
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को छैटौं संस्करण यतिबेला चर्चामा छ । यसवर्षको यो प्रतीक्षित रियालिटी शो यसका प्रतिस्पर्धी र कोचको सहभागिताले चर्चित छ ।
पहिलोपटक लोकसंगीतको तर्फबाट गायक तथा संगीतकार खेम सेन्चुरी कोचको रुपमा सहभागि हुँदा यसले दर्शकीय उत्साह बटुलेको छ । अर्कोतर्फ, इन्द्रकला राईजस्ता पछिल्लो समय घरेलु संगीतका सशक्त र चर्चित आवाजको सहभागिता यसमा छ ।
शुक्रबार र शनिबार ब्लाइन्ड अडिसनको प्रसारणसँगै भ्वाइसको छैटौं संस्करण सुरु भयो । यतिबेला भने, चर्चाको केन्द्रमा कोच सेन्चुरी छन् । एकातिर उनको सहभागिता आफैमा उत्साहप्रद खबर हो । अर्कोतर्फ, खुट्टाले बजर थिचेपछि उनी विवादमा तानिए ।
यस्तोमा, सामाजिक संजाल प्रयोगकर्ताले व्यक्तिगतरुपमा टिप्पणी गरिरहेको देखिन्छ । तर, कोच सेन्चुरीले खुट्टाले बजर थिचेको पहिलोपटक होइन । अघिल्ला कोच अभया सुब्बा, मिलन नेवार, राजु लामा, राजेशपायल राईले पनि खुट्टाले बजर थिचेका छन् ।
अन्तर्राष्ट्रिय संस्करणमा समेत खुट्टाले बजर थिच्ने दृश्य सामान्यजस्तै देखिन्छ । यस्तोमा, भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेललाई अनलाइनखबरले सोधेको थियो- खुट्टाले बजर थिचेको कुरा अहिले आएर विवादित हुनुलाई कसरी लिनुहुन्छ ?
उनको जवाफ थियो- भ्वाइसको स्टेजमा भएको कुरा पहिलोपटक भएको होइन । धेरैपटक अघिल्ला कोचले पनि गर्नुभएको छ । अन्तर्राष्ट्रिय अभ्यास समेत छ । उत्साह व्यक्त गर्ने यो एउटा शैली हो ।’
यसलाई सकारात्मकरुपमा लिने उनको भनाई छ । ‘भ्वाइसमा नयाँ दर्शक आउनुभएछ भन्ने हामीलाई लागेको छ’ पौडेलले भने, ‘यसलाई खुसीकै रुपमा लिएका छौं । जतिले विवाद र आलोचना गर्नुभएको छ उहाँहरू नयाँ दर्शक हुनुहुन्छ । यो सकारात्मक कुरा हो ।’
निर्देशक पौडेलका अनुसार भ्वाइसको ब्लाइन्ड अडिसन कम्तीमा ३ साता चल्नेछ । त्यसपछि ब्याटल राउण्ड सुरु गर्ने तयारी छ । भ्वाइस अफ नेपाल हिमालय टिभीमा प्रत्येक साता शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुन्छ ।
प्रतिक्रिया 4