२६ माघ, काठमाडौं । आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न आदिवासी ज्ञान सम्मेलन आयोजना गरिएको छ ।
राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडीन)ले काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा राष्ट्रिय सभा गृहमा सम्मेलन आयोगना गरेको हो ।
आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । एनएफडीनले रजत जयन्तीको अवसरमा पारेर सम्मेलन आयोजना गरेको हो ।
‘ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नारासहित सुरु भएको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका थिए । उनले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताए ।
यस ज्ञान सम्मेलनमा सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको पनि उनको भनाइ छ ।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुर्ख्यौली ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
तीन दिने सम्मेलनमा आदिवासी जनजातिका परम्परागत ज्ञानमाथि छलफल हुनुका साथै छलफलबाट निस्किएको निष्कर्षले राज्यको नीतिनिर्माण तथा रुपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए ।
सम्मेलनमा आदिवासी ज्ञान, अधिकार, संस्कृति, नीति तथा अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी बहस, प्रस्तुति र अनुभव आदान–प्रदान गरिने आयोजकको भनाइ छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यले आदिवासी जनजातिको परम्परागत संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आदिवासीको ज्ञान, सीप र परम्परा लोप हुन नदिन सबै सक्रिय हुनुपर्ने बताए । राज्यको तहबाट पनि त्यसका लागि भूमिका खेल्न उनले माग गरे ।
सम्मेलनमा आदिवासीको प्रथा, परम्परा, शासन प्रणालीका विषयमा विभिन्न विज्ञका ८१ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल हुने प्रतिष्ठानका सदस्यसचिव ज्ञानेन्द्र पुनले बताए ।
यसैबीच, विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा जीतपाल किँरात, चन्द्रबहादुर गुरुङ, गोकुलप्रसाद घर्ती र मरणोपरान्तमा झकबहादुर थापामगर रहेका छन् ।
उद्घाटन कार्यक्रममा सुनुवार समुदायको स्याँदर शिल नृत्य,भोटे समुदायको स्याप्रो नृत्यसहित विभिन्न आदिवासी सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । सुर्खेतबाट राउटे समूदायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4