+
+
Shares
स्थलगत : धनुषा-४ :

नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती

‘हामरा दुनु परानीके नागरिकता नैहै, बेटाबेटीके कना बन्तै ? मुसहर बस्तीकी ललिता सदा आफ्ना पाँच छोराछोरीतर्फ इंगित गर्दै भन्छिन्, ‘हामी बुढाबुढीकै नागरिकता छैन, यिनीहरुको कसरी जन्मदर्ता बनोस् ?’

दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो
२०८२ फागुन ५ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा–४ मा करिब २६ मुसहर परिवारहरू नागरिकता र जग्गा बिना भौतिक र सामाजिक समस्यामा जीवन बिताइरहेका छन्।
  • चुनावका बेला मात्र नेताहरू बस्तीमा भोट माग्न आउँछन्, तर समस्याहरू सम्बोधन गर्दैनन्।
  • धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् ।

५ फागुन, बटेश्वर (धनुषा) । झगरु सदा (४५) ओछ्यानमा सुत्दा आकाशका जून–तारा छर्लङ्ग देखिन्छन् । खरले छाएको झुपडीको छानो पनि आधा  भत्किइसकेको छ । त्यो बढ्दो छ ।

जाडोमा त्यो नाङ्गो आकाशबाट चुहिने शीत छल्न आफूले ओढेको बर्को तान्नु नै झगरुका लागि सबैभन्दा सजिलो उपाय हो । आधा च्यातिएको फुसको छानो टाल्नु उनका लागि त्यो भन्दा कठिन हो ।

झगरु र ललिता सदाका लागि अबका केही महिना भने अलि सजिलो हुनेछ, किनभने मधेशमा गर्मी बढ्न लागेको छ । र, गर्मीको बेलामा आधा च्यातिएको छानाले जाडोमा झैं पिरोल्दैन । तर चैत वैशाखमा आउने हुरीले बाँकी छानो उडाएन भने बर्खा लाग्दासम्म उनको बास हुन्छ । यदि त्यो बेलासम्म छानो लगाउन सकेनन् भने बर्खामा ‌ओत लाग्दै ठाउँ पनि  हुनेछैन ।

‘बिहान–बेलुकी ज्यालामजदुरी नगरी खान पुग्दैन, त्यसबाट आएको पैसाले दैनिक छाक टार्न पनि गार्‍हो छ कसरी घर बनाउनु ?’ सोमबार अपराह्न अनलाइनखबरकर्मी बस्तीमा पुग्दा झगरुले भने, ‘सकेको भए यस्तो घरमा बसिरहन मन थियो र ?’

झगरु सानै हुँदा उनका बाबु असर्फी र आमा पञ्ची सदा बिते । उनका भाइ जितेन्द्र पनि सानैमा बिते । झगरुको बुझाइमा उनीहरू तिनैजना ‘रोग, भोक र शोक’ले बितेका हुन् ।

झगरु र ललिताका पाँच सन्तान छन् । जेठो छोरा काम खोज्दै भारतको मद्रास गएका छन्, अरु चारजना उनकै काखमा छन् । आफूहरू र सन्तानका लागि आमने सामने फर्केका दुई झुप्रा छन् । छेवैमा भान्सा बनाइएको अर्को सानो टहरो छ अनि तीन टहराको बिचमा आँगनजस्तो भागमा सानो माटाको चुल्हो छ ।

उनीहरूको टहरामा ढोका छैन, बाँसको फट्टक बनाएका छन् । छेवैमा च्यातिन लागेको सानो प्लाइउडको टुक्रा भुइँमा थियो, जुन अर्को टहराको ढोका लगाउन काम लाग्थ्यो । तर तल ढोका लगाएर के गर्नु माथि छानो करिब ह्वाङ्गै हुन लागेको छ ।

झगरु र ललिता सदाको परिवार

झगरु र ललिताका चार सन्तान जतिबेला पनि बस्तीमै खेलिरहेका भेटिन्छन्, स्कूल जाँदैनन् ।

‘हाम्रो नागरिकता छैन, बच्चाहरूको जन्मदर्ता छैन, अहिलेसम्म खेलेर बसेका छन्’ ललिता सदा भन्छिन्, ‘हामरा दुनु परानीके नागरिकता नैहै, बेटाबेटीके कना बन्तै ? (हामी बुढाबुढीकै नागरिकता छैन, यिनीहरुको कसरी जन्मदर्ता बनोस् ?)’

****

धनुषा बटेश्वरको शान्तिपुर टोलमा भर्खरै बनेको पक्की पुल  छ । त्यसको छेवैमा राति उज्यालो छर्ने ‘फ्लड लाइट’ भएको पोल भर्खरै गाडिएको छ । त्यही पोल छेवैको सानो बाटोबाट भित्र छिरेपछि लोकतन्त्रको उज्यालो देख्न नपाएको मुसहर बस्तीमा पुगिन्छ । जहाँ, करिब २६ परिवारले एकैसाथ उस्तैउस्तै खालका दुःख र कष्टहरु भोगिरहेका छन् ।

 

त्यही बस्तीमा कसैको पनि लालपूर्जा छैन । सामुदायिक स्कूलको जग्गामा उनीहरू वर्षौंदेखि बसिरहेका छन् ।

केही सीमित व्यक्तिहरूको मात्रै नागरिकता बनेको छ । तिनै मतदाताहरूको भोटको लोभमा नेताहरू प्रत्येक चुनावका बेलामा बस्तीमा छिर्छन् ।

त्यही भेटिएकी तुल्फीदेवी सदा सम्धिनीको घरमा पाहुना भएर पुगेकी रहिछन् । मुसहर बस्ती र चुनावको प्रसंग उठ्नासाथ उनले आक्रोश पोख्न थालिन् ।

‘यहाँ नेताहरु आएको थियो, भोट माग्यो, जित्यो र गयो, त्यसपछि आएन’ उनले मैथिली लबजमा आक्रोश पोख्दै भनिन्, ‘जितेपछि सरकारी पैसा ल्याउँदो रहेछ, खायो अनि बस्यो । दलितलाई कसले हेर्छ ? यहाँ कसैले हेर्दैन, आफ्नो पोको पार्‍यो, भयो ।’

तुल्फीदेवी सदा

त्यही बस्तीमा भेटिएका सागर सदा नजिकैको श्रीकाली जनज्योति माविमा ९ कक्षासम्म पढेका छन्, जो प्राय: भारतमा बस्छन् । अहिले भने उनी छुट्टीका बेलामा गाउँ पुगेका थिए । उनले मुसहर बस्तीका बासिन्दाहरूलाई श्रम गरेर आधारभूत जीवनयापन गर्न पनि कठिनाइ भइरहेको बताए ।

‘यहाँका मानिसहरू कि भारत गएर काम गर्छन्, कि अरुको खेतबारीमा काम गर्छन्,’ उनले भने, ‘यहाँको अवस्था सधैं यस्तै हो । नेताहरू चुनावको बेलामा मात्रै भोट माग्न आउँछन् । अरुबेला कसैलाई मतलब हुँदैन ।’

मुसहर समुदाय प्रायः भूमिहीन

मुसहर मधेशका दलित समुदाय हुन् । तराईका आठ जिल्लामा रहेका मुसहर समुदाय प्रायः भूमिहीन छन् । उनीहरू कृषि मजदुरीमै ज्यादा संलग्न हुने गरेको पछिल्लो समय भारतका शहरहरूमा जाने गरेका छन्, पछिल्ला वर्षहरूमा नगन्य संख्यामा बैदेशिक रोजगारीमा जान थालेका छन् ।

उनीहरू प्रायः अरुको जग्गा वा सार्वजनिक ठाउँमा छाप्रो बनाएर बसेका छन् । जग्गाको लालपूर्जा नभएका कारण नागरिकताको प्रमाणपत्र नभएका र बच्चाको जन्मदर्ता समेत बनाउन सकेका छैनन् ।

****

राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंले २०७८ सालमा जनगणनाको विवरण सार्वजनिक गर्दा ‘निर्वाचन क्षेत्र अनुसार जनसांख्यिक प्रतिवेदन’ पनि सार्वजनिक गरेको थियो । त्यो प्रतिवेदन अनुसार, धनुषा–४ मा करिव १५ प्रतिशत जनसंख्या मधेशी दलितहरूको छ, उनीहरूका लागि आधारभूत सुविधा नै जिन्दगीको ठूलो सपना हुने गरेको छ ।

धनुषा–४ का कुल मतदाता करिव एक लाख २८ हजार छन् । जनगणनाको आँकडालाई आधार मान्दा करिब २० हजार मतदाताहरू मधेशी दलित समुदायका छन् ।

अघिल्लोपटक करिब डेढ सयभन्दा कम मतले हारजित भएको यो क्षेत्रमा मधेशी दलित समुदायको मतलाई उम्मेदवारहरूले अनेक आश्वासन र प्रलोभनबाट आकर्षित गर्न खोज्ने कतिपय स्थानीयहरूको अनुभव छ । मुसहर बस्ती छिरेका बेला पल्लो गाउँबाट आएकी एक स्थानीय बृद्धाले सुनाइन्, ‘यिनीहरूको गरिबीमा नेताहरूले फाइदा उठाउँछन् । केही पैसामा भोट लिएर जान्छन् । यसपालि पनि अब नेताहरू आउने बेला भइसकेको छ ।‘

****

त्यो बस्ती पार गरेर औरही खोला तरेपछि क्षिरेश्वरनाथ नगरपालिका–३ पकरियामा पुगिन्छ । पकरियाका करिब ७० परिवार मुसहर बस्ती छ । बस्तीको मुखैमा सरितादेवी सदा खिन्न र उदास भएर बसिरहेकी थिइन् ।

पक्षघातबाट पीडित उनका ससुराको २० दिनअघि निधन भएको रहेछ । त्यसको चार दिनपछि उनकी बुढीसासू पनि बितिन् । उनका श्रीमान सुन्दर सदाले ज्याला मजदुरी गरिरहेका छन् । घरमा रहेका आठ जनाको परिवार पाल्नु चानचुने कुरा होइन ।

खरले छाएको उनको जीर्ण फुसको पुरानो घरको छानो फाटेको  छ । बिरामी ससुराको उपचार गर्दा ऋण खोज्नुपर्‍यो । आफैं सुकुमवासी, त्यसमाथि ऋण । पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।

काखे बच्चा खेलाइरहेकी सरितादेवीले अर्को वर्ष खेप्नुपर्ने कष्ट देखिसकेकी छन् । उनी भन्छिन्, ‘अर्को वर्षायाममा घर मर्मत गर्न सकिँदैन । छिमेकीको सहयोग बाहेक अरु उपाय छैन ।’

उनकै छिमेकी रहेकी ५५ वर्षीया सबुर सदा पाँच वर्षदेखि पक्षघातबाट पीडित छन् । उनको नागरिकता छैन, नागरिकता नभएकाले सरकारी अस्पतालमा उपचार गराउन पनि पाएकी छैनन् ।

नागरिकता नबनेकाले अपांग भत्ताको झनै के कुरा गर्नु ? नागरिकताका लागि चाहिने कागजात खोज्दाखोज्दै उनलाई एकाएक पक्षघात भएको थियो । पक्षघात भएपछि उनको नागरिकता बनाउने सपना समेत थलिएको छ ।

धनुषा क्षेत्र नम्बर–४ को करिब चार किलोमिटरको दूरीमा रहेका यी दुई मुसहर बस्तीमा कयौं कुराहरू समान छन् । दुवै बस्तीमा बनेका शौचालयहरू प्रयोगविहीन थिए । शान्तिपुर मुसहर बस्तीमा दुई कोठे शौचालय बन्दाबन्दै अलपत्र छ । ढोका नहालेकाले त्यहाँ कोही पनि जादैनन् ।

अर्को पकडिया बस्तीका कयौं घरका अगाडि प्यान हालेका शौचालय अलपत्र छाडिएका छन् । माथिपट्टि न गारो छ न कसैले खम्बा गाडेर छेकबार लगाइदिएका छन् । त्यहाँ पनि शौचालयका प्यानमा माटो भरिएको देखिन्थ्यो ।

दुई मुसहर बस्तीको फुसले छाएका र झारपातमा माटो पोतेर बारेका कयौं गाह्राहरू भत्किएका थिए । बस्तीका बालबालिकाहरु खालीखुट्टा फोहोरमा खेलिरहेका थिए, झिंगा भन्किरहेका थिए । स्कूल जाने बालबालिकाहरू औंलामा गन्न सकिन्छ । उनीहरूले पाँच कक्षा पास गर्नु त निकै ठूलो कुरा हुने भयो ।

पकडियाका रामलोचन साह, मुसहर बस्तीको मुखमा रहेको घुम्ती पसलमा गफ गरेर बसिरहेका थिए ।

खेतमा सिंचाइ गर्न घर नजिकैको घुम्तीमा बसिरहेका मुसहरहरूको प्रसंग उठ्नासाथ भने, ‘उनीहरुसँग न जग्गा छ, न जमीन । यिनीहरुसँग समस्यै समस्या बाहेक के छ र ?’

उनका अनुसार, करिब ३० वर्षअघि नजिकैको औरही खोलामा बाढी आएपछि मुसहरहरू विस्थापित भएका थिए ।

पकडियाका रामलोचन साह

रामलोचनका अनुसार, जिम्दार ‘राजा तर्कबहादुर’ले आफ्नो जग्गा प्रयोग गर्न दिएर उनीहरुलाई गुन गरेका रहेछन् । तिनै ‘तर्कबहादुर शाह’का सन्तानले बेवास्ता गरेकाले मुसहरहरू अर्कैको जग्गामा ढुक्कैले बसेका थिए ।

‘यहाँका नेताहरूका लागि मुसहरबस्ती भोट बैंक बाहेक केही होइन’ उनी भन्छन्, ‘चुनाव आएपछि नेताहरू पछिपछि भोट माग्न आउँछन्, जान्छन् । अर्को चुनाव नआउँदासम्म फर्किन्नन् ।’

****

मधेश प्रदेशको राजधानी जनकपुर नजिकैका यी र यस्तै गाउँका समस्या सम्बोधन गर्ने प्रतिबद्धता गर्दै संघ, प्रदेशदेखि स्थानीय तहसम्मका अनेक चुनावमा थरी-थरी उम्मेदवार झुपडीको आँगनमा पुग्ने गर्छन् । तर उनीहरूले चुनाव जितेर गएपछि यी बस्तीको अन्धकारप्रति फर्किएका छैनन् । काठमाडौं र जनकपुर राजधानीको सत्ता खिचातानीबाट फुर्सद निकालेर बेलाबखत यी बस्तीहरूमा छिरेको भए पक्कै पनि अहिलेको दृश्य देखिन्थ्यो होला ।

विनोद सदा

विगतमा जस्तै यसपालि पनि धनुषाका समस्या सम्बोधन गर्ने प्रतिबद्धताकासाथ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

एमालेका उपमहासचिव एवं यसअघि पटकपटक मन्त्री भइसकेका रघुवीर महासेठ धनुषा–४ का एक उम्मेदवार हुन् । यसअघि लगातार दुई चुनाव जितेका उनी यसपालि तेस्रो जित हासिल गर्ने दौडधुपमा छन् ।

दुईपटकको प्रतिस्पर्धामा निर्वाचित हुन नसकेका कांग्रेसका महेन्द्र पनि यादव निर्वाचित हुने प्रयासमा छन् ।

यसअघि दुई दल बदलेर राजकिशोर महतो रास्वपाबाट उम्मेदवार बनेका छन् । नेकपाका सञ्जय कुमार महतो र जसपा नेपालका कृष्णचन्द्र प्रसाद साह अर्का उम्मेदवार हुन् । धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् ।

यी सबैजसो उम्मेदवारका लागि चुनाव जित्न यी र यस्ता बस्तीका नागरिक भोट बैंक हुन् । जसलाई चुनावका बेला मात्र प्रयोग गर्छन् । ‘चुनावका बेला आउँछन्, पैसा दिएर फकाउँछन् जान्छन्’ रामलोचन साह दिक्दारी पोख्छन् ।

फोटो/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?