२५ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११ महिला उम्मेदवार छन् ।
गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले केन्द्रीय राजनीतिमा चिनिएका अनुहारमध्ये ७ र स्थानीयस्तरमै राजनीति गर्दै आएका ४ महिला नेतृहरूलाई उम्मेदवार बनाएको हो ।
राष्ट्रिय राजनीतिमा परिचित अनुहारमध्ये मकवानपुर–१ मा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, झापा–२ मा सदस्य सरिता प्रसाईं, महोत्तरी–२ मा किरण यादव, सिन्धुली–२ मा सुशीला थिङ, काठमाडौं–८ सपना राजभण्डारी, काठमाडौं–९ मा नानु बास्तोला र रुकुमपूर्वमा कुसुम थापा मगर उम्मेदवार छन् ।
यस्तै स्थानीय स्तरमा कांग्रेसको राजनीतिमा सक्रियमध्ये झापा–५ मा मन्धरा चिमरिया, सिराहा–४ मा चन्द्रकला कुमारी यादव, चितवन–२ मा मीनाकुमारी खरेल र दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले अघि सारेका महिला उम्मेदवारहरू मुलुकको शासनसत्ता सम्हाली सकेका पूर्वप्रधानमन्त्रीदेखि मन्त्री बनिसकेका विपक्षी दलका ‘हेभी वेट’ नेताहरूसँग चुनावी प्रतिष्पर्धामा छन् ।
मन्धरा चिमरिया
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसले झापा-५ मा मन्धरा चिमरियालाई चुनावी मैदानमा उतारेको छ । यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार बालेन्द्र शाह पनि चुनाव लड्दैछन् । उनी काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर हुन् ।
चिमरिया राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन् । उनले दमकमा बाल आश्रम स्थापना गरेकी छन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी चिमरिया महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् ।
कुसुम थापामगर
पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रूकुम पूर्वमा कांग्रेस नेतृ कुसुम थापामगर चुनावी प्रतिष्पर्धामा छन् ।
उनी विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित नेतृ हुन् । विघटित प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत् सांसद बनेकी उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् ।
मीनाकुमारी खरेल
चितवन–२ मा कांग्रेस नेतृ मीनाकुमारी खरेलको पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविलामिछानेसँग प्रतिस्पर्धा हुँदैछ । चितवनमा कांग्रेसको राजनीतिमा सक्रिय खरेलले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिसकेकी उनी कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य र १४ औं महाधिवशेनबाट महासमिति सदस्य भएकी थिइन् । सामाजिक कार्यमा सक्रिय खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएकी छन् ।
सरिता प्रसाईं
कांग्रेसले विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपससभामुख इन्दिरा रानासँग झापा–२ मा नेतृ सरिता प्रसाईंलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । निवर्तमान केन्द्रीय सदस्य प्रसाईं विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।
उनले प्रतिनिधिसभामा दुई र राष्ट्रियसभामा एक कार्यकाल सांसद भएर काम गरिसकेकी छन् । संविधानसभा निर्वाचन–२०७० मा प्रतिनिधिसभामा समानुपातिक सांसदमा निर्वाचित प्रसाईंसँग कृषि राज्यमन्त्री भएर काम गरेको अनुभव छ ।
नेतृ प्रसाईंले २०७४ मा राष्ट्रियसभामा कांग्रेसको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् । प्रसाईंको क्षेत्रमा नेकपा एमालेले निवर्तमान सभामुख घिमिरे, रास्वपाले निवर्तमान उपसभामुख रानालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपाका तर्फबट पूर्वमन्त्री धर्मशिला चापागाईंले मनोनयन गरेकी छन् ।
चन्द्रकलाकुमारी यादव
कांग्रेसले सिराहा–४ बाट चन्द्रकलाकुमारी यादवलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । संसदीय यात्राका लागि पहिलो पटक चुनावी मैदानमा उत्रिएकी उनी पहिलो अनुभवमै तीन जना पूर्वमन्त्रीसँग भिड्दै छिन् ।
नेतृ यादवसँग एमालेबाट धर्मनाथ प्रसाद साह, नेकपाबाट अयशंकर नायक, रास्वपाबाट तपेश्वर यादव र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव छन् । प्रतिस्पर्धीमध्ये एमालेका साह, नेकपाका नायक र जसपाका यादव पूर्वमन्त्री र पटक–पटक प्रत्यक्ष निर्वाचन जितेर सांसद भइसकेका नेता हुन् ।
किरण यादव
कांग्रेसले महोत्तरी–२ मा सबैभन्दा धेरै पटक मन्त्री बनिसकेका शरतसिंह भण्डारीविरूद्ध नेतृ किरण यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । उनी दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएकी थिइन् । नेतृ यादव पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य थिइन् ।
कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य यादवसँग जसपा नेपालबाट शरतसिंह भण्डारीसँगै एमालेका कादिप नदाप, नेकपाका लक्ष्मणकुमार यादव, रास्वपाका दीपककुमार साह चुनावी मैदानमा छन् ।
नानु बास्तोला
कांग्रेसले काठमाडौं–९ मा केन्द्रीय सदस्य नानु बास्तोलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी संसदीय यात्राका लागि पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
यहाँ रास्वपाका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद अर्याल (डीपी), एमालेबाट बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अजयक्रान्ति शाक्य उम्मेदवार छन् ।
सपना राजभण्डारी
कांग्रेसले काठमाडौं–८ मा केन्द्रीय सदस्य सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । विघटित प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद बनेकी राजभण्डारी प्रत्यक्षतर्फ पहिलो पटक प्रतिष्पर्धामा उत्रिएकी हुन् ।
उनीसँग एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमी र रास्वपाबाट विराजभक्त श्रेष्ठ प्रतिस्पर्धामा छन् । श्रेष्ठ अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता रहिसकेका श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
सुशीला थिङ
कांग्रेसले सिन्धुली–२ बाट सुशीला थिङलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पनि पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भिड्न लागेकी छिन् । थिङ विघटित प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद थिइन् ।
कांग्रेसले उनलाई सचेतकको जिम्मेवारी दिएको थियो । सिन्धुली–२ बाट एमालेका मनोजजंग थापा, नेकपाका लेखनाथ दाहाल र रास्वपाका आशिष गजुरेल उम्मेदवार छन् ।
बासना थापा
कांग्रेसले दैलेख–१ मा वासना थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पनि संसदीय यात्राका पहिलो पटक चुनावी प्रतिस्पर्धामा छिन् ।
कांग्रेसले नेतृ थापा पूर्वसांसद रहिसकेका नेकपाका अम्बबहादुर थापासँग चुनावी मैदानमा उतारेको छ । यहाँ एमालेबाट रविन्द्रराज शर्मा, रास्वपाबाट नन्दकिशोर बस्नेत उम्मेदवार छन् ।
महालक्ष्मी उपाध्याय ‘डिना’
कांग्रेसले निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई मकवानपुर–१ बाट उम्मेदवार बनाएको छ । उनी पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा उपाध्याय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहसँग यसै क्षेत्रमा पराजित भएकी थिइन् । २०४८ देखि २०७४ सम्म उनी मकवानपुर–२ मा चुनाव लडेकी थिइन् । लामो समयदेखि राजनीतिमा सक्रिय उपाध्याय चार पटक पराजित भइसकेकी छिन् ।
उपाध्याय पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद थिइन् । उनी पूर्वजलस्रोत राज्यमन्त्री पनि हुन् । आसन्न निर्वाचनमा मकवानपुर–२ मा एमालेका रामेश्वर रानामगर, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा विजयी सीता गुरूङले पाइनन् टिकट
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ सीता गुरूङमात्रै विजयी भएकी थिइन् । तर, उनलाई आसन्न निर्वाचनका लागि कांग्रेसले टिकटबाट वञ्चित गरेको छ ।
कांग्रेस नेतृ गुरूङ उम्मेदवारको आकांक्षी थिइन् । तर, उनलाई जिल्ला कार्यसमिति, तेह्रथुमले प्रदेश कार्यसमितिसमक्ष सिफारिस नै गरेन ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट गुरूङलाई जिल्लाका केही नेता–कार्यकर्ताविरूद्ध अनुशासनको कारबाही गराएको आरोप लगाएको थियो ।
जिल्लाबाट उनी सिफारिसमा नपरेपछि कोशी प्रदेश कार्यसमितिले गुरूङको नाम थपेर केन्द्रमा पठाएका थियो ।
जिल्ला कार्यसमितिले तत्कालीन महामन्त्री गगनकुमार थापाको नाम मात्रै तेह्रथुमबाट सिफारिस गरेको थियो ।
गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जना निर्वाचित भएका थिए ।
विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् ।
उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।
प्रतिक्रिया 4