आज प्रणय दिवस (भ्यालेन्टाइनडे) । फेब्रुअरी ७ देखि १४ सम्म साताप्ताहिक रुपमा यो दिवस मनाउने गरिन्छ । भ्यालेन्टाइन सप्ताह भन्ने बित्तिकै रातो गुलाब, क्यान्डल लाइट डिनर तथा प्रेम जोडीहरुको तस्बिर दिमागमा आउँछ। तर, यसपटक न्यूयोर्कको एउटा क्याफेले एउटा यस्तो प्रयोग गरेको छ जसले संसारभरका ‘सिंगल’ हरूको ध्यान तानेको छ।
यसपटकको भ्यालेन्टाइन डे मा पनि जोडी भेटाउन नसकेका सिंगलहरुले अब डेट जानका लागि कुनै वास्तविक मान्छे नै खोज्नुर्ने छैन। अब आफ्नो स्मार्टफोनको ‘एआई च्याटबोट’ लाई पार्टनर बनाएर उक्त रेस्टुरेन्ट जान सकिनेछ।
समाचार अनुसार न्यूयोर्कको ‘हेल्स किचन’ क्षेत्रमा रहेको ‘सेम सेम वाइन बार’ ले त्यो अनौठो डेटिङको सुरुवात गरेको हो। त्यहाँ मानिसहरू आफ्ना वास्तविक पार्टनरसँग होइन मोबाइल वा ट्याब्लेटमा रहेका ‘भर्चुअल पार्टनर’ सँग डिनर डेटमा आइरहेका छन्।
क्याफेले यसका लागि खास व्यवस्था गरेको छ । जस अन्तरगत एक्लै बस्न मिल्ने तर रोमान्टिक महसुस हुने स-साना टेबलको व्यवस्था छ। त्यसैंगरी मोबाइल वा ट्याब्लेट अड्याउनका लागि डिभाइस स्ट्यान्ड अनि आफ्नो डिजिटल साथीको आवाज स्पष्ट सुन्न र कुरा गर्न हेडफोनको व्यवस्था ।
यो अभियान EvaAI नामक एपसँगको सहकार्यमा सुरु गरिएको हो। यो एपले प्रयोगकर्तालाई आफ्नो इच्छा अनुसारको डिजिटल पार्टनर बनाउने सुविधा दिन्छ। यसमा आफ्नो भर्चुअल पार्टनर कस्तो देखिने, उसको स्वभाव कस्तो हुने, उसले कसरी कुरा गर्ने भन्ने कुरा आफैं तय गर्न सकिन्छ ।
उक्त क्याफेमा भेटिएकी ३४ वर्षीया रिच्टर भन्छिन् – एआईसँग कुरा गर्दा कुनै दबाब हुँदैन। न कतै जानैपर्ने बाध्यता, न त तत्काल जवाफ दिनुपर्ने बोझ। यो धेरै सजिलो र सन्तोषजनक छ।
यद्यपि वास्तविक संसारबाट अलग नहोइयोस् भन्नका लागि उनले दिनमा केही घण्टा मात्र एआईसँग बिताउने गर्छिन्।
EvaAI कम्पनीकी एकजना अधिकारी जूलिया मोम्ब्ल्याटका अनुसार उनीहरुले मानवीय सम्बन्धको विकल्प खोज्न चाहेका छैनन् । आफूहरुले केवल केवल मानिसहरूले डिजिटल पार्टनरसँग डेट गर्दा लाज मान्ने वा हिचकिचाउने अवस्थाको अन्त्य गर्न चाहेको उनको भनाइ छ ।
कम्पनीका अनुसार यो ती मानिसहरूका लागि एउटा सहारा हो जो एक्लो छन् वा जसले अरूसँग कुरा गर्ने कला सिक्न चाहन्छन्।
स्मरण रहोस् हालैका सर्वेक्षणहरूले युवा पुस्तामा एआईलाई आफ्नो साथी तथा पार्टनर बनाउने अनि मनका कुरा गर्ने ट्रेन्ड तीव्र गतिमा बढेको देखाएका छन्। न्यूयोर्कको सो क्याफे एउटा सङ्केत हो कि अब प्रविधि र मानवीय भावनाहरू एक नयाँ मोडमा जोडिएका छन्।
त्यसैले भविष्यमा यस्ता अरू पनि परिवर्तन देख्न सकिनेछ जसले हाम्रो सामाजिक र निजी जीवनमा एआईको भूमिका कति ठूलो हुन्छ भन्ने तय गर्नेछ ।
प्रतिक्रिया 4