आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर नेकपा एमालेका अध्यक्ष एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले चेतावनी दिएको दावीसहितका भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचमा ओलीले यस्तो भनेको देखिएन। उनको भाषणलाई तोडमरोड गरी भ्रम फैलाइएको छ।
के हो दाबी ?
४ लाख ७२ हजार फलोअर्स रहेको पत्रिका नेपाल नामको फेसबुक पेजमा शनिबार (जनवरी ३१) एउटा भिडियो सार्वजनिक भएको छ जसको शीर्षकमा लेखिएको छ, – ‘केपी ओली आफूले हारे परिणाम नस्वीकार्ने भन्दै सरकारलाई दिए धम्कीपूर्ण चेतावनी’
यो तथ्य जाँच गर्ने समयसम्ममा यो भिडियो १४ लाखले हेरेका छन् भने ४९ हजार जनाले रियाक्ट र ८ हजार जनाले कमेन्ट गरेका छन्।
हेर्नुहोस् पत्रिका नेपाल नामक फेसबुक पेजमा पोस्ट भएको भिडिओ रिपोर्टको स्क्रिन रेकर्ड
पत्रिका नेपाल नामक फेसबुक पेजमा सार्वजनिक भिडियोको ओरिजिनल लिंक यहाँ छ ।
३५ हजार फलोअर्स रहेको यात्रा नामक फेसबुक पेजले पनि जनवरी ३१ को दिन नै यही दाबीसहित केपी शर्मा ओलीको फोटोसहित एउटा स्टायटस राखेको छ । यो तथ्य जाँच गर्ने समयसम्ममा यो पोस्टले १४ हजार रियाक्सन पाएको छ भने ३ हजार १ सय कमेन्ट र ७४७ जनाले सेयर गरेका छन् । कमेन्ट गर्ने अधिकांशले केपी शर्मा ओलीको चर्को आलोचना गरिरहेका छन् ।
हेर्नुहोस् यात्रा नामक फेसबुक पेजबाट सार्वजनिक भएको स्ट्याटसको स्क्रिनसट

यात्र नामक फेसबुकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
१६ हजार फलोअर्स रहेको टाइम्स अफ नेपाल नामक फेसबुक पेजले फेब्रुअरी १ मा यही दाबी राखेको छ । यो तथ्य जाँचको समयसम्ममा यो पोष्टले ११ हजार रियाक्ट पाइसकेको छ भने १ हजार ७ सयले कमेन्ट र २ सय १९ जनाले सेयर गरेका छन् ।
हेर्नुहोस् टाइम्स अफ नेपालले लेखेको तस्बिरसहितको स्टाटसको स्क्रिन सट

टाइम्स अफ नेपालको ओरिजिनल लिंक यहाँ छ ।
८६ हजार फलोअर्स रहेको टीखबर नामक फेसबुक पेजले पनि फेब्रुअरी १ मै यही दाबीसहितको तस्बिरसहितको स्टाटस सार्वजनिक गरेको छ । यो तथ्य जाँच गर्ने समयसम्ममा यो पोष्टले ८ हजार ८ सय रियाक्सन पाइसकेको छ भने ४ हजार कमेन्ट र ४ सय २८ जनाले सेयर गरेका छन् ।
हेर्नुहोस् टीखबर ले सार्वजनिक गरेको पोष्टको स्क्रिन सट

टीखबर को ओरिजिनल लिंक यहाँ छ ।
अरु थुप्रै फेसबुक पेजले पनि यही दाबीसहितको पोष्ट सार्वजनिक गरेको भेटियो । यी फेसबुक पोष्टहरु जनवरी ३१ देखि यता भाइरल भइरहेकोले जनवरी ३१ को दिन ओलीका भाषणहरु खोज्यौं।
नतिजा स्वरुप अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट जनवरी ३१ को बेलुका ४ बजे ओलीको भाषण लाइभ भएको भेटियो । २९ मिनेट भएको यो लाइभ हामीले पुरै हेर्यौ ।
लाइभमा ओलीले कतै पनि ‘आफू पराजित भए निर्वाचन र परिणाम दुबै अस्वीकार गर्ने’ भनेका छैनन्। बरु उनले निर्वाचनमा धाँधली भएमा वा कसैलाई जिताउनेतर्फ सरकार लागेमा त्यस्तो परिणाम स्वीकार नगर्ने भनेको भेटियो। यो अभिव्यक्ति लाइभ भिडिओको १५ मिनेट ५२ सेकेन्डपछि सुन्न सकिन्छ ।
ओलीले त्यसमा भनेका छन् (जस्ताको तस्तै)
सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्ने हो भने, निर्वाचन गराउने हो भने, स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ। सरकार बिल्कुलै तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनु पर्दछ। त्यो भूमिका सरकारले खेल्नु पर्दछ। यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन। त्यस्तो परिणाम स्वीकार्य हुँदैन। त्यसले देशमा ठूलो अनिष्ट पैदा गर्नेछ। त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन। म अहिलेदेखि स्पष्ट रुपमा जानकारी गराउँछु। जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ। खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ।
हेर्नुहोस् अनलाइनखबरको फेसबुक पेजमा लाइभ भएको भिडिओको स्क्रिनरेकर्ड
अनलाइनखबरको फेसबुक पेजमा भएको लाइभको ओरिजिनल लिंक यहाँ छ ।
तथ्य जाँच
दाबी : आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर केपी शर्मा ओलीले बोलेको दाबीसहितका फेसबुक पोष्टहरु
दावीकर्ता : पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टी खबर लगायत नामका फेसबुक पेजहरु।
तथ्य: भ्रामक सूचना। ओलीले निर्वाचनमा सरकारले धाँधली गरेर कसैलाई जिताउने प्रयास गरेमा त्यस्तो नतिजा स्वीकार गर्न नसकिने भनेका हुन्। यही दाबीलाई तोडमरोड गरेर ‘आफू र एमाले पराजित भए नतिजा स्वीकार नगर्ने ‘ भनेर ओलीले बोलेको भनेर भ्रम फैलाइएको हो।
नेपाल फ्याक्ट चेक र अनलाइनखबर डटकमको सहकार्य
प्रतिक्रिया 4