News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले मलेसिया जाने वैदेशिक कामदारहरूको संख्या वृद्धि भएपछि मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या बढाउने निर्णय गरेको छ।
- वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारलाई तालिम दिन हालका तालिम प्रदायक संस्थाहरू अपुग देखिएपछि नयाँ संस्थाहरूलाई अनुमति दिन ३ दिनभित्र निवेदन आह्वान गरेको छ।
- निवेदनका लागि मलेसियाको पाठ्यक्रम, योग्य प्रशिक्षकको बायोडाटा र क्लष्टर परिवर्तनको कारणसहितको स्वघोषणा आवश्यक रहेको विभागले जनाएको छ।
२० माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकारले मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या थप गर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाहरू मात्रै मलेसिया जाने कामदारलाई तालिम दिन अपुग देखिएकाले नयाँ संस्थाहरूलाई अनुमति दिन लागिएको जनाएको हो ।
हाल अन्य देशका लागि तालिम सञ्चालन गरिरहेका तर, मलेसिया क्लष्टरमा स्थानान्तरण हुन चाहने इच्छुक संस्थाहरूलाई ३ दिनभित्र निवेदन दिन आह्वान गरिएको छ ।
विभागका अनुसार मलेसिया जाने कामदारको संख्या दिनप्रतिदिन बढ्दै जाँदा हालका तालिम केन्द्रहरूमा अत्यधिक चाप परेको छ । ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ को मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

निवेदनका लागि मलेसियाको पाठ्यक्रम र तोकिएको योग्यता भएको प्रशिक्षकको बायोडाटा, विगतमा सञ्चालन गरेको तालिमका सम्बन्धमा विभागको अभिलेखमा कुनै कैफियत नदेखिएको स्वघोषणा र क्लष्टर परिवर्तन गर्न चाहेको कारणसहितको निवेदन दिनुपर्ने विभागले जनाएको छ ।
प्रतिक्रिया 4