+
+
Shares

६७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

प्रतिनिधिसभाको निर्वाचनका लागि अहिलेसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १७:५२

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि अहिलेसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

फागुन २१ को निर्वाचनका लागि देशभर ३ हजार ४०६ उम्मेदवार छन् । उनीहरूमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उम्मेदवारको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरिसकेको छ ।

हाल देशभर राजनीतिक दल र उम्मेदवारले बैंक खाता खोल्ने प्रक्रियाअघि बढाइएको छ । उम्मेदवारलाई खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने प्रवक्ता भट्टराईले बताए ।

उनकाअनुसार, खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल पनि गरेको थियो । बैंक तथा वित्तीय संस्थाले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ ।

उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिनलगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?