News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक लक्ष्मण पौड्यालले पहिलो कथानक फिल्म \'भटभटे\' को छायांकन सुरु गर्न लागेका छन्।
- फिल्म \'भटभटे\' मा अञ्जना बराइली, सविन कार्की, रविन्द्र झा र प्रमोद अग्रहरि मुख्य भूमिकामा छन्।
- फिल्मको कथा नयनराज पाण्डेको हो र पटकथा लक्ष्मण पौड्यालले लेखेका हुन्, बजेट ३ देखि ४ करोड रुपैयाँ तोकिएको छ।
काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले अब कथानक फिल्म निर्देशन गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्ट ‘भटभटे’ को बिहीबार औपचारिक घोषणा भएको छ ।
रोमकम तथा सोसल ड्रामा जनरामा बन्ने फिल्मको छायांकन आइतबारदेखि सुरु हुँदैछ । जनकपुरसहित तराईका विभिन्न स्थानमा खिचिने फिल्मको शीर्ष भूमिकामा अञ्जना बराइली, ‘कार्टुन्ज क्रू’ का सविन कार्की, रविन्द्र झा, प्रमोद अग्रहरि लगायतको महत्वपूर्ण भूमिका हुनेछ ।
आठवर्षदेखि ‘भ्वाइस अफ नेपाल’ को निर्देशन र निर्माणमा सक्रिय पौड्याल दुई दशकदेखि टिभी क्षेत्रमा अनवरत छन् । उनले हिन्दी फिल्म ‘भूत अंकल’ मा सहायक निर्देशन गरेका छन् । ‘भटभटे’ उनको डेब्यू निर्देशकीय फिचर हुनेछ ।
मोटरसाइकललाई केन्द्रमा राखेर तयार पारिएको फिल्मको कथा चाहिँ चर्चित साहित्यकार नयनराज पाण्डेको हो भने पटकथा पौड्याल स्वयमले लेखेका हुन् ।
‘मोटरसाइकलसँग हरेक नेपाली युवाको इच्छा जोडिएको हुन्छ । यो पाउन उसले संघर्ष गर्नुपर्छ । सवारी साधन मात्र नभएर मोटरसाइकलसँग भावना पनि जोडिएको हुन्छ’ फिल्मबारे लक्ष्मणले भने, ‘तराई तिर यसलाई भटभटे पनि भन्छन् । तराईमा बाइकलाई दाइँजोको रुपमा धेरैले चिन्छन् । यी सबै समेटेर कथा तयार भएको हो ।’
हरेक युवाको पहिलो सपना हुने भएकाले मोटरसाइकललाई केन्द्रमा राखेर फिल्म बन्ने उनले बताए । फिल्ममा खेम सेन्चुरी, प्रमोद खरेल, प्रशान्त शिवाकोटी, करणराज कार्कीको संगीत हुनेछ । यी तीनैजना संगीतकर्मी ‘भ्वाइस अफ नेपाल’ सँग जोडिएका छन् ।

सेन्चुरी र खरेल कोच हुन् भने शिवाकोटी छैटौं सिजनका फाइनलिस्ट । शिवाकोटीले सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा संगीत निर्देशन गरेका छन् भने उनको पछिल्लो हिट ‘न्याउली बनैमा’ ले उनलाई अर्को प्रसिद्धी दिलायो ।
फिल्म र टिभीको समयलाई व्यवस्थापन गरेर अघि बढ्ने जानकारी लक्ष्मणले दिए । ‘मैले टिभी छाडेको होइन । काम गराइको यो एउटा हिस्सा हो । फरक यत्ति हो– टिभीमा स्पोन्सरलाई खुसी बनाउनुपर्छ र फिल्ममा दर्शकलाई’ उनले भने, ‘जसका लागि बनाएको हो, त्यसलाई खुसी बनाउन पाउनुपर्छ ।’
३ देखि ४ करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मको लगानीकर्तामा व्यवसायी सुरेश कार्की छन् । हरेक वर्ष एक फिल्म निर्माण गर्ने यो समूहको तयारी छ । रोचक के छ भने, ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको फिनाले सम्पन्न भएको भोलिपल्ट अर्थात आइतबारदेखि निर्देशक पौड्यालले कथानक फिल्म ‘भटभटे’ को छायांकन सुरु गर्न लागेका हुन् ।
प्रतिक्रिया 4