आम निर्वाचन लोकतन्त्रको त्यो आधारशिला हो, जहाँ तपाईं–हामीजस्ता नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर आगामी पाँच वर्षका लागि देशको भविष्य कोर्नका लागि प्रतिनिधि छान्ने अवसर पाउँछौँ। निर्वाचनलाई स्वतन्त्र, भयरहित र कुनै पनि दबाब वा प्रभावमुक्त बनाउनु नै लोकतन्त्रको वास्तविक मर्म हो। तर, अघिल्ला निर्वाचनहरू सम्झनुहोस् त? त्यतिबेला ‘मसल’ (शक्ति) र ‘मनी’ (पैसा) नै मुख्य चुनौती हुन्थे। कसले कति खर्च गर्यो वा कहाँ धाँधली भयो भन्ने चिन्ता हुन्थ्यो।
तर आज, समय बदलिएको छ। अहिले तपाईंको खल्तीमा रहेको मोबाइल फोनमा आउने एउटै ‘म्यासेज’ (सूचना) निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। अब मनी र मसलका अलावा भ्रामक म्यासेज ठूलो चुनौती बन्नेवाला छ।
हाम्रो सामान्य दैनिकीलाई कल्पना गरौँ। बिहान उठेर नित्यकर्म सकेसँगै तपाईं आफ्नो परिवारका सदस्यहरूसँग बसेर चिया पिउँदै हुनुहुन्छ। चुनावको समय छ। बाहिर निर्वाचनबारे कुराकानी, छलफल तथा आफ्ना–आफ्ना तर्कवितर्क चलिरहेका छन्। माइकिङ भइरहेको छ, उम्मेदवार सानो–ठूलो सङ्ख्यामा कार्यकर्तासहित भोट माग्न घरदैलोमा छन्। दलका झन्डाहरू फहराइरहेका छन्।
तपाईं चिया पिउँदै मोबाइलमा सामाजिक सञ्जाल फेसबुक, टिकटक वा युट्युब खोल्नुहुन्छ। स्क्रिनमा अचानक एउटा सनसनीपूर्ण शीर्षक देखिन्छ– ‘फलानो दलको पार्टी कार्यालयमा तोडफोड, फलानो दलका कार्यकर्ताले तोडफोड गरेको फलाना नेताको दाबी।’
तोडफोडको समाचारले तपाईंलाई रिस उठ्छ। तपाईंलाई लाग्छ, ‘ओहो! लोकतन्त्रमा यसरी अर्काको पार्टी कार्यालय तोडफोड गर्न पाइन्छ? फलानो दल वा नेता कस्तो अराजक भएको?’तपाईं न त त्यो सूचनाको मूल स्रोत खोज्नुहुन्छ, न त त्यसको आधिकारिकता जाँच गर्नुहुन्छ।
तपाईंको हातले सोच्दै नसोची ‘सेयर’ वा ‘रियाक्सन’ बटन थिचिहाल्छ। तपाईंलाई लाग्छ, तपाईंले एउटा ठूलो नागरिक कर्तव्य पूरा गर्नुभयो। तर, तपाईंलाई थाहा छ? तपाईंले भर्खरै ‘सामाजिक सञ्जाल दुरुपयोग’ मा योगदान गर्नुभयो।
निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच चुनावी प्रचार–प्रसार, आगामी पाँच वर्षका प्रतिज्ञा र आरोप–प्रत्यारोपको शृङ्खला तीव्र हुनु स्वाभाविक हो। तर, यही सरगर्मीमा मिसिएर आउने गलत सूचना र अफवाहले तपाईं–हामीजस्ता नागरिकको धारणालाई मात्र प्रभावित पार्दैन, यसले समग्र समाजलाई नै अन्योल, अविश्वास र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा निम्त्याउँछ।
नेपाल मिडिया सर्भेका पछिल्ला तथ्याङ्कहरूलाई सरसर्ती हेर्दा एउटा डरलाग्दो चित्र देखिन्छ। हामीमध्ये अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताको मोबाइल स्क्रिनमा दैनिक रूपमा कुनै न कुनै गलत वा भ्रामक सूचना आइरहेको हुन्छ। विडम्बना त के छ भने, हामीमध्ये धेरैलाई आफूले प्राप्त गरेको सूचना साँचो हो कि झूटो भनेर छुट्याउन सक्ने आत्मविश्वास नै छैन वा हामी सक्दैनौँ वा त्यतातर्फ लाग्दैनौँ।
हामी केवल सूचनाका ‘उपभोक्ता’ मात्र बनेका छौँ, ‘सत्यको संवाहक’ होइन। यसको मतलब हाम्रो स्क्रिनमा आउने सबै सूचना, समाचार, भिडियो वा फोटा गलत नै हुन्छन् भन्ने होइन, तर ती सबै पूर्णरूपमा सत्य हुन् भन्ने पनि होइन। सूचनाको यो बाढीमा हामीले प्राप्त गर्ने सूचना, समाचार, भिडियोहरू कतै न कतै तोडमोड गरिएका वा भ्रामक हुने जोखिम छ।
दिउँसोको समयमा म फेरि मोबाइल स्क्रोल गर्न थाल्छु। त्यहाँ एउटा भिडियो देखिन्छ; भिडियोमा एउटा रिपोर्टको पानामा बक्स बनाएर केही लाइन वा अनुच्छेदलाई हाइलाइट गरिएको छ। भिडियोमा बोल्नेले भन्छ: ‘फलानो नेताले फलानो देशको बैंकमा यति पैसा जम्मा गरेको छ। नपत्याए हेर्नुस् यो रिपोर्ट। यो कुरा मैले भनेको होइन, यो रिपोर्टले भन्छ।’
भिडियो हेरेपछि मलाई मनमनै रिस उठ्छ। नेताका प्रति आक्रोश पैदा हुन्छ। यो देश यस्तै नेताका कारण बर्बाद भएको हो भन्ने भाव मनमा आउँछ। भिडियो नै छ त, भिडियोमा पनि रिपोर्ट देखाएर किटान गरेर नै भनेको छ। कसरी यो कुरा झूटो होला भन्ने भाव मनमा आउँछ। मैले आक्रोश र आवेगमा त्यो भिडियोमा नेगेटिभ रियाक्ट गर्छु। अनि कमेन्टमा नराम्रो गाली पनि गर्छु।
यहाँ न त मैले त्यो भिडियोमा भएको रिपोर्ट खोजी गरी पढ्ने प्रयास गरेँ, न त साँच्चै नै ती नेताले विदेशी बैंकमा पैसा राखेका हुन् त भनेर अर्को स्रोत भेरिफाई गरेँ। यस्तो अवस्थामा मैले हेरेको भिडियोमा भएका सामग्री सही हुन् कि गलत हुन् भनेर छुट्याउनतर्फ म लागिनँ। प्रथम दृष्टिमा मलाई जे लाग्यो म त्यसैका आधारमा धारणा बनाएँ र प्रतिक्रिया दिएँ।
निर्वाचनका बेला यस्ता डिजिटल हतियारहरू मतदातालाई भ्रमित गर्नका लागि प्रयोग भइरहेका हुन्छन्। एउटा सानो पुरानो भिडियोको टुक्रा काटेर अहिलेको सन्दर्भमा जोडिन्छ र एउटा नयाँ ‘झूटो कथा’ निर्माण गरिन्छ। यसको उद्देश्य तपाईंलाई सुसूचित गर्नु होइन, तपाईंको मनमा आक्रोश, रिस, डर वा घृणा पैदा गर्नु हो। यसबारे तपाईं कत्तिको सचेत हुनुहुन्छ? हामी ‘भिडियो छ त’ भन्दै जुनसुकै कुरामा सजिलै विश्वास गर्यौँ भने त्यसले हाम्रो विवेकलाई बन्धक बनाई डिजिटल चक्रव्यूहमा पुर्याइदिन्छ। निर्वाचन जस्तो संवेदनशील समयमा यस्तो भ्रमले मतदाताको धारणा मात्र होइन, सामाजिक सद्भाव र शान्ति सुरक्षालाई समेत गम्भीर रूपमा प्रभावित पार्न सक्छ।
तपाईंलाई आफूले सचेत नागरिकको कर्तव्य पालना गरेको लाग्ला। तर यहाँ नियतले ठूलो काम गर्छ। समाजमा गलत सूचना दुई तरिकाले फैलिरहेका छन्। एकथरीले अज्ञानताको कारण सूचनाको सत्यतथ्य थाहा नपाइकन वा नबुझीकन नै गलत सूचना फैलाइरहेका छन्, जसलाई ‘मिसइन्फर्मेसन’ भनिन्छ। तर अर्काथरीले भने निश्चित राजनीतिक स्वार्थ वा आर्थिक फाइदाका लागि जानीजानी गलत सूचना फैलाइरहेका छन्, जसलाई ‘डिसइन्फर्मेसन’ भनिन्छ। समाजका लागि यी दुवै हानिकारक छन्।
जानेर वा नजानेर गलत सूचना फैलाउने छुट कसैलाई पनि छैन। निर्वाचनको समयमा विपक्षीलाई बदनाम गर्न, विपक्षीका बारेमा अफवाह फैलाउन, मतदातालाई भ्रममा पार्न वा चुनावी वातावरण वा नतिजामाथि अविश्वास बढाउन यस्ता ‘डिसइन्फर्मेसन’ अभियानहरू चलाइन्छन्। यसका साथै, धेरै लाइक, सेयर र भ्युज पाएर आर्थिक लाभ लिनका लागि पनि सनसनीपूर्ण झूठा खबरहरू फैलाउने एउटा ठूलो ‘फेक न्युज इकोनोमी’ सक्रिय भएको हुन्छ।
साँझ पर्दै जान्छ। घरपुगेपछि मेरो हात फेरि मोबाइलमै जान्छ। फेसबुक खोल्छु। मेरो मोबाइलको स्क्रिनमा एउटै पार्टी वा उम्मेदवारका पक्षमा मात्र सामग्रीहरू आउन थाल्छन्। युट्युबतिर आँखा डुलाउँछु। युट्युबमा पनि त्यही पार्टी वा उम्मेदवारका बारेमा मात्र सामग्रीहरू देख्छु। मलाई लाग्छ, ‘ओहो! देशैभरि माहोल त यिनकै रहेछ, सबैले यिनलाई नै रुचाएका रहेछन् !’
तर मलाई यो थाहा छैन कि म सामाजिक सञ्जालको एउटा अदृश्य ‘अल्गोरिदम’ को चक्रव्यूहमा परिसकेको छु। तपाईंले याद गर्नुभएको छ ? यदि तपाईंले एउटा पार्टी वा उम्मेदवारको समर्थनमा रहेका भिडियोहरू धेरै हेर्न थाल्नुभयो भने तपाईंको फेसबुक वा युट्युबको ‘फिड’ भरि त्यस्तै सामग्री मात्र आउन थाल्छन्। यसलाई सामाजिक सञ्जालको ‘अल्गोरिदम’ भनिन्छ।
सामाजिक सञ्जालका मेसिनहरूले मैले गरेका हरेक ‘लाइक’, ‘सेयर’ र ‘भ्युज’ को अध्ययन गरिरहेका हुन्छन्। उनीहरूले मलाई त्यही कुरा मात्र देखाउँछन् जुन मैले हेर्छु र मलाई मन पर्छ। सामाजिक सञ्जालले सूचनाको एउटा यस्तो चक्रव्यूह सिर्जना गरिदिन्छ कि मलाई पत्तै नपाउने गरी सीमित सूचनाको घेराभित्र कैद गरिसकेको हुन्छ। अब म आफ्नो मोबाइल स्क्रिनमा आउने वा देखिने भिडियो/जानकारी/सूचनाबाहेक अरू केही पनि थाहा नपाउने अवस्थामा पुगिसकेको हुन्छु। मलाई मेरो स्क्रिनमा आउने सामग्री नै संसार हो जस्तो लाग्छ। बाहिरको संसार मलाई झूटो लाग्छ। म फरक विचार वा तथ्य देख्नै पाउँदिनँ। मलाई लाग्छ ‘सबैको धारणा यही हो’। जब कोही साथीले फरक तथ्य प्रस्तुत गर्छ, म ऊमाथि शंका गर्न थाल्छु, रिसाउन थाल्छु र उसलाई ‘अनफ्रेन्ड’ गरिदिन्छु। यसरी म नजानिँदो ढङ्गले समाजबाट एक्लिँदै र सत्यभन्दा धेरै टाढा पुग्छु। कतै तपाईं पनि सामाजिक सञ्जालको अल्गोरिदमका कारण सत्यभन्दा धेरै टाढा पुगिसक्नु भएको त छैन ?
तसर्थ हामीले सामाजिक सञ्जालमा आउने भ्रामक सूचना वा ‘एआई’ ले बनाएका भिडियोका आधारमा मात्र धारणा बनायौँ भने सही छनोटसम्म नपुग्न पनि सक्छौँ। एउटा सचेत मतदाताले उम्मेदवार छान्दा केही आधारभूत प्रश्नहरूबारे सोच्नै पर्छ, थाहा नभए अरूलाई सोध्नै पर्छ। जस्तै: उम्मेदवारको वास्तविक क्षमता कति छ ? उम्मेदवारको समाजप्रतिको जिम्मेवारी, उम्मेदवारका यसअघिका अभिव्यक्ति, आपराधिक क्रियाकलापमा संलग्न भएको वा नभएको, नैतिक आचरण कस्तो छ ? संसद् भनेको कानुन बनाउने थलो हो; के उम्मेदवारसँग कानुन बनाउने ठाउँमा पुग्दा चाहिने आवश्यक ज्ञान, सीप र अनुभव छ ? उम्मेदवारको विगतको पृष्ठभूमि र समाजमा पुर्याएको योगदान के छ ? यी कुराहरू हेरेर मात्र उम्मेदवार छान्दा ठीक उम्मेदवार ठीक ठाउँमा पुग्न सक्छन्। अन्यथा, सामाजिक सञ्जालको भ्रममा परेर गलत निर्णय लिइयो भने अवस्था झन् खराब हुन सक्छ । को राम्रो भनेर छुट्याउन पाउने अन्तिम अधिकार र जिम्मेवारी तपाईंकै हो ।
नेपालको सन्दर्भमा डिजिटल साक्षरताको अभावले गर्दा गलत सूचना फैलाउन झनै सजिलो भएको छ । विशेष गरी जोसँग सूचनाका सीमित स्रोतहरू छन्, र एउटै स्रोतमा मात्रै भर पर्छन्, उनीहरू ‘पहिलो सूचना’ लाई नै विश्वास गरेर धारणा बनाउने सम्भावना बढी हुन्छ। उनीहरूलाई आफूले प्राप्त गरेको सूचना गलत हुन सक्छ भन्ने कुराको जानकारी नै हुँदैन।
अब प्रश्न उठ्छ: सूचनाको यो विशाल बाढीमा कुन सूचना सत्य हो र कुन सूचना गलत हो भन्ने कसरी थाहा पाउने ? त्यसका लागि हामीले सूचना ग्रहण गर्ने हाम्रो आनीबानी नै परिवर्तन गर्नुपर्छ। कुनै पनि सामग्री देख्ने बित्तिकै पत्याउनुअघि आफूले आफैँलाई केही प्रश्न सोध्नुपर्छ। जस्तै: यो सूचना वा भिडियो कसले बनाएको हो ? यसको मूल स्रोत कहाँ छ? यो भिडियो वा फोटो कति पुरानो हो? के यो अहिलेकै सन्दर्भको हो वा पुरानो घटनालाई नयाँ भनिएको छ ? के अन्य विश्वसनीय र स्थापित मिडियाले पनि यो कुरा भनेका छन् ? यदि यी प्रश्नको चित्तबुझ्दो जवाफ पाउनुभयो भने मात्र ती सूचनाहरू सत्य हुन् । अन्यथा कसैले जानीजानी वा अन्जानवश फैलाएका मिथ्या सूचना हुन सक्छन्। हामीले चिनेको वा विश्वास गरेको व्यक्तिले सेयर गर्दैमा सबै सूचना वा समाचार सत्य नहुन पनि सक्छ, किनकि उनले पनि समाचार वा सूचना नबुझी सेयर गरेको हुन सक्छ। त्यसैले, कुनै पनि सामग्रीमा लाइक, कमेन्ट वा सेयर गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्नु नागरिकको जिम्मेवारी हो।
नेपाल मिडिया सर्भे २०२४ का अनुसार नेपालमा अत्यन्त थोरै मानिसले मात्र सूचनाको ‘फ्याक्ट चेक’ वा सत्यापन गर्छन्। आफूले प्राप्त गरेको सूचना वा समाचार झूटो हो भन्ने थाहा पाएपछि पनि निकै थोरै मानिसले मात्र सूचना गलत हो भनेर साथी तथा परिवारका सदस्यलाई भन्छन् र त्यसलाई सच्याउनका लागि सम्बन्धित ठाउँमा रिपोर्ट गर्छन् । अर्थात् गलत सूचना हो भन्ने थाहा पाएर पनि हामी चुपचाप बस्छौँ । गलत सूचनाबाट जोगिन, जोगाउन वा रोक्नका लागि कुनै कदम चाल्दैनौँ । हाम्रो यस्तै उदासीनताका कारण गलत सूचना फैलाउनेहरूलाई बल पुगिरहेको छ ।
निर्वाचन लोकतन्त्रको सुन्दर उत्सव हो, जहाँ हामी प्रत्येकको एउटा भोटले देशको भविष्य निर्धारण गर्छ। तर गलत र आपराधिक नियत भएका र डिजिटल साक्षरता नभएका मानिसहरूका कारण सामाजिक सञ्जालको दुरुपयोग हुन गई यो उत्सवलाई विषाक्त बनाउने र हाम्रो विवेकलाई भ्रमित पार्ने ठूलो जोखिम पनि उत्तिकै छ । प्रविधि आफैँमा खराब होइन, तर यसको प्रयोग कसरी गर्ने भन्ने कुरा हाम्रो डिजिटल व्यवहारमा भर पर्छ । प्रविधिलाई नागरिक सचेतना र सुसूचित निर्णयका लागि प्रयोग गर्ने कि यसको दुरुपयोगलाई सामान्य ठान्दै लोकतन्त्रको जग कमजोर पार्ने ? निर्णय तपाईंकै हातमा छ।
निर्वाचनका बेला मिडियाको भूमिका केवल खबर दिनु मात्र होइन, समाजलाई सही सूचनाबाट सुसूचित बनाउनु पनि हो। सनसनीपूर्ण शीर्षक राखेर भ्युज बटुल्ने होडबाजीले गलत सूचनालाई झनै प्रश्रय दिन्छ। सञ्चारमाध्यमहरूले ब्रेकिङ न्युजको पछाडि दौडनुभन्दा तथ्य जाँचलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ। निर्वाचन आयोगले आधिकारिक सूचनाहरू छिटो र सुलभ रूपमा उपलब्ध गराउनुपर्छ ताकि गलत सूचनाले नागरिकलाई भ्रमित पार्न नपाओस्।
भोलि बिहान उठ्दा तपाईंको हातमा त्यही मोबाइल हुनेछ। फेरि त्यस्तै सनसनीपूर्ण समाचारहरू तपाईंको स्क्रिनमा देखिनेछन्। तर अब तपाईंको औँलाले ‘सेयर’ बटन थिच्नुअघि तपाईंको मस्तिष्कले प्रश्न गरोस्: ‘के यो सत्य हो?’ निर्वाचन नजिकिँदै गर्दा राज्य, मिडिया र नागरिक सबैले एउटा सङ्कल्प गरौँ– गलत र भ्रामक सूचनालाई स्थान नदिने, सत्यलाई प्राथमिकता दिने र जिम्मेवार डिजिटल व्यवहारलाई आफ्नो संस्कार बनाउने। निर्वाचनलाई सत्य, विवेक र सुसूचित निर्णयको उत्सव बनाऔँ ।
प्रतिक्रिया 4