९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’
अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी हटाएको ओलीले दाबी गरे । ‘डेढ अर्ब जनसंख्यालाई गरिबीबाट हटाएको छ । अहिले गर्वसँग गरिबी निवारण गरेको भन्छ । चीनसँग पैसा भएर गरिबी हटाएको हो र ?,’ उनले भने ।
त्यस कारण आफूले म बनाउँछु मेरो देश भन्ने नारा दिएको उनले बताए । उनले भने, ‘अब सिंगो देशले भन्नुपर्छ म बनाउँछु मेरो देश । अब यो मेरो मात्र नारा होइन ।’
देश नेपालीकै संकल्पले बन्ने उनले बताए । ‘यो देश हाम्रो संकल्पले बन्ने हो, पैसाले हुन्न । गर्छु, म सक्छु भनेर हिम्मत गरेपछि सकिन्छ,’ उनले भने । दुई वर्षभित्र मेचीदेखि महाकालीसम्म मदन भण्डारी राजमार्ग बनाउन सकिएको उनले दाबी गरे ।
‘केही वर्षभित्र नेपाललाई सडकमय बनाउन सकिँदो रहेछ । खेतहरूमा सिँचाइ पुर्याउन सकिँदो रहेछ । हामीले पुर्याएका छौँ,’ ओलीले भने । गफ गरेर पनि देश नबन्ने उनले बताए । उनले अगाडि भने, ‘देश बनाउन कङ्क्रिट योजना चाहिन्छ ।’
प्रतिक्रिया 4