उनी कांग्रेसका डा. सुनिल शर्मासँग पराजित बन्न पुगे ।
मोरङमा २२,७३६ मतको फराकिलो अन्तरले पराजय बेहोरेपछि ढकाल यसपटक आफ्नै गृह जिल्ला तेह्रथुम फर्किएका छन् । त्यहीँबाट राजनीतिक पुनरागमनको प्रयासमा ढकाल देखिन्छन् । पार्टी संगठनकै बलमा चुनाव जित्ने दाउ उनको छ ।
प्रतिस्पर्धी नेपाली कांग्रेसले सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । सुब्बा यसपटक गठबन्धनबिनै एकल प्रतिस्पर्धामा उत्रिएका हुन् ।
०७९ मा यहाँबाट नेपाली कांग्रेसकी सीता गुरुङ विजयी भएकी थिइन् ।
नेकपा (एमाले) का विजय सुब्बालाई १,०७९ मतान्तरले पराजित गर्दै विजयी बनेकी गुरुङले १९,७०७ मत ल्याउँदा सुब्बाले १८,६४१ मत ल्याएका थिए । यही नतिजाले पनि यहाँको चुनावलाई कांग्रेस–एमालेबीचकै प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।
यद्यपि अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच गठबन्धन थियो । यसपटक भने एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीले रणध्वोज कन्दङवालाई उम्मेदवार बनाएको छ ।
जिल्लामा खासै नदेखिएका कन्दङ्वालाई पार्टीले कम्युनिस्ट आन्दोलनका पूराना नेताको रुपमा अघि सारेको हो ।
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इ. सुरेन्द्र कार्की उम्मेदवार छन् । रास्वपा वरिष्ठ नेता बालेन शाहको पाथिभरा मन्दिर दर्शनले पनि नयाँ दलप्रतिको आकर्षण बढेको बुझाइ एकाथरीको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीले पनि जिल्लामा आफ्ना गतिविधि बाक्लो बनाउँदै आएको छ । पहिचानवादी मोर्चाको नेतृत्व गर्दै आएका सुविन्द्र लिम्बुलाई सो पार्टीले उम्मेदवार बनाएको छ ।
राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीबाट साझा उम्मेदवारको रुपमा २६ वर्षीय उषालक्ष्मी तुम्बाहामफेलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शंकरमान लिम्बु, नेपाल जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमभक्त लिम्बु (कुरुम्बाङ), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) पुष्पलाल समूहबाट टंकप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मनकुमार लिम्बु तथा मंगोल नेसनल अर्गनाइजेसनबाट गंगाबहादुर चोङबाङ पनि चुनावी मैदानमा छन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा २०४८ सालदेखि लामो समय नेकपा (एमाले) ले वर्चश्व कायम गर्दै आएको थियो । २०६४ सालमा भने नेपाली कांग्रेसका तुलसी सुब्बाले जितका थिए । त्यसपछि २०७० र २०७४ मा एमालेले पुन: लगातार जित हात पारेको थियो । २०७९ को निर्वाचनमा भने प्रतिनिधिसभा कांग्रेसले जितेको थियो ।
जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदानस्थलमा ९३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सहभागी हुने मतदातामध्ये ३५,५१० महिला र ३७,६२७ पुरुष गरी कूल ७३,१३७ मतदाता रहेका छन् ।
प्रतिक्रिया 4