+
+
Shares

पापाराजीको घेराबन्दीमा फिल्ममेकर्स, पैसा नदिए फिल्मको गलत प्रचार

फिल्मको गलत प्रचार रोक्नकै लागि लाखौं खर्च गर्नुपर्ने बाध्यता दुःखलाग्दो भएको निर्माताहरूको गुनासो छ ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ फागुन ११ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म प्रदर्शनका क्रममा निर्देशकले फिल्मको प्रचारका लागि खामबन्दी पैसा जगेडा गर्नुपर्ने र नदिए झुर प्रचार हुने गुनासो गरे।

फिल्म प्रदर्शनका क्रममा एक निर्देशक भन्दै थिए, ‘फिल्म राम्रो बनाएर मात्र हुँदैन । खासमा त एउटा ठूलो झुन्डको चित्त बुझाउनुपर्ने रहेछ ।’

त्यो झुन्डलाई ‘चित्त बुझाउन’ खामबन्दी पैसा जगेडा गर्नुपर्ने उनको दुखेसो थियो । ‘५० जनालाई दिइयो’ उनले सुनाए ‘अझै त्यति नै जनालाई दिन बाँकी छ भन्दै पैसा मागिएको छ ।’

सो पैसा ‘फिल्म प्रमोशनका लागि’ भनेर छुट्याइने गरिएको उनले बताए । ‘पैसा पाएनन् भने फिल्म झुर छ भनी प्रचार गर्न थाल्छन्’ उनी सुनाउँछन् । पैसा नपाएमा ती व्यक्तिले हलमा आफ्नै मान्छे पठाएर झुर छ भन्न लगाउने र त्यसैको भिडियो खिचेर राख्ने गरेको आरोप ती निर्देशकको छ ।

‘प्रदर्शनको सुरुवाती चरणमा कुनैपनि फिल्मले राम्रो प्रतिक्रिया पाएन भने दर्शक हलसम्म आउँदैनन् । यसरी माहौल बिगार्लान् भन्ने चिन्ताले पैसा खर्च गर्न बाध्य हुनु परेको गुनासो उनले गरे ।

ती निर्देशका अनुसार फिल्मको ‘प्रचार’ भनी छुट्याएको रकम खासमा फिल्मको ‘गलत प्रचार’ रोक्न खर्च गर्नुपर्ने बाध्यता छ । फिल्म निर्माताहरूले यसलाई ‘क्यामेरा र बुम आतंक’ भनी नाम दिएका छन् । यिनीहरूले फिल्म घोषणादेखि प्रिमियरसम्म मात्र होइन, प्रदर्शनपछि पनि पछ्याइरहने गरेको बताइन्छ । फिल्म प्रदर्शनपछि हल–हलमा जाने र ‘दर्शक प्रतिक्रिया’ लिने गर्छन् ।

फिल्म खराब छ भनेर मात्र होइन, फिल्म ‘बबाल छ’ भनी प्रचार गराउन पनि यिनीहरू माहिर छन् । चित्त बुझेको खण्डमा यिनीहरूले ‘दर्शक’ रुवाएर हुन्छ कि, फुरुङ्ग बनाएर भिडियो भाइरल बनाउन भ्याउँछन् । यसरी नै हलमा गएर ‘दर्शक प्रतिक्रिया’ भन्दै भिडियो खिच्न थालेपछि कतिपय दर्शकले विरोध जनाएका थिए ।

दर्शक भड्किने क्रम जारी रहेपछि आईएनआई सिनेमाले प्रेस विज्ञप्ति नै जारी गर्‍यो । ‘देशभरका आफ्ना हलहरूमा क्यामेरा र बुम बोक्नेहरूलाई प्रवेश नगराउनू’ भनी निर्देशन जारी गरिएको थियो ।

खासगरी ‘कमर्शियल शो’का क्रममा दर्शक नै हैरान हुने गरी क्यामेरा र बुमधारीहरू आउन थालेपछि उनीहरू यस्तो निर्णय गर्न बाध्य भए । आईएनआई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन हो ।

सिनेमा हलमा पुगेका दर्शको यसरी भिडियो, फोटो खिच्दा उनीहरूको गोप्यता भंग हुने र समस्या पर्ने गरेको उक्त विज्ञप्तिमा भनिएको थियो । विशेष कार्यक्रम जस्तै प्रिमियर, गीत रिलिज, ट्रेलर रिलिज आदिजस्ता आमन्त्रण गरिएका कार्यक्रममा बाहेक अन्य कुनै पनि व्यवसायिक शोमा आउने दर्शकलाई क्यामेरा, बुम तेर्साएर प्रश्न सोध्ने कुरालाई पूर्ण रूपमा बन्देज गर्न भनिएको थियो ।

‘आईएनआई’ले हलभित्र खिच्न प्रतिबन्ध लगाएको महिनौं बिते पनि देशको सबैभन्दा ठूलो चेन क्युएफएक्सले हलभित्र क्यामेरा र बुम तेर्साउने गतिविधिमा रोक लगाउने निर्णय गर्न सकेको छैन । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर यसबारे सोचिरहेको क्युएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दीनले बताए ।

‘हलभित्र क्यामेरा र बुम लैजाँदा दर्शकले आफ्नो गोपनीयता कायम नभएको भन्दै गुनासो गरेका छन्’ उद्दीन भन्छन् ‘यस विषयमा अहिलेसम्म के निर्णय लिने भन्नेबारे स्पष्ट सल्लाह गर्न सकेका छैनौं । तर, यो कुराले हामीलाई पनि चिन्तित बनाएको छ ।’

अब हलभित्र क्यामेरा प्रवेशमा रोक लगाउने र हलबाट निस्किसकेपछि मात्र दर्शकको प्रतिक्रिया लिन–दिने व्यवस्था गर्न सकिन्छ कि भनेर सोचिएको उनले सुनाए । ‘हामीले हलभित्र छिर्न नदिने, तर हलबाट निस्केका दर्शकलाई बाहिर निस्कने स्थानमा खिच्न दिने विकल्पबारे विचार गरिरहेका छौं’ उनले भने ।

सिनेमा हलमा गएर ‘दर्शक रिभ्यु’ लिने प्रक्रिया आफैँमा भने गलत नभएको फिल्मकर्मीहरूको तर्क छ । ‘फिल्मको खास र पहिलो समीक्षक भनेकै दर्शक हुन्’ एक फिल्मकर्मी भन्छन्, ‘तर, त्यसरी समीक्षा लिनेहरूको नियत स्पष्ट हुनुपर्छ ।’

उनको पछिल्लो भनाइले हल–हलमा पुगेर दर्शक रिभ्यु लिनेहरूको नियतमाथि शंसय गर्ने ठाउँ रहेको संकेत गर्छ । ‘पूर्ण व्यवसायिक ढंगले र आवश्यक नियमहरू उल्लंघन नगरी दर्शक रिभ्यु लिनु राम्रो हो’ उनी भन्छन्, ‘तर नुनको सोझो गर्न वा खेदो खन्नका लागि यस्तो चटक देखाउनु भएन ।’

…………

फिल्म जतिसुकै राम्रो बनाएपनि प्रचार–प्रसार गरिएन भने त्यसले अपेक्षित व्यापार नगर्न सक्छ । भनिन्छ, हलिउडमा फिल्म निर्माणका लागि जति पैसा खर्च गरिन्छ, त्यसको आधा भन्दा बढी हिस्सा प्रचारमा लगाइन्छ । हलिउड बिग बजेट फिल्महरूले उत्पादनको ५० देखि ८० प्रतिशतसम्म बजेट फिल्म प्रचारमा खर्च गर्छन् ।

तर, त्यसरी गरिने प्रचार जोडदार र प्रभावकारी हुन्छ, जसले एक किसिमको तरंग ल्याइदिन्छ । त्यस्ता प्रचार शैली रचनात्मक हुन्छ, जसले दर्शकमा फिल्मप्रति उत्सुकता जगाइदिन्छ ।

हामीकहाँ भने फिल्म प्रचारमा त्यति अक्कल लगाइँदैन । प्रचार शैलीका लागि निश्चित बजेट त छुट्याइन्छ, तर त्यसले कसरी दर्शकलाई उत्सुक बनाउने र हलसम्म तान्ने भन्ने काइदा अपनाइँदैन । बरु, अनेक किसिमको फन्डा गरिन्छ । कहिले रुवाउने, कहिले हँसाउने काण्ड अपनाइन्छ ।

त्यो भन्दा पनि उदेगलाग्दो त के भने फिल्मको सही ढंगले प्रचार गराउनेभन्दा पनि खराब प्रचार रोक्न बढी जोड लगाउँछन् । यही मौकाको फाइदा उठाउँदै पापाराजीहरूले फिल्ममेकर्सबाट पैसा असुल गर्छन्, फिल्मको खराब प्रचार नगर्नका लागि ।

‘फिल्मको राम्रो प्रचार भन्दा पनि नराम्रो प्रचार नगर्नु भनेर पैसा दिने प्रवृत्ति छ’ एक भुक्तभोगी भन्छन्, ‘तर पैसा लिने मात्र होइन दिने पनि उस्तै हुन् ।’फिल्म बनाउन भन्दा चलाउन हतार गर्ने फिल्ममेकर्सको कारण पनि यस्तो विकार बढेको उनको दावी छ ।

‘फिल्म राम्रो बनाएपछि दर्शकहरूले मन पराउँछन्’ उनी भन्छन्, ‘उनीहरूले गर्ने माउथ पब्लिसिटीबाटै फिल्म हिट हुन्छ । त्यसैले फिल्ममेकर्सको पहिलो सर्त फिल्म चलाउने भन्दा पनि फिल्म राम्रो बनाउने हो।’

यद्यपि कुनैपनि फिल्मले प्रारम्भिक शोबाटै पछाडिको यात्रा तय गर्नुपर्ने हुन्छ । शुक्रबार सार्वजनिक भएको फिल्मसँग जम्माजम्मी तीन दिन बाँकी हुन्छ, बजार कब्जा गर्नका लागि । सुरुवाती तीन दिनमा राम्रो दर्शक बटुल्न सकेमा वा राम्ररी हो–हल्ला गर्न सकेमा बाँकी दिनमा राम्रो व्यपार गर्न सक्छ ।

तर, सो अवधिमा फिल्मको गलत प्रचार भएमा करोडौंको लगानी जुवा खेले बराबार हुन्छ । एकै झमटमा त्यतिका सम्पति, श्रम र सपना डुब्छ । त्यही कारण पनि फिल्म निर्माताले पहिलो चरणमा फिल्म चलाउन ‘जे पनि गर्नुपर्ने’ बाध्यता हुन्छ ।

‘त्यही बाध्यताको फाइदा उठाउँदै फिल्म निर्माताबाट प्रचारको नाममा पैसा लिनेहरू बग्रेल्ती छन्’ एक फिल्ममकर्मी भन्छन्, ‘तर यो चलन नेपालमा मात्र होइन, विश्वव्यापी नै छ ।’

त्यसो त सीमित पैसा लिएर तिनीहरू फिल्मको कार्यक्रमदेखि हल भिजिटसम्ममा पुग्ने गरेका छन् । यस हिसाबले हेर्दा उनीहरूले निर्माताबाट लिएको पैसा असुल हुने उनको टिप्पणी छ ।

‘तर एकदमै सानो बजेटमा बन्ने नेपाली फिल्म, त्यसमाथि सानो बजार, सीमित स्क्रिन’ उनी भन्छन्, ‘यस्तो स्थितिमा फिल्मको गलत प्रचार रोक्नकै लागि लाखौं खर्च गर्नुपर्ने बाध्यता चाहिँ दुःखलाग्दो छ ।’

अब कुरा गरौं पापाराजीको । यो शब्द त्यही व्यक्तिहरूको समूहलाई लक्षित गरी प्रयोग गरिन्छ, जो सेलिब्रेटीको निजी जीवनबारे चियोचर्चा गर्दै हिँड्छन् । सेलिब्रेटीलाई पछ्याएर फोटो, भिडियो खिच्दै हिँड्छन् । भारत खासगरी बलिउडमा यो शब्द निकै प्रयोग हुन्छ ।

खासमा पापाराजी भन्ने शब्द इटालियन भाषाबाट आएको हो । यसको अर्थ हुन्छ, मच्छर जस्तै सताउने ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?