+
+
Shares

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा पाँच घण्टापछि कृष्णराज मानन्धरलाई जीवितै उद्धार गरिएको छ।
  • उद्धार टोलीले बसको पार्टपुर्जा काटेर मानन्धरलाई बाहिर निकालेर उपचारका लागि काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले बताए।
  • पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस दुर्घटनामा १७ जनाको मृत्यु र २६ जनाको उपचार भइरहेको छ।

११ फागुन, मलेखु (धादिङ) । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।

‘मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ ।’

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?