+
+
Shares

त्यो रङ, जुन केही महिलाको आँखाले मात्र देख्न सक्छ

केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ । उनीहरूको आँखामा आम मानिसको भन्दा थप एउटा अर्थात चौथो कोन सेल पनि हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केही महिलाले १० करोड थरी रङ छुट्याएर देख्न सक्ने दुर्लभ दृष्टि क्षमता टेट्राक्रोमेसी हुन्छ।

के तपाईंलाई थाहा छ संसारमा केही महिलाहरू यस्ता हुन्छन् जसले १० करोड थरी रङ छुट्याएर देख्न सक्छन् । जबकि साधारण मानिसले चाहिँ करिब १० लाख रङ मात्र देख्न सक्छ ।

यो कुनै चमत्कार होइन, बरु विज्ञानले प्रमाणित गरेको दुर्लभ दृष्टि क्षमता हो, जसलाई टेट्राक्रोमेसी भनिन्छ । यस क्षमताका कारण केही महिलाले पुरुषहरूले नदेख्ने सुक्ष्म रङगको अन्तरसमेत देख्न सक्छन्।

साधारण मानव दृष्टिः ट्राइक्रोमेसी

मानव आँखामा रङ चिन्नका लागि तीन प्रकारका कोन सेल हुन्छन्- रातो, हरियो र नीलो । यी तीनवटै कोन सेलको संयोजनबाट हामी लाखौँ प्रकारका रङ पहिचान गर्न सक्षम हुन्छौँ । यस अवस्थालाई ट्राइक्रोमेसी भनिन्छ । अधिकांश मानिस (पुरुष तथा महिला दुवै) यही श्रेणीमा पर्छन् । यसको अर्थ हामी आम मानिसको दृष्टिले देख्ने रङको संसार यही सीमाभित्र कैद हुन्छ । तर केही मानिसको दृष्टि क्षमता चाहिँ अद्वितीय हुन्छ ।

टेट्राक्रोमेसी : करौडौँ रङ देख्ने अनौठो क्षमता

केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ । उनीहरूको आँखामा आम मानिसको भन्दा थप एउटा अर्थात चौथो कोन सेल पनि हुन्छ । सोही अतिरिक्त कोन सेलका कारण उनीहरूले रङका अत्यन्तै सूक्ष्म प्रकार पनि छुट्याउन सक्छन् । हल्का र गाढा गुलाबीबीचको सानो अन्तर होस् वा एउटै हरियो रङ भित्रका हजारौँ तहहरू किन नहोउन् । ती मानिसहरूको आँखाले प्रष्ट अन्तर देख्दछ । विज्ञानको भाषामा चाहिँ यो नयाँ रङ देख्ने नभई एउटै रङभित्रको गहिरो विविधता देख्ने क्षमता हो।

किन महिलामै बढी देखिन्छ यस्तो क्षमता ?

टेट्राक्रोमेसीको मुख्य कारण जेनेटिक संरचना हो । रातो र हरियो रङसँग सम्बन्धित जीन एक्स क्रोमोजोममा हुन्छन् । महिलासँग दुईवटा एक्स क्रोमोजोम हुने भएकाले यदि दुवैमा अलि फरक जीन भए भने चौथो कोन सेल विकसित हुन सक्छ । पुरुषसँग भने एउटा मात्र एक्स क्रोमोजोम हुने भएकाले उनीहरूमा यस्तो दृष्टि क्षमता प्राप्त हुने सम्भावना अत्यन्तै न्यून हुन्छ ।

वैज्ञानिक अनुमानअनुसार २/३ प्रतिशत महिलामा यसको जेनेटिक सम्भावना भए तापनि व्यवहारमा यसलाई पूर्ण रूपमा प्रयोग गर्न सक्ने महिलाहरू निकै कम छन् । कलाकारिता, डिजाइन र पेन्टिङजस्ता क्षेत्रमा यस्ता महिलाको दृष्टि असाधारण रूपमा प्रभावशाली देखिन्छ ।

चरामा समेत हुने क्षमता

करोडौँ रङ पहिचान गर्ने यस्तो क्षमता केवल मानिसमा मात्र सीमित छैन । धेरै पक्षीहरू टेट्राक्रोम्याट हुन्छन् । अर्थात उनीहरूमा झनै विकसित दृष्टि प्रणाली रहेको हुन्छ । त्यसैले चराहरूले परावैजनी प्रकाश समेत देख्न सक्छन् ।

जीवहरूको विकासक्रमको कुरा गर्दा पुराना स्तनधारी जनावरमा केवल दुईवटा मात्र कोन सेल थिए । पछि बाँदर प्रजाती अर्थात् प्राइमेट्समा तेस्रो कोन सेल विकसित भयो। यसले फलफूल छुट्याउन सहयोग गर्‍यो । मानव टेट्राक्रोमेसी चाहिँ त्यही पुरानो दृष्टि प्रणालीको दुर्लभ पुनरावृत्ति मानिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?