सिमेन्ट बालुवा गिटी र पानी मिलाएर तयार पारिने कङ्क्रिट अहिलेसम्म भवन, सडक तथा पुल जस्ता भौतिक संरचनाको निर्माणमा प्रयोग गर्ने गर्छौँ । तर, अब वैज्ञानिकहरूले यसलाई ऊर्जा भण्डारण गर्ने साधनका रूपमा समेत विकास गरेका छन् ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले इलेक्ट्रोन कन्डक्टिङ कार्बन कङ्क्रिट तयार गरेका छन् जसले पावर बैंकले जस्तै गरी ऊर्जा स्टोर गर्न सक्छ ।
वैज्ञानिकहरूका अनुसार यो नयाँ प्रविधिसँगै अब भविष्यमा कुनैपनि भवनका भित्ताहरू, फुटपाथ तथा पुलहरूलाई समेत विशाल ब्याट्रीमा रूपान्तरण गर्न सक्ने सम्भावना देखिएको छ ।
सिमेन्ट, पानी, सूक्ष्म कार्बन ब्ल्याक र इलेक्ट्रोलाइट्स मिसाएर यो पावर बैंक जस्तो कङ्क्रिट बनाइन्छ। यसलाई ईसीथ्री नाम दिइएको छ । यसको भित्री संरचनामा अति सुक्ष्मस्तरको नेटवर्क निर्माण हुन्छ जसले बिजुली प्रवाह सम्भव बनाउँछ। यही संरचनाका कारण यो कङ्क्रिटले ऊर्जा संग्रह गर्नुका साथै आवश्यक पर्दा उर्जा आपूर्ति पनि गर्न सक्छ ।
समुद्री पानी प्रयोग गर्न सकिने
अनुसन्धानका क्रममा यस कंक्रिटमा विभिन्न प्रकारका इलेक्ट्रोलाइट्स प्रयोग गर्न सकिने पत्ता लागेको छ।
वैज्ञानिकहरूले समुद्रको पानीसमेत यसमा प्रयोग गर्न सकिने बताएका छन् । जसले गर्दा यो प्रविधिलाई समुद्री क्षेत्र तथा तटीय वायुऊर्जा परियोजनाहरूमा समेत उपयोगी बनाउनेछ।
एक घन मिटर कङ्क्रिटले एक दिनको बिजुली
शोधकर्ताहरुका अनुसार यो कंक्रिटमा अर्गानिक इलेक्ट्रोलाइट्स प्रयोग गर्दा सबैभन्दा राम्रो नतिजा प्राप्त भएको छ। यस प्रविधिबाट बनेको एक घन मिटर कङ्क्रिटले २ किलोवाट घण्टाभन्दा बढी ऊर्जा स्टोर गर्न सक्छ। यो भनेको एउटा फ्रिजलाई पूरा दिनभर चलाउन पुग्ने उर्जा हो ।
परम्परागत ब्याट्रीको तुलनामा यस कंक्रिटको ऊर्जा क्षमता कम भए पनि यसलाई सिधै भवन संरचनामा समावेश गर्न सकिन्छ। यसले उक्त संरचनाको अवधिभर काम गर्ने भएकाले दीर्घकालीन समाधानका रूपमा लिइएको छ। साथै यसमा हानिकारक तथा दुर्लभ पदार्थ प्रयोग नहुने भएकाले यो वातावरणमैत्री र सुरक्षित पनि छ।
सडकले चार्ज गर्ने भविष्य
एमआइटीको टोलीले यो प्रविधिलाई पार्किङ स्थल, सडक र आवासीय भवनहरूमा प्रयोग गर्ने तयारी गरिरहेको छ । भविष्यमा यस्ता सडक निर्माण हुन सक्नेछन् जसले विद्युतीय सवारी साधन चार्ज गर्नेछन्। साथै यस्ता घरहरू पनि बन्नेछन् जो विद्युत ग्रिडबाट पूर्ण रूपमा स्वतन्त्र भएर पनि सञ्चालन हुन सक्नेछन् ।
अनुसन्धानकर्ताहरूका अनुसार प्राचीन रोमन सभ्यताका भवनहरूको दीर्घकालीन बलियोपनबाट प्रेरणा लिएर आधुनिक सुक्ष्म विज्ञानसँग जोडिँदा नयाँ वास्तुकलात्मक क्रान्तिको सम्भावना देखिएको छ। त्यसैले यो नयाँ कङ्क्रिट अब केवल संरचना होइन ऊर्जाको स्रोत बन्ने दिशामा अघि बढेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4