१२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा पछिल्ला तीन निर्वाचन (२०७० देखि २०७९ सम्म) मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा भयो । यो पटक लिम्बू चुनावी मैदानमा छैनन् । कांग्रेस नयाँ नेतृत्वले उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागोलाई उम्मेदवार बनाएको छ । एमालेका खतिवडा अन्तिम प्रतिस्पर्धा भन्दै चुनावी अभियानमा छन् ।
मोरङ–१ बाट दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार मैदानमा छन् । खतिवडा र फागोसँगै नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रदेश सांसद कुलप्रसाद साम्बा कुशल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अभिवक्ता यज्ञमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जबाट दिलकुमारी लावती, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामालगायत उम्मेदवार छन् ।
पछिल्ला तीन निर्वाचनमा कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी देखिए पनि यो पटक परिस्थिति फेरिएको छ । क्षेत्र नम्बर १ मा प्रभाव जमाएका कांग्रेस-एमालेलाई नेपाली कम्युनिस्ट पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले चुनौती दिइरहेका छन् ।
घनश्याम खतिवडा अहिले नेकपा एमाले कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । २०७० र २०७४ को निर्वाचनमा उनी जग्गा बेचेर लडेका थिए । उनकै दाबीअनुसार २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७ कट्ठा बेचेका थिए, २०७४ सालको निर्वाचनमा १० कट्ठा जग्गा बेचे ।
‘त्यो बेला म ग्राउन्ड लेभलको लिडर मात्रै थिएँ । ‘चन्दा उठाइनँ, चुनाव लडियो,’ केही समयअघि उनले भनेका थिए, ‘२०७९ मा लड्दा फरक भयो । सांसद भइसकेका कारण साथीभाइले सहयोग गरे । सांसदको रूपमा प्राप्त गरेको सुविधा पनि थियो ।’ यो उनको चौथो प्रतिस्पर्धा हो ।
उर्लाबारी नगरपालिका प्रमुखको रूपमा काम गरेका कांग्रेस नेता फागो युवा पुस्तामा लोकप्रिय छन् । जनयुद्ध लडेका र मोरङ-१ को ‘क’बाट २०७४ मा कोशी प्रदेश सांसद जितेका कुशल पनि लोकप्रिय उम्मेदवार हुन् ।

एमालेप्रतिको आक्रोश, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियतासँगै कांग्रेस र नेकपाको प्रभावले गर्दा प्रतिस्पर्धा रोचक छ ।
हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दा पहिलो आमसभा मोरङको लेटाङमा भएको थियो । सभामा हजारौं सहभागी भएका थिए । जसले श्रम संस्कृतिको पकड पनि बलियो बनाएको छ ।
झापा-५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने दाबी गरेका रास्वपा नेता यज्ञमणि न्यौपाने पनि मोरङ-१ आएका छन् । बालेन शाह झापा-५ मा उम्मेदवार बनेपछि न्यौपानले मोरङ-१ रोजेका थिए ।
देशभर रास्वपाको बढ्दो प्रभावले मोरङ-१ लाई पनि छोएको छ । रास्वपा र श्रम संस्कृति पार्टीको अभियानमा नेपाली कांग्रेस र नेकपा एमाले छाडेका नेताहरू छन् ।
१ लाख २८ हजार ५४५ मतदाता रहेको यो क्षेत्रमा नेकपा एमाले उम्मेदवार खतिवडाले कांग्रेस उम्मेदवार फागोलाई मुख्य प्रतिस्पर्धी देखेका छन् । ‘यो क्षेत्रमा मात्रै होइन, देशभरि हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेससँग हो,’ उनले भने, ‘यो क्षेत्रको भूगोल बुझेको, काम गरेको हुनाले चुनाव म जित्छु ।’
कांग्रेसका फागो भने निर्वाचनमा आफ्नो प्रतिस्पर्धा व्यक्तिमा देख्दैनन् । ‘म विज्ञान र प्रविधिको युगमा विश्वास गर्छु । त्यसैले मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीको पात्रसँग होइन, यो क्षेत्रको पिछडिएको अवस्था र विकासका बाधकहरूसँग हो,’ उनले भने, ‘जनताले पाउनुपर्ने सेवा–सुविधा जसले रोक्ने चेष्टा गरिरहेका छन्, जो विकासको बाधक छन्, मेरो प्रतिस्पर्धा उनीहरूसँग मात्र हो ।’
यस्तो छ अंकगणित

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ-९ (हाल १) बाट तत्कालीन माओवादी उम्मेदवार नगेन्द्र धिमाल निर्वाचित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा वर्षमान पुन यो क्षेत्रमा आउँदा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूसँग पराजित भए । लिम्बू विजयी हुँदा घनश्याम दोस्रो भए । पुन तेस्रो भएका थिए । त्यसबेला लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका खतिवडाले १२ हजार ९८९ मत प्राप्त गरेका थिए ।
२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्रलाई ६ वटा बनाइयो । यो क्षेत्रका पालिका क्षेत्र नम्बर १ मा समेटिए । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडा ३७ हजार ५२४ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार लिम्बूले ३१ हजार ४३६ मत पाएका थिए । २०७९ को निर्वाचनमा २७ हजार २९७ मतसहित लिम्बू विजयी हुँदा खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ पहिलो भएको नेकपा एमालेले २३ हजार ३४२ मत पाएको थियो । यस्तै, नेपाली कांग्रेसले १७ हजार १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार ७७४ र माओवादी केन्द्रले ६ हजार ४४५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4