+
+
Shares

गौरमा आज बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते ६:३५

१० फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन् ।

अत्यावश्यक कार्यका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म भने कर्फ्यु केही खुकुलो पारिएको छ । साढे ८ बजेपछि भने फेरि अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ ।

फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।

विवाद गौरका अन्य वडाहरूसम्म विस्तार भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरदेखि अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेका थिए । पछि प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरी स्थिति साम्य पारेको थियो ।

कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?