+
+
Shares

धादिङमा १ अर्ब ५० करोडको लगानीमा फ्रेन्च फ्राई उद्योग खुल्दै

मनिष दुवाडी मनिष दुवाडी
२०८३ वैशाख १ गते ९:५७
निर्माणाधीन उद्योगको अवलोकन गर्दै सभामुख डीपी अर्याल ।

१ वैशाख, धादिङ । आर्थिक सुस्तता, लगानीकर्ताको हिचकिचाहट र विश्वव्यापी द्वन्द्वका असरले देशको अर्थतन्त्र थलिएको छ। यस्ता प्रतिकूलताका बावजुद पनि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८, कमेरे गाउँमा भने एउटा उद्योग स्थापना हुँदै छ।

गत भदौमा भएको जेनजी आन्दोलनको प्रभाव, आयात–निर्यातमा आएको अवरोध र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्र थलिएको अवस्थामा सुरु भएको यो परियोजनाले स्थानीयमा कृषि र उद्योग सँगसँगै अघि बढ्ने विश्वासको सम्प्रेषण गरेको छ ।

धादिङ सदरमुकाम धादिङबेंसी नजिकै रहेको कमेरे गाउँमा अहिले उद्योगका संरचनाहरू उभिँदै छन्। भारी मेसिनहरू जडान भइरहेका छन्। कामदारहरूको चहलपहल र किसानहरूको उत्सुक नजरले त्यहाँ एउटा फरक ऊर्जा पैदा गरेको छ।

किसानहरूमा जागेको आशा

१ अर्ब ५० करोड रूपैयाँ लगानीमा स्थापना भइरहेको उद्योगको आसपास ६/७ वटा ठुला खेतीयोग्य फाँटहरू छन्– कमेरे फाँट, कोइराले फाँट, तल्लोबेंसी फाँट, ससाह फाँट, बिर्ताबेंसी फाँट र जलविरे फाँट। यी फाँटहरूमा विगतमा परम्परागत (धान, मकै) मात्रै खेती हुने गर्दथ्यो। हिउँदे बालीका रूपमा आलुको प्रशस्त सम्भावना भए पनि उचित बजारको अभावमा किसानले घरायसी प्रयोजनका लागि मात्रै आलुखेती गर्दै आइरहेका थिए।

यही क्षेत्रमा आलुसँग जोडिएको उद्योग स्थापना भएसँगै अब किसानमा नयाँ आशाको सञ्चार भएको छ। उद्योगले पनि किसानहरूलाई आलु उत्पादनमा प्रोत्साहन गर्न थालेको छ भने उत्पादित आलु खरिद गरिदिने बताएको छ।

त्यसमाथि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को सिफारिसमा स्थानीय कृषकहरूलाई आलु भण्डारणमा २५ प्रतिशत छुट दिने घोषणासमेत गरिसकेको छ।

त्यस्तै, आलुखेतीका लागि प्रख्यात उत्तरी धादिङ जिल्लावासीहरूलाई पनि उद्योगको स्थापनाले नयाँ आशा जगाएको छ। उच्च हिमाली भेगमा उत्पादित आलुले बजार नपाएर कुहिएरै जाने अवस्था रहेकामा अब भने बजार पाउने देखिएको छ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का सीताराम कोइरालाले धानखेती र घरायसी प्रयोजनका लागि मात्रै खेतीपाती हुँदै आइरहेका फाँटहरूमा अब आलुखेती फस्टाउने बताए। उनले भने, ‘अब नगदेबालीका रूपमा आलुखेती हुने भयो। उत्पादित आलु खेतबाट सीधै उद्योगमा बिक्री हुने भएपछि किसानहरू पनि उत्साहित देखिएका छन्।’

स्थानीयलाई रोजगारीको अवसर

उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक रमेशभाइ अधिकारीले बताए। त्यस्तै करिब २० हजार किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने उनको दाबी छ।

रोजगारीका लागि स्थानीयलाई प्राथमिकतामा राखेकाले यस क्षेत्रका युवालाई वैदेशिक रोजगारीभन्दा पनि आफ्नै ठाउँमा सीप सिकेर काम गर्ने अवसर दिने अधिकारीले बताए।

जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित प्रणाली जडान हुँदै गरेको यस उद्योगले नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। सामान्यतया कच्चा पदार्थमै सीमित रहने कृषि उत्पादनलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने यो प्रयासले देशको व्यापार सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्न सक्छ। उद्योगले दैनिक १० टन आलु खपत गरी आलुजन्य खाद्यपदार्थहरू उत्पादन गर्ने अधिकारीले बताए।

औद्योगिक उत्पादनसँगै सीप विकास, प्रविधि हस्तान्तरण र स्थानीय जनशक्तिको उपयोग गरी ‘आर्थिक इकोसिस्टम’ बनाउने स्थानीय उद्योगीहरू बताउँछन् ।

नयाँ सरकारको हौसला

सभामुखमा निर्वाचित भएर पहिलोपल्ट गृहजिल्ला धादिङ आएका बेला सभामुख डोलप्रसाद अर्यालले निर्माणाधीन उद्योग क्षेत्रको अवलोकन गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउनेतर्फ राज्य गम्भीर भएर लाग्ने बताए। अर्यालको भनाइले लगानीकर्ताको हौसला र मनोबल बढेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा कृषि क्षेत्र र उद्योगबीचको दूरी सधैँ चुनौतीको विषय रहँदै आएको छ। तर धादिङमा निर्माणाधीन यो उद्योगको कृषि उत्पादन बढाउने र बजारीकरणमा सहयोग गर्ने नीतिले त्यो दूरी घटाउने सङ्केत गरेको छ ।

लेखक
मनिष दुवाडी

दुवाडी धादिङमा कार्यरत पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?