+
+
Shares
प्रचण्डसँग अन्तर्वार्ता :

‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन’

प्रचण्डले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते २१:४८

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग यो अन्तर्वार्ता उनको चुनावी तयारी, एमाले अध्यक्ष केपी ओलीसँग भइरहेका पछिल्ला कुराकानी र सहकार्यको सम्भावनामा केन्द्रित छ । उनले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता–

चुनावी तयारी कस्तो छ ?

मजाले लागिराखेको छ । जिल्ला जिल्ला जाने क्रम छ । जेनजी आन्दोलनपछि केन्द्रीय समितिबाट हामीले या त हामी धेरै पार्टीसँग एकता गर्छौं वा हामीले आफ्नै विशेष महाधिवेशन गर्छौं भन्ने निर्णय गरिएको थियो। तर यसबीचमा एकता अधिवेशन भयो ।

धेरै पार्टीहरु साना ठूला हामी एकीकृत भएका छौं । नेपाली कम्युनिस्ट पार्टी भएको छ । म त्यसको संयोजक भएको छु । कमरेड माधवकुमार नेपाल त्यसको सहसंयोजक हुनुभएको छ र अब हामी देशभरि एकता सन्देश सभा भनेर पनि हिड्यौं जनताको भावना मनस्थितिलाई हामीले नजिकबाट नियाल्ने कोसिस गर्यौं ।

धनगढीदेखि हामी जनकपुर, विराटनगर हुँदै सुर्खेत अनि लमही, काठमाडौंसम्म आउँदा जनताको आशा भरोसा विस्तारै नेपाली कम्युनिष्ट पार्टी प्रति यो एकताप्रति र हामीले गरेको आत्मसमीक्षाप्रति देश अहिले जस्तो अवस्थामा छ त्यसबारे हाम्रो धारणा र अब हामी कसरी नेपाललाई अगाडि बढाउन चाहन्छौं भन्ने बारे रुचि बढेको आशा बढेको भरोसा बढेको हामीले देखेका छौं ।

हामीले एकता सम्मेलन गर्दा हाम्रो दस्तावेजमा हाम्रा पनि केही त्रुटिहरू भए । त्यसको हिस्सा हामीले लिनुपर्ने छ । जनता र युवाहरुको भावना र आवश्यकतालाई बुझेर हामीले जे जति कामहरु तदारुकताका साथ गर्नु पर्‍थ्यो गरिएन भन्ने समीक्षा पनि हामीले गरेका छौं ।

र, हामीले फेरि पटक पटक समीकरण बनाउने बदल्ने गर्दा पनि जनतामा अलिकति कन्फ्युजन भयो भन्ने पनि हामीले समीक्षा गरेका छौं । सायद तपाईंहरूले पनि नोट गर्नुभयो होला यो पटक हामी कसैसँग पनि समीकरण गरेका छैनौं अहिलेको चुनावमा । हामी एक्लै सायद पहिलो पार्टी हो जो १६४ ठाउँमा हामीले उम्मेदवारी दिएका छौं । खाली एउटा मात्रै ठाउँ बाग्लुङ १ र २ मा हामीले राष्ट्रिय जनमोर्चासँग तालमेल गर्यौं ।

एउटा सिटमा बाँकी सबैमा हामी उठेका छौं । यो पनि हाम्रो आत्मसमीक्षा विगतको समीक्षाकै परिणाम हो । त्यसकारण हामीले त्यसको साथै पार्टी संगठनलाई जनतासँग जोड्ने कुरा अनि हामीले जसलाई प्रतिनिधित्व गर्थ्यौं नि । उत्पीड़ित वर्ग जाति क्षेत्र लिङ्ग समुदाय अनि तमाम सहिदहरुका परिवार अनि बेपत्ता योद्धाका परिवारसँगको हाम्रो संवाद सहकार्य अलि कम भएको हुनाले पनि चाहिँ कमजोरी भयो ।

हामीले कृषिको क्षेत्रमा या उद्योगको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, उर्जाको क्षेत्रमा हामीले केही गर्न पक्कै खोज्यौं तर त्यो पर्याप्त भएन । त्यसकारण हामीले त्यसको पनि रिभ्यू गर्नुपर्छ र अगाडिको लागि हामीले मार्गचित्र कोर्नु पर्छ भन्ने पनि गर्यौं । यसरी समग्रमा हामीले सबै पक्षमा समीक्षा गरेर नै नेपाली कम्युनिष्ट पार्टी बनाएको हो ।

कांग्रेस एमाले रास्वपाले प्रधानमन्त्री उम्मेदवार तोके । नेकपाले तोकेन किन ?

हामीले अहिले कसैलाई पनि प्रधानमन्त्री या राष्ट्रपति या केही भन्नु उचित हुँदैन भनेर सचेत रुपले नै त्यो त भोलि जनताले कस्तो अभिमत दिन्छ ? त्यसको फैसला गर्ने त अन्तत: जनमतै हो ।

तर हामीले पहिले नै तोक्ने कुरा उचित हुँदैन भन्ने ठानेर हामीले गरेनौं । अरुले गरेका छन् । मैले यताकता भन्ने गरेको छु, जसले आफूलाई प्रधानमन्त्री भनेका छन् तिनी चाहिँ हुँदैनन् नभनेको चाहिँ हुन्छन् भन्ने गर्‍या छु मैले। जसले भनेका छैनन् ति चाहिँ बरु हुन सक्छन्। भनेकाहरु चाहिँ हुने देख्दिन । यो अलि अलि व्यङ्ग्य पनि हो। अलि अलि प्रतिकात्मक पनि हो।

जनताले अहिले प्रधानमन्त्री को हुने भन्ने खोजिराखेको छैन। सिस्टमलाई नै कसरी व्यवस्थित गर्ने भन्ने कुरा खोजिराखेको छ। त्यसकारण जनताको भावना र मनोविज्ञानलाई हेर्दा अहिले म प्रधानमन्त्री त प्रधानमन्त्री भनेर अगाडि जाने बेला होइन।

जनताका मुद्दाहरु, मागहरु सम्बोधन गर्ने गरी पार्टीहरुले आफूलाई जनतासँग जोड्ने बेला हो भन्ने मलाई लाग्छ।

कुनै बेला नयाँ पार्टी भनेर तपाईंहरुलाई चिनिन्थ्यो । अहिले जनताले नयाँ खोज्दा तपाईंहरु पर्नुभएन है ?

यो अलि धेरै गम्भीर प्रश्न जस्तो लाग्छ । ६४ सालमा तत्कालीन नेकपा माओवादी जसको म अध्यक्ष थिएँ त्यो पार्टीलाई नयाँ मान्यो नेपाली जनताले । गणतन्त्र संघीयता समावेशी समानुपातिक जस्ता मुद्दा थिए । तिनलाई संविधान संशोधन गरेर अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । त्यसकारण आज पनि विचारले राजनीतिक मुद्दाले जनताका आवश्यकता र भावना मर्मलाई सम्बोधन गर्ने हिसाबले हामी नै नयाँ हो।

म जति पनि तर्क गर्न तयार छु। हामी नै नयाँ हो । गणतन्त्र नै नयाँ हो । संघीयता नै नयाँ हो । अनि समानुपातिक समावेशी प्रतिनिधित्व नै नयाँ हो ।

नेतृत्वमा लामो समय एउटै व्यक्ति बस्दिनुहुन्छ। पुस्तान्तरणको बाटोलाई विधिसम्मत ढंगले सहज बनाउनुहुन्न । अब पार्टीको हिसाबले तपाईंलाई २०४४ साल देखि निरन्तर नेतृत्वमा रहेको भनेर भन्ने गरिन्छ। यी त राजाभन्दा लामो शासन गर्न लागे भनेर एकथरीले कटाक्ष पनि गर्छन् हैन ?

त्यसो भन्नेहरुले मुद्दा लिएर आउनुपर्‍यो । आइडियोलोजी ल्याउनु पर्‍यो । हामी जनतालाई यसरी उन्मुक्ति दिन्छौं भनेर विचार लिएर आउन पर्‍यो ।

हाम्रा यी मुद्दाहरु हुन् । यी पुराना पार्टी र पुराना नेताहरुले यी मुद्दा द्वारा जनताको सेवा गर्ने, जनतालाई मुक्त गर्ने, जनभावना अनुसार काम गर्न सकेनन्। हामी गर्छौं भनेर मुद्दा सहित आउन पर्‍यो।

पपुलिजमको विश्वव्यापी हावाहुरी छ । उदार पुँजीवाद भनेर जसलाई भनिन्छ नवउदारवाद भनेर जेलाई भनिन्छ, त्यो विश्वभरिका धन कुबेरहरु ठूला-ठूला चैं खर्बपति अर्बपति पुँजीपतिहरुको मान्यता अनुसार तथाकथित लोकप्रियतावाद नेपालमा मात्रै होइन बिना विचारधारा बिना सिद्धान्त बिना मान्यता सोसियल मिडियामा स्टन्टै गरेको भरमा जनताको दिमाग खराब गर्ने जो प्रवृत्ति छ । त्यो कुनै देशभक्त नेपालीको प्रवृत्ति हुन सक्दैन त्यो कुनै राष्ट्रप्रति माया गर्ने जनताप्रति माया गर्ने मानिसहरुको प्रवृत्ति हुन सक्दैन। तपाईं हेर्नुभयो भने नेपाल मात्रै होइन।

दक्षिण एसियामा हिजो श्रीलंकामा के भयो ? अस्ति बंगलादेशमा के भयो ? अस्ति नेपालमा के भयो ? भन्ने हेर्नुभयो भने या मलेसियामा के भयो, अरु देशमा के भयो, फिलिपिन्समा के भयो भनेर हेर्नुभयो भने यो नवउदारवादी सिस्टम भित्रबाट ठूला ठूला पुँजीपतिहरुले विश्वभरि आफ्नो शासन सत्ता सुदृढ गर्ने उद्देश्यका साथ त्यस्ता भुइँफुट्टाहरुलाई अगाडि ल्याउने र तिनीहरु द्वारा आफ्नो स्वार्थ पूर्ति गर्ने एउटा प्रवृत्ति जो चलेको छ ।

मेरो दृष्टिमा अहिले त जसलाई नयाँ भन्ने गरिएको छ । स्टन्ट दिने गरिएको छ । ती नयाँ होइन सबभन्दा पुराना हुन् । तपाईलाई सबभन्दा पुराना हुन् भनेर म पुष्टि गर्न सक्छु । किनकी तिनीहरु विश्व साम्राज्यवादका रणनीतिका अंग बनेर देखा परेका छन् । मैले नेपालमा मात्रै भन्या छैन, विश्वभरि यो ट्रेन्ड देखा पर्दै छ । नेपाली राजनीतिमा नयाँ भनेको अहिले पनि हामी गणतन्त्रवादी नै हौं । संघीयतावादी, पहिचानवादी समावेशी समानुपातिक मान्यता वाला नै नयाँ हुन् ।

तपाईंले भर्खरै नौ उदारवादले सिर्जना गरेको विश्व साम्राज्यवादले सिर्जना गरेका भुइँफुट्टाहरु भनेर कसलाई भन्न खोज्या हो ?

अहिले मैले नाम लिएर त्यो भन्या छैन । मैले त के देख्छु इतिहासमा जेलस्की युक्रेनमा कसरी जन्म्यो भन्ने हेरेको हो । मैले तपाईंले खाली नेपालको रास्वपा यस्ता भन्ने यो त सानो कुरा भयो । मेरो तर्कको अगाडि यसको केहि अर्थ छैन । विश्वव्यापी रुपमा जेलेन्स्की तयार पार्ने बंगलादेशमा के भयो ? कस्तो मान्छेलाई ल्याएर के गरियो कसले गर्‍यो भन्ने हेर्नु भयो भने विश्वभरि नै साम्राज्यवाद संकटमा छ ।

विश्व पुँजीवाद संकटमा छ भन्ने लाग्छ मलाई । त्यो संकटमा परेको पुँजीवादले यस्ता मान्छे खोजिराख्या छ पपुलिस्ट अथवा यस्तो विचार द्वारा उत्प्रेरित गरेर आफ्नो दलाल तयार पार्न खोज्दै छ । जसले उसको इशारामा जे पनि गर्न तयार होस्, जलाउन पनि तयार होस्, मार्न पनि तयार होस्, मर्न पनि तयार होस् भन्ने टाइपको।

तपाईं हेर्नुभयो भने इजरायल र चाहिँ प्यालेस्टाइनको के भयो? हाम्रो अगाडि के देखियो? अस्ति भेनेजुएलामा के भयो ? के देखियो? अहिले इरान तिर के हुँदै छ, के देखिँदै छ भनेर हेर्नुभयो भने नेपाल पनि त्यो प्रवृतिबाट जाँदैछ ।

त्यो प्रवृत्ति जो विश्वव्यापी रुपमा विश्व पुँजीवादले साम्राज्यवादले फैलाउन खोजेको छ त्यसको बाछिट्टा त्यो हावाहुरी नेपालमा पनि आउन खोजेको त होइन ? प्रत्येक देशभक्त नेपालीले जसलाई राष्ट्रको माया छ जसलाई दशकौंदेखि गरेको संघर्ष विद्रोह आन्दोलन त्याग बलिदानबाट स्थापित भएका मूल्य मान्यता छन् रातारात रातारात विध्वंस गरेर चाहिँ सिध्याउन खोज्ने प्रवृत्ति कहीँ त्यस्तो त होइन भनेर पनि आम नेपाली जनताले निधार खुम्च्याएर राम्रैसँग सोच्नु पर्ने बेला आएको छ ।

रास्वपाको कुरा गर्दा, रवि लामिछाने मेरो क्याबिनेटमा दुई चोटी गृहमन्त्री हुनुहुन्थ्यो। मैले उहाँलाई उहाँको स्पिरिट अनुसार राम्रो होस्, देशमा भनेको हो भने ठिक छ भन्ने वाला हुँ। तपाईं बालेनको र हर्क साम्पाङको कुरा गर्नुहुन्छ भने लोकतन्त्रका नै हुन यिनी उपज लोकतन्त्र कै फूलबारीका फूल हुन्।

तपाईंले त गणतन्त्रको बगेको त्यसकारण मेरो कसै प्रति व्यक्तिगत त्यसकारण मेरो व्यक्तिगत रिसइबी न बालेनसँग न रवि सँग न हर्कसँग कसैसँग नि छैन। मैले त यसलाई हामीले संघर्ष र बलिदान गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको लोकतन्त्रको फूलबारीमा फुलेका मान्छे भनेर सम्झेको हो मैले। तपाईंले अब उहाँहरु बिस्तारै त्यो बाट अर्को ठाउँमा जानुहुन्छ भने त्यो उहाँहरुको प्रोब्लम हो मेरो होइन। मेरो समस्या होइन यो।

मैले त धेरै माथिबाट सोचेर चाहिँ डिल गर्न खोजेको थिएँ । तर मैले अहिले जे तपाईंको प्रश्नमा उत्तर दिन खोजिराख्या छु विश्वव्यापी रुपमा एउटा प्रवृत्ति कमजोर राष्ट्र माथि हैकम जमाउने र अनेक चल्खेल जालझेल गरेर जेलेन्स्की हरु तयार पार्ने जो प्रवृत्ति छ । लोकप्रियतावादको नाममा इतिहासलाई बदनाम गर्ने त्याग तपस्या र निष्ठा को राजनीतिलाई निस्तेज पार्ने केहि नि होइन त्यो भन्ने पुराना पार्टी नेताहरु जसले इतिहासमा धेरै संघर्ष गरेर अहिले यी नयाँ भन्ने साथीहरुलाई जन्माउने त तिनै हुन् । अनि तिनलाई नाम गरेर मैले भन्ने गर्छु आफ्नै आमाबाउलाई रुवाउने छोराछोरीले देश बनाउँछन् समाज बनाउँछन् भन्ने सोचियो भने त्यो पनि दुर्भाग्यपूर्ण हुन्छ ।

त्यसकारण म ती नयाँ भन्ने साथीहरुलाई पनि अभिभावकलाई अपमान गर्ने काम नगर्नुस् भन्छु । नेपाल अहिले जहाँ आइपुगेको छ, राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले या परिवर्तनको दृष्टिकोणले त्यसमा योगदान गर्नेहरुलाई अपमानित चाहिँ नगर्नुस् भन्ने मात्रै मेरो आग्रह छ ।

अभिभावकले छोड्दै छोड्नु भएन भन्नुहुन्छ नि त, पुस्तान्तरण नै गर्दिनु हुँदैन भनेर आलोचना भइरहेको छ ।

अभिभावकले छोडेन भनेर लगेर खाल्टामा हाल्ने त अभिभावकलाई? त्यो त झन ठिक हुँदैन नि त।

जेलेन्स्की कलाकार थिए । टेलिभिजनलाई प्रयोग गरेर राजनीतिमा आएका थिए। नेपालमा यस्तो जेलेन्स्की को छ ?

मैले अहिले कसैलाई यहिँ छ जेलेन्स्की भन्न खोजेको होइन। मेरो कुरालाई फेरि त्यसरी पनि नलियोस्। तर नेपालमा पनि जेलेन्स्कीको खोजी भइराख्या छ।

विश्व पुँजीवादले म भन्छु विश्व साम्राज्यवादले कहिँ न कहिँ जेलेन्स्की खोज्छ नि । एउटै यही मात्रै जेलेन्स्की हुन्छ भन्ने हुँदैन गर्दै जाँदा हुनसक्छ त्यो कलाकार भित्रैबाट परोस् हुनसक्छ त्यो राजनीतिक चाहिँ परिवार भित्रबाटै परोस् तर जेलेन्स्की भनेको आखिरमा गएर तपाईंको चाहिँ विश्व पुँजीवादको दलाल भनेर नै चिनिन्छ।

तपाईंहरू (प्रचण्ड, केपी ओली वा देउवा) ‘पुटिन’ जस्तो बन्न खोजेकाले यहाँ ‘जेलेन्स्की’हरूको उदय भएको त होइन?

विल्कुल होइन, त्यस्तो कुरा केबाट पुष्टि हुन्छ र ? अझ मेरै हकमा भन्ने हो भने त, ‘जेन्जी’ आन्दोलन र युवाहरूका मुद्दा ठिक छन् भन्ने पहिलो नेता र पार्टी म नै हुँ । उनीहरूले उठाएका सुशासन र भ्रष्टाचार विरोधी मुद्दाहरूमा मैले सरकारमा हुँदा पनि अभियान चलाएको हो र प्रतिपक्षमा हुँदा पनि लडिरहेकै छु ।

युवाहरूको माग सही छ र सरकारले उनीहरूमाथि दमन नगरोस् भनेर वक्तव्य दिने नेपालको पहिलो नेता पनि म नै हुँ। सरकारले दुई-तिहाइको अहंकार नगरोस् र युवाहरूको आवाजलाई बल प्रयोग गरेर नदबाओस् भन्ने मान्छेलाई पनि ‘ती शासक जस्तै उस्तै हो’ भन्ने भाष्य कसले बनायो ?

मलाई लाग्दैन कि सुशासन चाहने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भन्ने ती साना भाइबहिनी (जेनजी युवा) हरूले यो भाष्य बनाएका हुन् । ‘प्रतिपक्षमा भएको पनि उस्तै, भ्रष्टाचार विरुद्ध लड्ने पनि उही र भ्रष्टाचार गर्ने पनि उही’ भन्ने भ्रम कतैबाट नियोजित रूपमा फैलाइएको छ ।

तपाईंले यसलाई ठूलो षड्यन्त्र भन्न खोज्नुभएको हो ?

प्रश्न गहिरो छ । हिजोका सामन्त राजा-महाराजा, राणा परिवार र पञ्चहरूका कोही ‘नेपो-बेबी’ वा ‘नेपो-किड्स’ नहुने, तर क्रान्ति र परिवर्तनका निम्ति लडेका नेताका सन्तानलाई मात्रै निसाना बनाएर प्रचार कसले र किन गर्‍यो ? प्रतिपक्षमा बसेर भ्रष्टाचार विरुद्ध लडिरहेकै मान्छेको घर र कार्यालय जलाउनुपर्ने वातावरण कसले बनायो ?

यो सब किन भइरहेको छ भने— संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्ने नेताहरूलाई आक्रमणको सिकार बनाउने र राजा-महाराजाका आसेपासेलाई चाहिँ केही नगर्ने खेल भइरहेको छ। यसबाट प्रस्ट हुँदैन र कि नेपालमा निकै ठूलो षड्यन्त्र र अर्कै केही खेल भइरहेको छ?

त्यसो भए नवयुवाहरूको त्यो आन्दोलन ‘हाइज्याक’ भएको हो भन्न खोज्नुभएको ?

ती किशोर-किशोरीहरूको मन पवित्र थियो र छ। त्यसैले मैले भन्ने गरेको छु— तपाईंहरूको अभिभावक हामी हौँ। तपाईंहरूको माग र चाहनाका लागि लड्दै आएका र ती मुद्दा सही छन् भन्ने पनि हामी नै हौँ।

तर २३ गते जसरी त्यहाँ नरसंहार भयो, हामी त प्रतिपक्षमा थियौँ। हामीले नै सबैभन्दा पहिला त्यसको विरोध गर्यौँ र सरकारले अविलम्ब राजीनामा दिनुपर्छ भन्यौँ । मारिएका ती युवाहरूलाई सहिद घोषणा गर्नुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ भनेर वक्तव्य जारी गर्ने पनि हामी नै हौँ। यति हुँदाहुँदै पनि हामीलाई पनि एउटै घानमा हाल्ने काम कसले गर्यो? त्यो नेपाली मानसिकता वा राजनीतिक चेतना हुनै सक्दैन, त्यो अर्कै केही शक्ति हो।

तपाईंले २०८१ भदौ १२ गते संसद्‌मै उभिएर ‘नेपाल बंगलादेश वा श्रीलंका जस्तो बन्न सक्छ’ भनेर संकेत गर्नुभएको थियो। त्यसको केही समयमै भदौमा त्यस्तै प्रकृतिका घटनाहरू देखिए। तपाईंले त नेपालमा यस्तो विद्रोह हुन सक्छ भनेर पहिले नै देख्नुभएको रहेछ, हैन? अहिले चाहिँ तपाईं बंगलादेश वा श्रीलंकामा जे भयो, त्यसको विरुद्धमा हो ?

पहिलो कुरा, त्यसबेला मैले सरकारलाई सजग र सचेत गराएको मात्र हो। संसद्को रोस्टमबाट बोल्दा पनि मैले भनेको थिएँ- ‘तपाईंहरूको मत धेरै छ, संख्या धेरै छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने नठान्नुहोस्।’ म प्रतिपक्षमा पुगेपछि ‘नेपाल बंगलादेश हुनुपर्छ’ भनेको चाहिँ बिल्कुलै होइन। यो कुरा तपाईंको लोकप्रिय सञ्चारमाध्यमबाट प्रस्ट पारिदिनुहोला। मैले त्यस्तो सोचेको पनि छैन र भनेको पनि छैन ।

मैले त सरकार जुन गलत बाटोमा हिँड्दै थियो, त्यसप्रति मात्र सचेत गराएको हुँ। दुईवटा पार्टी मिलेर बहुमत छ, हामी दुई-तिहाइ नजिक छौँ भन्ने भ्रममा नबस्नुहोस्। बंगलादेशमा शेख हसिनाको पार्टीको पनि दुई-तिहाइ थियो, तर के भयो? त्यो प्रवृत्तिलाई हेरेर सचेत हुनुहोस्, नेपाललाई बंगलादेश हुनबाट बचाउनुपर्छ भन्ने मेरो भाव र ‘स्पिरिट’ हो।

तपाईंले उत्पीडित वर्गको कुरा गर्नुभयो, तर के तपाईं लगायत ठूला दलका नेताहरू यही वर्गबाट काटिँदै गएकाले जनताले नयाँ नेता खोजेका हुन् ?

यो कुरा अरू पार्टीहरूको हकमा होला, तर मेरो नेतृत्वको पार्टीको हकमा यो बिल्कुल गलत हो। हामीले सरकारबाट बाहिर आइसकेपछि सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आत्मसमीक्षासहित जनतासँग जोडिने अभियान चलायौँ। तराई-मधेसमा डेढ महिना लगाएर झापादेखि कञ्चनपुरसम्म गरिब, मजदुर, किसान, व्यापारी र बुद्धिजीवीका कुरा सुन्यौँ। सहिद र बेपत्ता परिवारका घरमा पुग्यौँ, उनीहरूले जे खान्छन् त्यही खायौँ र जहाँ सुत्छन् त्यहीँ सुत्यौँ।

त्यस्तै, मध्यपहाडी लोकमार्गको यात्रामा बैतडीदेखि पोखरा र लमजुङदेखि गोरखासम्म पुग्दा हाम्रो पार्टीको पक्षमा एउटा नयाँ लहर, भरोसा र आशा देखिएकै थियो। मलाई त के शंका छ भने- संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी र यसको नेताले आत्मसमीक्षासहित जनतासँग जोडिन थालेपछि पुँजीपति, दलाल र तिनका मालिकहरू आत्तिए। त्यसपछि एउटा नयाँ नाटक मञ्चन गरियो।

नाटक भन्नाले, तपाईंले २४ गतेको विध्वंसलाई भन्न खोज्नुभएको हो ?

हो, मलाई त गम्भीर शंका छ। जसले सिंहदरबार, सर्वोच्च अदालत, र संसद भवन जलायो, देशभरका प्रहरी चौकी जलायो, हतियार लुट्यो र पार्टी कार्यालयहरू जलायो- त्यो विध्वंस कतै षड्यन्त्र त थिएन? म फेरि एकचोटि जनताका लागि समर्पित भएर अगाडि बढ्छु भन्दा तराई-मधेस र पहाडमा जुन उभार देखिएको थियो, त्यसबाट अतालिएकाहरूले गरेको षड्यन्त्र त होइन यो? यो शंका म नेपाली जनताको मनमा दर्ज गर्न चाहन्छु।

म फेरि पनि भन्छु- २३ गतेसम्मका युवाहरूको पवित्र मनलाई म सम्मान गर्छु, त्यहाँ जो सहिद भए उनीहरूलाई सलाम गर्छु। तर २४ गते जे भयो, त्यो सलाम गर्न लायक काम होइन। त्यो त दुत्कार्न लायक काम हो। त्यो नेपाललाई विध्वंस गर्ने र राष्ट्रको स्वाधीनता एवं आत्मनिर्णयको अधिकारलाई सिध्याउने षड्यन्त्रको परिणाम हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको विध्वंसको विषयलाई जसरी उठाइरहनुभएको छ, तपाईंका कतिपय तर्कहरू पनि उहाँसँगै मिल्न खोजेका देखिन्छन्। के यो बीचमा चुनावलाई लिएर तपाईंहरूबीच कुनै राजनीतिक समझदारीका लागि छलफल चलिरहेको हो ?

होइन, तपाईंले भनेजस्तो कुरा मिलेर यसो भएको होइन। २४ गतेको विध्वंसको पहिलो दिनदेखि नै ‘यो गलत हो र आन्दोलन हाइज्याक भयो’ भन्नेमा म प्रस्ट थिएँ। स्वयं ‘जेन्जी’ युवाहरूले नै २४ गते नै आफ्नो आन्दोलनमा घुसपैठ भयो भनेका थिए। १०-११ गतेपछि त वास्तविक युवाहरूले ‘यो आन्दोलन अर्कैले लगे, अब घर फर्कौँ’ भनेको तपाईं-हामीले सुनेकै हौँ। त्यसैले मैले त यो कुरा त्यति बेलैदेखि भन्दै आएको छु। अहिले तपाईंले लगेर जोसँग जोड्न खोज्नुभयो, त्यतिबेला उहाँसँग हाम्रो कुरा मिलेकै थिएन।

तर, एउटा कुरा के हो भने-संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अनि विध्वंस गर्ने प्रवृत्तिलाई परास्त गर्न जो-कोहीसँग पनि छलफल हुन सक्छ। यसमा हामी अहिले पनि खुला छौँ ।

केपी ओलीसँग चुनावलाई लिएर सहकार्य हुने कुनै ठाउँ छ त ?

म तपाईंलाई एकदम स्पष्ट भन्छु-मेरो कुरा रास्वपासँग पनि भइरहेको छ, कांग्रेसका नेताहरूसँग पनि भइरहेको छ। हिजो शेरबहादुर देउवाजीसँग भयो, आज गगन थापासँग पनि भइरहेकै छ । केपी ओलीसँग कुरा गर्दैमा जातै जाने भन्ने त होइन। कुरा सबैसँग भइराखेको छ र हुन्छ।

तर, यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौँ। मैले अघि नै भनेँ-हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौँ। १६५ मध्ये किन १६४ भन्नुभयो भने, बागलुङमा नेकपा (मशाल) को खुल्ला संगठन राष्ट्रिय जनमोर्चासँग हाम्रो तालमेल भएको छ। त्यहाँ एक नम्बर क्षेत्र उहाँहरूलाई दियौँ, दुई नम्बर हामीले लियौँ। योबाहेक अन्यत्र कतै तालमेल भएको छैन। सबैसँग कुरा गर्नु मेरो विशेषता नै हो, म सहज ढंगले सबैसँग संवाद गर्छु।

जनमोर्चालाई बागलुङमा छाडेजस्तै केपी ओलीलाई झापामा छाड्ने वा कांग्रेसलाई सर्लाहीमा सघाउने जस्तो खालको सहकार्य हुन सक्छ कि सक्दैन ?

यो असम्भव कुरा चाहिँ होइन, तर अहिलेसम्म त्यस्तो कुरा भएको पनि छैन। म एकदम क्लियर भन्छु-राजनीतिमा असम्भव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो भइसकेको छैन। केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर छलफल भइरहेकै छ।

यो बीचमा भेट पनि भएको छ ?

भएको छ। तपाईंलाई किन ढाँट्ने र? शेरबहादुरजीसँग पनि भेट भएको छ, केपीजीसँग पनि भएको छ। दुवैतर्फ संवाद छ। रवि लामिछानेसँग पनि भएको छ। बालेनका बुवा बितेका बेला म उहाँको घरमै गएर कुरा गरेको छु। त्यसैले मलाई कसैसँग छलफल गर्न अप्ठ्यारो छैन। राष्ट्र अप्ठ्यारोमा भएको बेला यो परिवर्तनको मुख्य वाहक हुनुको नाताले मैले जिम्मेवारी सम्झेर धेरैसँग संवाद गरेको छु।

रुकुम पूर्वको प्रसंगमा कुरा गर्दा-मैले केपीजीसँग कुरा गरेँ। त्यसपछि उहाँले हत्तपत्त पूर्वी रुकुममा जनार्दन (शर्मा) द्वारा समर्थित र मेरा विरुद्ध खडा भएका एक युवालाई समर्थन गरिदिनुभयो।

केपी ओलीजीले रुकुम पश्चिममा पनि (तपाईंविरुद्ध) अरूसँग तालमेल गर्नुभयो। उहाँको सोच्ने तरिका कस्तो रहेछ भन्ने यसले देखाउँदैन र ?

देखाउँछ नि। मैले उहाँलाई भनेँ पनि- ‘यस्तो पनि गर्ने हो? एकातिर देश अप्ठ्यारोमा छ भन्ने, अर्कोतिर प्रचण्डलाई नै हराउन यत्रो हतारो गर्ने?’ जुन प्रचण्डले देश कसरी एकताबद्ध गर्ने र राष्ट्रको स्वाधीनता कसरी रक्षा गर्ने भनेर सोचिरहेको छ, उसैलाई सिध्याउन लाग्ने ? मेरो कुरा सुनेपछि बल्ल उहाँ त्यो सहमतिबाट एक स्टेप पछाडि हटेर, पूर्वी रुकुममा अरूलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै उम्मेदवार कायम गर्नुभयो। तर, त्यो पनि प्रचण्डलाई समर्थन गरेको चाहिँ होइन।

केपी ओलीले तपाईंलाई भन्नुभयो कि भएन- ‘प्रचण्डजी, म यत्रो संकटका विरुद्ध लडिरहेको छु, तपाईंले चाहिँ मेरो विरुद्ध झापामा रञ्जित तामाङलाई उठाउने?’

रञ्जितलाई उठाउने त स्वाभाविक कुरा हो। पार्टीले उम्मेदवार उठाउने कुरालाई मैले गल्ती भनेको होइन। मेरो आलोचना त के हो भने- उहाँले पूर्वी रुकुममा मेरा विरुद्ध किन उम्मेदवार उठाउनुभयो भन्ने मात्र होइन, मेरा विरुद्ध उठाइएको अर्को पात्रलाई समर्थन गर्न आफ्नो उम्मेदवार किन पछि हटाउनुभयो भन्ने हो। यो कुरा तपाईंले बुझ्नुपर्छ।

मान्छेको स्वभावलाई प्रतिशतमा नाप्न त मिल्दैन, तर आजको दिनमा तपाईं केपी ओलीलाई १०० मा कति प्रतिशत विश्वास गर्नुहुन्छ?

राजनीति सम्भावनाको खेल हो भनेर मैले धेरै पटक संसद्को रोस्टमबाटै बोलेको छु। राजनीतिमा वास्तवमा कतिबेला के हुन्छ भन्ने कुरा पूर्वनिर्धारित गरेर हिँड्न सकिँदैन। परिस्थिति र आवश्यकता अनुसार धेरै हेरफेरहरू भइरहन्छन्। त्यसैले ‘हुँदै हुँदैन’ त म भन्दिनँ, तर अहिले उहाँलाई प्रतिशत तोकेर विश्वास गर्ने बेला होइन। मैले धेरै पहिलेदेखि ‘स्वर्ग र नर्क’का कुरा गरेकै छु। अहिलेको मुख्य कुरा के हो भने, विश्व पुँजीवादले नेपालमाथि विभिन्न रूपले चिथोर्न खोजिरहेको छ।

केपी ओलीले तपाईंको घरमै आएर ‘कमरेड हामी मिलौँ, नत्र नेपालमा वामपन्थी सखाप हुन्छन् र हामी पश्चिम बंगालको नियति भोग्छौँ’ भनेको कुरा साँचो हो?

हो नि। एकदिन मात्र भनेको भए त हुन्थ्यो, चार-पाँच महिना लगातार भनेपछि म त सोझो मान्छे, पग्लिएँ।

यसपालि विश्व साम्राज्यवादले खडा गरेका चुनौतीबारे केपी ओलीलाई पक्कै जानकारी होला। उहाँले तपाईंलाई यसबारे केही भन्नुभएको छ?

उहाँले कुरा त त्यस्तै गर्नुहुन्छ, तर मैले एउटै उदाहरणबाट त्यसको खण्डन गरिसकेँ। यदि उहाँ साच्चै गम्भीर हुनुहुन्थ्यो भने रुकुममा मेरो नेतृत्वको पार्टीविरुद्ध अर्को पक्षसँग तालमेल गर्नुहुने थिएन। यही एउटै कुराबाट तपाईं बुझ्नुस्, मलाई अब त्यतातिर धेरै नलाग्नुस्।

केपी ओलीसँग पछिल्लो भेट कहिले भएको थियो?

कहिले फोनमा कुरा हुन्छ, कहिले कतै भेट हुन्छ । तर अहिले ठ्याक्कै यही दिन भेट भयो भनेर भन्नुपर्ने गरी केही भएको छैन ।

अहिले तपाईंले २२-२३ वटा घटकहरूलाई जोड्नुभयो, ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउनुभयो। तर यो पार्टी अहिले ठूलो हुँदै हुँदैन। यो नेकपा बढ्दै बढेन नि? के भएको हो?

बढिराख्या छ। त्यो तपाईंहरूलाई लागेको मात्रै हो। तपाईंहरूलाई पनि बेलाबेलामा अलिअलि ‘पपुलिजम’को हावाले छुन्छ, त्यसो भएर हो। हाम्रो पार्टी त बढेको बढेकै छ। हामीले अहिले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्छ भनेका छौँ। निर्वाचन होस्, हेर्नुहोला हामी एक नम्बर पार्टी हुन्छौँ। यसपालि तपाईंहरूलाई अनौठो लाग्नेछ, एक नम्बर हुने पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ नै हो। मलाई त्यस्तो लाग्छ र मैले यो कुरा भनेको पनि छु। अब हेरौँ ।

एमालेसँग मिलेर फेरि एक नम्बर बन्ने सम्भावना कति छ ?

होइन, होइन, होइन। अहिले न एमालेसँग, न कांग्रेससँग- नो समीकरण । क्लियर । तपाईं फेरि यो विषयमा जनतालाई केही पनि कन्फ्युजन नपार्दिनुहोला। न कांग्रेससँग, न एमालेसँग- हाम्रो कुनै समीकरण हुँदैन। हामी एक्लै जान्छौँ। ‘नेपाली कम्युनिस्ट पार्टी’ नै भएर जान्छौँ, १६४ ठाउँमा लड्छौँ। र, मलाई विश्वास छ, हामी यसपालि फेरि एकचोटि राम्रो नतिजाका साथ एक नम्बर पार्टीको सम्भावना हाम्रो नै छ ।

तपाईंलाई आफैँसँग अचम्म लागिरहेको होला- २०७४ सालमा, २०७९ मा पनि गठबन्धन गरेको हो। तर यो पल्ट केही गठबन्धन छैन। यो पल्ट गगनसँग गठबन्धनका लागि कुरा गर्नुपर्ने अवस्था पनि बनेन। केपी शर्मा ओलीसँग पनि कुरा गर्नुपर्ने अवस्था रहेन। नयाँ परिस्थिति सिर्जना भयो है ?

मलाई त अहिले बडो आनन्द आइरहेको छ। बल्ल हामी सक्कली एजेन्डावाला-जसले संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति नीतिगत लडाइँ लड्यो, संविधानसभाको निम्ति त्यत्रो बलिदान गरेको, जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने पार्टीहरू एकताबद्ध भएर आफ्नै खुट्टामा उभिएर जाँदै छौँ। म बडो प्रफुल्ल छु। खुसीको कुरा छ ।

पार्टीभित्रका हिजोका बहुमूल्य ‘हिरा’लाई मिल्काएर कताकताबाट ‘कोइला’हरू जम्मा गरेर एकता गरेजस्तो भएको त छैन नि?

विल्कुल भएको छैन। मान्छेहरूले त्यस्तो भन्ने गर्छन्, तर त्यो त इतिहास र घटनाक्रमले पुष्टि गरिसक्यो नि! को हिरा हुन्, को किरा हुन् र को के हुन् भन्ने कुरा देखिइसक्यो। यदि उनीहरू साँच्चै हिरा थिए भने त जनताको नजरमा एकदम राम्रो भएर स्थापित हुनुपर्ने थियो, तर के भयो?

त्यसो पनि नभनौं । बाबुराम भट्टराईले यत्रो त्याग गरिदिइराख्नुभएको छ ?

बाबुरामजीको बारेमा अहिले म धेरै बोल्न चाहन्न। म यति मात्र भन्छु-अस्ति मेरो भेट भएको थियो, कुराकानी भयो। उहाँले ‘मिल्छ भने हामी फेरि पनि मिलेर जाऔँ’ भन्नुभएको थियो। मैले अहिले ढिलो भयो भनेँ ।

तर, मैले ग्राउण्डमा साथीहरूले के सोचेका छन् हेर्छु भनेको छु । ग्राउण्डमा बुझ्दा ‘अब बाबुरामजीलाई जोड्न सकिँदैन’ भन्ने कुरा आएपछि मैले उहाँलाई फोन गरेर ‘अहिले सम्भव छैन बाबुरामजी’ भनेँ। त्यसपछि उहाँले ‘त्यसो भए म नै ढोका खोलिदिन्छु, म छोडिदिन्छु’ भन्नुभयो।

उहाँ त्याग गर्न बाध्य हुनुभएको हो र ?

अब बाध्य हुनुभयो कि के हुनुभयो, त्यो अर्कै विषय हो। तर उहाँले मलाई ‘मैले फेरि हाम्रा बीचमा सहकार्य र संवादको ढोका खोलिदिएँ’ भन्नुभयो, मैले ‘धन्यवाद’ भनेँ। पछिल्लो कुरा यही हो।

अनि, अहिले एउटा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ भन्ने पनि बनेको छ। त्योसँग तपाईंहरूको सहकार्यको ढोका कतै खुला छ कि छैन?

के को हुनु ! त्यो त हाम्रै विरुद्ध गतिविधि गरेर बनाइएको हो। त्यसको बारेमा म धेरै भन्न चाहन्न, धेरै नसोध्नु न !

धेरै सोध्दिनँ, एउटै प्रश्न- त्यो पार्टी के उद्देश्यले खोलिएको हो त?

त्यसको एउटै मात्र उद्देश्य ‘प्रचण्डलाई कसरी सिध्याउने’ भन्ने प्रतिक्रियावादी डिजाइनलाई ‘फुलफिल’ गर्नु हो भन्ने मेरो विश्लेषण छ। तर मेरो विश्लेषण सबैले मान्नैपर्छ भन्ने छैन, भोलि परिणामले नै देखाउँछ।

अहिलेसम्म तपाईंहरूको घोषणापत्र आएको छैन । यसपालीको नारा के छ? तपाईंहरूसँग’तारा’ मात्रै छ यसपाली ?

हामीसँग नारा पनि छ, तारा पनि छ। घोषणापत्र आज टुङ्गिँदै छ। सम्भवतः भोलि बेलुकासम्म हामी त्यसलाई सार्वजनिक गरिसक्छौँ। हाम्रो प्रतिबद्धता पत्रमा धेरै कुरा आउँछन्। हामीले अब समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने भन्ने कुरा ल्याउँछौँ। कृषिमा आधुनिकता, ऊर्जा क्षेत्रमा क्रान्ति, पर्यटन विकासका निम्ति स्थानीय स्तरबाटै पूर्वाधार निर्माण, र भौतिक पूर्वाधारको विकासमा तीव्रता दिने कुराहरू त्यसमा छन्।

अन्तर्राष्ट्रिय सम्बन्धहरू कसरी राम्रो बनाउने भन्ने कुरा आउँछ र अन्तिममा मूल कुरो- उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित हुन्छौँ। सुशासन, उत्पादन र रोजगारी नै मुख्य कुरा हुन्। भ्रष्टाचारविरुद्धको अभियान हाम्रो अभियान हो। नेपाली युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउने र विदेशमा गएकालाई पनि नेपाल फर्काउने उद्देश्यका साथ आउँछ ।

कुरा त राम्रा आउन लागेछन्, तर ल्याउन अलि ढिलो भयो भन्ने लाग्दैन?

छैन, ढिलो भएको छैन। हामीले आखिरमा एकता सन्देश सभाकै बेला जनतालाई भनिसकेका छौँ। हाम्रो एकता राष्ट्रिय सम्मेलनमा तयार पारेको दस्तावेजमा पनि यी कुराहरू आएका छन्। हामीले भन्न त बाँकी राखेका छैनौँ, तर चुनावी घोषणापत्रको रूपमा यो तुरुन्तै आउँदै छ।

गगन थापा कांग्रेसको सभापति बनेर आएपछि तपाईंको कुराकानी भएको छ ?

हो, भएको छ, फोनमा । उहाँ सभापति हुनेबित्तिकै सर्लाहीतिर जानुभयो । मैले फोन गरेर बधाई दिएको थिएँ। उहाँले त्यहाँको स्थितिबारे बताउनुभयो। ‘फर्केर आएपछि हामी एकचोटि भेट्नुपर्छ’ भन्ने कुरा भएको थियो, म पर्खेर बसिरहेको छु।

कांग्रेसले विशेष महाधिवेशन गरेर पार्टीभित्रको अन्योल चिर्दै ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बाटो सहज गराउँछौँ’ भनेर एउटा निर्णय लियो, यसलाई कसरी हेर्नुभएको छ?

अब यो नेपाली कांग्रेसभित्रको आन्तरिक मामिला हो। त्यो कसरी भयो भन्ने बारेमा म धेरै जान चाहन्नँ। अन्ततः उहाँहरूले विशेष महाधिवेशन गर्ने कुरा सर्वसम्मतले नै टुङ्ग्याउनुभएको थियो, पहिला त । पुसको अन्त्यतिर गर्ने सबैको सहमति थियो, पछि फेरि अलि भिन्न रूपले भयो।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दियो र त्यसले निर्वाचित गरेको केन्द्रीय समिति र सभापतिलाई पनि मान्यता दियो। तर, अहिले त्यो विषयलाई लिएर कांग्रेसकै एउटा पक्ष अदालत र निर्वाचन आयोगमा पनि गएको देखिएको छ। त्यसकारण यो विषय अझै ‘क्लियर’ भएजस्तो लाग्दैन। म गगनजीसँग पनि कुराकानी गर्न चाहन्छु।

यो राष्ट्रको निम्ति, परिवर्तनको निम्ति र जनताको आवश्यकता अनुसार देशलाई राजनीतिक स्थायित्व र विकासतिर लानका लागि शेरबहादुर देउवाजी र अरूसँग पनि कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण मैले अहिले यो वा त्यो पक्ष भनेर किट्ने स्थिति छैन र मेरो दृष्टिकोणमा अहिले त्यसो गर्नु उचित पनि छैन। म सबैसँग समदुरीमा कुरा गरिरहेको छु।

तर, कांग्रेसमा के भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तपाईंको लागि ?

अझै स्पष्ट भइसकेको छैन । मैले बुझ्न बाँकी नै छ। त्यसैले गगनजी र शेरबहादुरजीसँग बसेर अलि लामो कुरा गर्न चाहेको छु। वास्तविक कुरा के हो भन्नेबारे अहिले नै ‘यस’ वा ‘नो’ मा उत्तर दिन सक्ने स्थिति छैन।

यो बीचमा देउवासँग त भेट भएको छ नि, हैन?

देउवाजीसँग बेलाबेलामा भेट भइरहन्छ। कहिले उहाँकोमा गएर भेट हुन्छ, कहिले राष्ट्रपति कार्यालयमा, त कहिले प्रधानमन्त्रीकहाँ-भेटघाट त भइराखेकै छ।

तपाईंलाई छक्क लाग्दैन ? तपाईं शान्ति प्रक्रियामा आउँदै गर्दा नेविसंघको महामन्त्री भएर हिँडिरहेको केटो (गगन थापा) अहिले नेपालको सबैभन्दा पुरानो पार्टीको सभापति भइदियो । के अब ‘हाम्रो पनि बेला आएछ, बाटो खाली गरेर युवाहरूलाई ठाउँ छोड्नुपर्ने भएछ’ भन्ने लागेको छ कि छैन?

होइन, त्यो त सबै पार्टीहरूको आफ्नो विकासक्रम र आन्तरिक ‘डाइनामिक्स’ हुन्छ। यो नेपाली कांग्रेसको आन्तरिक कुरा हो। गगन थापाजी कोही नयाँ ‘जेनजी’ चाहिँ होइन। उहाँ ५० वर्ष वरिपरिको हुनुहुन्छ। उहाँ दशकौँदेखि नेपाली कांग्रेसको आन्दोलनमा लागेको नेता हो। त्यसैले ‘जेनजी’ आयो भनेजसरी बुझ्नु र सोच्नुहुँदैन। उहाँहरू आफ्नो आन्तरिक कारणले नेतृत्वमा आउनुभयो, तर त्यही कुरा हामीले पनि सिक्नुपर्छ भन्ने छैन।

तर, युवाहरूको भावनालाई सम्बोधन गर्ने पहिलो पार्टी त हामी नै भयौँ नि! यो कुरा पनि नोट गर्नुहोला। परिवर्तन चाहने युवाहरूको भावना कदर गर्नुपर्छ भनेर अघि बढ्ने पार्टी हामी हौँ।

रवि लामिछाने तपाईंको पुरानो जिल्ला चितवनबाट लड्ने उम्मेदवार पनि हुन्। उहाँसँग के कुरा भइरहेको छ ?

रविसँग के कुरा भइरहेको छ भन्ने तपाईंहरूलाई थाहा नै छ। रविविरुद्ध अलि बढी राजनीतिक प्रतिशोध लियो भन्ने कुरा मैले हिजो पार्लियामेन्टको रोस्टमबाटै बोलेको छु र बाहिर जनताका बीचमा पनि भनेको थिएँ। यो कुरा तपाईंहरूले पक्कै रेकर्ड गरिराख्नुभएकै होला। उनी जेलमा हुँदा मैले भेट्न गएर ‘के छ, कसो छ, सहज-असहज के छ?’ भनेर संवाद गरेको थिएँ। त्यो कुरा मैले मिडियाका अगाडि पनि भनेको थिएँ ।

मेरो क्याबिनेटको दुई-दुई पटक गृहमन्त्री भएको नाताले पनि उनीसँग संवाद गरेको हो। अर्को कुरा, जतिबेला हामी सुशासनको पक्षमा अगाडि बढ्दै थियौँ र हामीलाई सरकारबाट हटाउने प्रपञ्च भयो त्यतिबेला । रवि र मेरो आवाज र भाषा एउटै थियो। तपाईंहरूले हेर्नुभयो होला, मैले रविलाई धन्यवाद पनि दिएको थिएँ। उहाँलाई फकाउन ठूला पार्टीहरूले कम मिहिनेत गरेका थिएनन्, तर रवि त्यस्तो अप्ठ्यारोमा पनि मेरो पक्षमा उभिए। मैले यसलाई सानो आँट ठानेको छैन। त्यही नाताले मैले बेलाबेलामा उहाँको स्वास्थ्य स्थितिबारे सोधखोज गर्ने गरेको छु। अस्ति अस्पताल हुँदा पनि मैले फोन गरेर बिमारीबारे सोधेको थिएँ। उहाँले सामान्य पनि हो, अलि जटिल पनि रहेछ भन्नुभयो । अहिले डिस्चार्ज हुनुभएको छ, मलाई कुरा गर्न कुनै असहज छैन।

चुनावअघि कुनै पनि खाले सहकार्यको कुरा भयो भने तपाईंको निकटता वामपन्थीहरूसँग होला जस्तो देखिन्छ ?

त्यस्तो मात्रै होइन।

केही नेताहरूको हकमा संरचनागत समायोजन गरिने सम्भावना छ ?

त्यो असम्भव त छैन, तर अहिले हामीले त्यतातिर छलफल केन्द्रित गरेका पनि छैनौँ।

यो बेलामा तपाईंलाई फेरि एमालेसँग सहकार्यको आवश्यकता बोध भएको छ ? केपी ओलीसँग होस् वा उनीपछि विद्या भण्डारी वा अरू कोही नेतृत्वमा आउँदा-एमालेसँग फेरि एकताको अध्याय सुरु हुन सक्छ ?

हुन सक्छ। मैले ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाउने बेलामा नै हाम्रो लक्ष्य देशका सबै वामपन्थी, कम्युनिस्ट र देशभक्तहरूलाई एकै ठाउँमा ल्याउने हो भनेको छु। एमाले पनि त्यसभित्र पर्छ भन्ने कुरा त मैले एकता राष्ट्रिय सम्मेलन र एकता सन्देश सभाहरूमै भनिसकेको छु। सबै वामपन्थी एक ठाउँमा आएर राष्ट्र बचाउनुपर्छ भन्ने मेरो धारणा छ। त्यसकारण सिद्धान्ततः तपाईंको प्रश्नको उत्तर ‘पोजिटिभ’ छ। यो असम्भव छैन, तर अहिलेको चुनावमै त्यस्तो हुने स्थिति भने देखेको छैन।

चुनाव आउन अब एक महिना बाँकी छ। कताकता ‘संसद् पुनस्थापना गर्नुपर्छ’ भन्ने चर्चा पनि सुनिन्छ। यसमा एमालेका नेताहरू पनि हुनुहुन्छ र कांग्रेसको एउटा टोली अदालततिर गइरहेको छ। तपाईं के भन्नुहुन्छ ?

जतिबेला अन्तरिम सरकार बनेर निर्वाचनको मिति घोषणा भयो, हामीले भन्यौँ-हामी संसद् पुन:स्थापनाको विरोधी होइनौँ तर अब त्यो सम्भव छैन। अब नयाँ जनमतमा जानु नै उचित हो भनेर हामी निरन्तर निर्वाचनको प्रक्रियामा अगाडि बढिरहेका छौँ। एमाले र कांग्रेसका कतिपय साथीहरूले हस्ताक्षर संकलन गरेर अदालत जानुभयो, तर हामीले त्यसो गरेर पनि समस्या समाधान हुँदैन भन्यौँ। हुन्थ्यो भने त दुई तिहाइको संसद् छँदै थियो नि, किन भएन त? त्यसैले नयाँ जनमतद्वारा नै वातावरण सहज हुन्छ भनेर हामी यसमा सहभागी भएनौँ। आज खुसीको कुरा, कांग्रेस, एमाले लगायत सबै निर्वाचनमै लाग्नुभएको छ।

तर, आजभोलि फेरि संसद् पुनस्थापनाको चर्चा चल्न थालेको छ। म के सम्झाउन चाहन्छु भने, २७ भदौमा निर्वाचन घोषणा हुँदा हामीले संविधान ‘डिरेल’ भयो भनेका थियौँ। सँगै सरकारलाई सघाएर निर्वाचनको वातावरण बनाउन पनि लाग्यौं ।

लगत्तै संसद् पुनस्थापना पनि एउटा विकल्प हो भनेर आठ पार्टीको संयुक्त वक्तव्य पनि आएको थियो। तर, आज देश चुनावमा होमिसकेको अवस्थामा फेरि संसद् पुनस्थापनाको सम्भावना पनि देखिँदैन र यो समस्याको समाधान पनि होइन।

संसद् पुन:स्थापनाका बारेमा अब राजनीतिक तहमा पार्टीहरूले बहस गरिरहनु जरुरी छैन। यो विषय अदालतमा छ। सर्वोच्च अदालतले समग्र स्थितिलाई विचार गरेर ‘यस’ वा ‘नो’ मा जवाफ दिने अधिकार राख्छ। मेरो सुझाव के छ भने- यस्तो संवेदनशील विषयमा अदालतले छिटो बोलिदिनु राम्रो हुन्छ। यसलाई अँध्यारोमा राख्नु राम्रो हुँदैन। यो राष्ट्रको गम्भीर मुद्दा भएकाले अदालतले गर्ने निर्णय मान्य र वैध हुन्छ। जनताले त्यसलाई वैध ठान्छन् । अदालतले यो अवसर गुम्न दिनु हुँदैन भन्ने मेरो सुझाव छ ।

भनेपछि, तपाईंको ध्यान चुनावतिर छ, तर संवैधानिक प्रश्न भएकाले अदालतले जुनसुकै फैसला (पुनस्थापना नै भए पनि) गरेमा तपाईंलाई मान्य हुन्छ?

अदालतले गर्‍यो भने त हामीले सधैँ स्वीकार गरेकै छौँ नि! तर, यसमा कसैले कन्फ्युजन नपार्नुहोला- हामी चुनावमा गइसकेका छौँ र चुनावमै जाने हो। संसद् पुनस्थापनाको मुद्दा अदालतमा छ, राजनीतिक दलहरूले अब यसमा टेन्सन लिन जरुरी छैन। चुनावकै तयारीमा सबै लाग्नैपर्छ।

तर, यो संसद् पुनस्थापनाको हल्ला कहाँबाट चलिरहेको छ ?

यो त जसले अदालतमा मुद्दा हालेका छन्, उनीहरूले नै बढी चलाएको कुरा हो।

अदालत जाने पक्षले तपाईंलाई पनि अनौपचारिक रूपमा साउती मारिरहेका होलान् नि- ‘हामी अगाडि बढेका छौँ, तपाईंहरू यसलाई नरोक्नुस्’ भनेर ?

प्रत्यक्ष-परोक्ष कुरा त एउटा होला, तर हामीले क्लियर गरेका छौँ। अहिले पुन:स्थापना भइहाल्ने सम्भावना पनि हामीले देखेका छैनौँ र देश चुनावी प्रक्रियामा अगाडि बढिसक्यो। अब त्यसबाट पछि हट्ने स्थिति पनि छैन। त्यसैले हामी हस्ताक्षर लिएर अदालत जाने पक्षमा छैनौँ।

फागुन २१ गतेको चुनाव त सर्दैन नि ?

सर्दैन। मैले बुझेसम्म एकछिन पनि सर्दैन। हिजो प्रधानमन्त्रीजीले तीन दलका नेताहरूलाई बालुवाटार बोलाउँदा वा शीतल निवास बोलाएको बेला राष्ट्रपतिजीले ‘अलि हतार भयो, कम्तिमा उम्मेदवार मनोनयन ५-७ दिन सारौँ’ भन्नुभएको थियो। तर न सरकार, न निर्वाचन आयोग- कोही पनि एक दिन सार्न तयार भएनन्। हामीले त्यति नै हतार हतार गरेर बन्दसूची बुझायौं । प्रत्यक्षतर्फको पनि त्यसै गर्‍यौं । त्यसैले चुनाव फागुन २१ मै हुन्छ भन्नेमा स्पष्ट छु। म तमाम उम्मेदवार साथीहरूलाई कुनै दुविधामा नपरी चुनावी तयारी घनीभूत बनाउन अपिल गर्दछु।

कानुनी हिसाबले कुनै उम्मेदवारले फिर्ता लिन त मिल्दैन तर राजनीतिक हिसाबले कसैको उम्मेदवारी स्थगन गराएर कसैलाई सघाउने काम त हुन्न नि  ?

अहिले हाम्रो ध्यान कसैसँग समीकरण गर्ने वा अर्को पार्टीलाई सघाउन उम्मेदवारी स्थगित गराउनेतिर बिल्कुलै छैन। राजनीतिमा असम्भव भन्ने त हुँदैन तर अहिले हामी कसैसँग समीकरण गर्नेमा छैनौं ।

तपाईंलाई चुनावपछिको जनमतले अहिलेको संविधान वा प्रणालीलाई नै तलमाथि पार्ला भन्ने डर छ कि ?

त्यस्तो डर त छैन, तर म के भन्न चाहन्छु भने- राष्ट्र अहिले पनि संकटमा छ। २४ गतेका दिन केही घण्टाभित्र देशमा जुन विध्वंस देखियो, त्यसलाई हरेक नागरिकले गम्भीरतापूर्वक लिनुपर्छ। यो निर्वाचन ‘रामबाण’ भइहाल्छ र सबै समस्या समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन।

अहिले केही मिडिया र सोसल मिडियामा नियोजित ढंगले प्रचारबाजी भइरहेको देख्दा म चिन्तित छु। जनतामा आधार नै नभएकाहरूको रेटिङ ९८-९९ प्रतिशत देखाइएको छ, तर हजारौँ जनता साथमा भएका नेताहरूको रेटिङ जिरो देखाइएको छ। कतिपयले ‘हाम्रो बहुमत आइसक्यो, चुनाव त देखाउन मात्रै हो’ भन्दै हिँडेका छन्।

सोसल मिडिया राम्रो उद्देश्यको लागि प्रयोग गर्दा राम्रो पनि हो र गलत उद्देश्यले प्रयोग गर्दा भयानक पनि। म विज्ञानको विद्यार्थी भएकाले यसप्रति मेरो नकारात्मक धारणा छैन, तर चुनाव अघि नै यसले जित्छ भनेर प्रचार जसले जहाँबाट गरेकव छ, यसले मलाई लाग्छ- दाल मे कुछ काला है ।

अमेरिका युरोपकै चुनावमा पनि यस्तो हुन्छ नि ?

यस्तो हुन्छ । जब म ‘फेक’ र झुटो प्रचार देख्छु, त्यहाँनेर शंका गर्ने ठाउँ छ । म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, सबै पार्टी-जनसंगठन र नागरिक समाज सबैसँग अपिल गर्छु- यो निर्वाचनलाई कसैको नियोजित परिणाम ल्याउने थलो बन्न नदिन हामी सबैले गम्भीर, जिम्मेवार र संवदेनशील भूमिका खेलौं । यो राष्ट्रको जीवन-मरणको प्रश्न जस्तो छ । यदि निर्वाचनमा २४ गतेजस्तै कताबाट आयो, कताबाट भनेजस्तै बनाउन खोजियो भने यो राष्ट्र र जनताका लागि भयावह हुनेछ।

म यो संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सबैभन्दा बढी त्याग, बलिदान र संघर्ष गरेको पार्टी र नेताको हैसियतले सुरक्षा निकाय र जनतालाई आग्रह गर्छु- सबै सजग हुनुहोला । म नेपाली सेना र हाम्रो सुरक्षा निकायप्रति विश्वास गर्छु । नेपालका राजनीतिक दल र जनता सोसल मिडियाको ‘स्टन्ट’बाट मुक्त हुनुहोला। छातीमा हात राखेर ‘यो राष्ट्र कसले बनाउन सक्छ’ भनेर १० पटक विचार गरेर मात्रै भोट हाल्नुहोला।

तपाईंले ‘नियोजित परिणाम’को आशंका गरेर सुरक्षा निकायलाई अपिल गर्नुभयो, के हामी कुनै दुर्घटनाको नजिक छौँ?

त्यसरी नै बुझ्नुस् भन्न खोजेको होइन। मैले त राष्ट्रप्रतिको जिम्मेवारी र जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न सबैले आ-आफ्नो ठाउँबाट मेहनत गरौं मात्रै भनेको हो। यदि हामी सजग भएनौँ भने देश अर्को दुर्घटनामा जान पनि सक्छ भनेको हुँ, गइहाल्छ भनेको होइन।

अन्तिममा, मान्छेको राजनीतिक जीवनको पनि अवकाश हुन्छ। तपाईंको सक्रिय राजनीतिको अवकाश कहिले हुन्छ ?

मैले धेरै ठाउँमा भनेको छु- अहिले राष्ट्र, मेरो पार्टी, परिवार, देश र आन्दोलन अप्ठ्यारोमा छ। मैले परिवार, देश र राजनीतिका धेरै उतारचढाव र पारिवारिक पीडा भोगिसकेको छु। मेरा लागि अब पार्टीको अध्यक्ष वा संयोजक पद महत्त्वको छैन। तर, जबसम्म मेरो साहस रहन्छ, म जनताको पक्षमा लडिरहनेछु। त्यसका लागि मलाई पद चाहिँदैन। म नेपाल राष्ट्र र जनतालाई नयाँ ढंगले सेवा गर्न चाहन्छु।

त्यो नयाँ ढंग भनेको के हो?

त्यो भनेको हाम्रो विशेषतासहितको ‘नयाँ समाजवादी आन्दोलन’ हो। म रुकुम पूर्व जानुको तात्पर्य पनि त्यही हो-तलैबाट सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गर्नु।

तपाईंले निर्वाचन क्षेत्र धेरै फेर्नुभयो-रोल्पा, काठमाडौं, सिरहा, चितवन, गोरखा र अहिले रुकुम। यसलाई मान्छेले कसरी बुझ्ने ?

यसलाई म यसरी स्पष्ट पार्छु: रोल्पा र काठमाडौँबाट उठ्नुको अर्थ जनयुद्ध र जनआन्दोलन जोडेर नयाँ संविधान बनाउने प्रक्रियाको सुरुवात थियो ।

सिरहामा गएर चुनाव जितेँ र प्रधानमन्त्री भएँ । त्यसको तात्पर्य मधेस र पहाडलाई दरोसँग जोड्नु थियो । संविधान निर्माणको बेला जस्तो परिस्थिति देखियो, प्रधानमन्त्रीको हैसियतले मधेसी जनता र पार्टीहरूको विश्वास जितेर निर्वाचनितर देश लगेको थिएँ । मेरो उद्देश्य बुझिदिनुस् ।

त्यसपछि म आफ्नो गृह जिल्लामा विकासको मोडल दिन गए । परिवार र गृहजिल्लावासीको आग्रहपनि थियो । त्यसपछि जनयुद्धको तयारी गरेको ऐतिहासिक ठाउँ भएकाले गोरखामा योगदान दिन गएँ । अहिले म नयाँ समाजवादी आन्दोलनको आधार इलाका बनाउन रुकुम गएको हुँ ।

अहिले त अरूले पनि क्षेत्र सार्न थालेका छन्। गगनजी सर्लाही जानुभयो, बालेनजी झापा जानुभयो। उहाँहरू पनि प्रचण्डकै लाइनमा विस्तारै विस्तारै आउन थालेका छन्।

झापामा बालेन गएको कुरालाई कसरी हेर्नुभएको छ ?

यसबारे अहिले धेरै नबोलौं ।

अन्तिम प्रश्न, तपाईंको एउटा चर्चित भनाइ छ-‘म नमर्दासम्म उथलपुथल भइराख्छ’। अब यो देशमा के उथलपुथल हुँदैछ?

उथलपुथल भइरहेकै छ । ‘नेपाली कम्युनिस्ट पार्टी’ बन्नु र ‘तारा’ चुनाव चिह्न आउनु नै एउटा उथलपुथल हो। मेरा कुराहरूलाई नकारात्मक अर्थमा नबुझिदिनुहोला, मैले रचनात्मक र सकारात्मक कुरा गरेको हुँ। म जमेको पोखरी जस्तो फोहोर भएर बस्न चाहन्न, देशलाई गति दिन चाहन्छु। पहिला मैले ‘म्याजिक नम्बर’ भनेको थिएँ, तर अब म्याजिकले काम दिएन, अब मलाई जनताबाट स्पष्ट बहुमत चाहिएको छ।

तस्बिर/भिडियो : कमल प्रसाईं/शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?