+
+
Shares
पश्चिम तराई स्थलगत :

शालिकमा पोखिएको आक्रोश पुग्दैछ मतपेटिकामा

पश्चिम तराईका मतदाता भने पर्खने धैर्यमा देखिँदैनन् । जनताको जीवनमा देखिनेगरी तुरुन्तै परिवर्तनको तीव्र आकांक्षा यसपालिको चुनावमा मतमार्फत् पोखिने धेरैजसो मतदाताको भनाइ छ ।

बसन्त बस्नेत आभास बुढाथोकी कृष्ण अधिकारी बसन्त बस्नेत, आभास बुढाथोकी, कृष्ण अधिकारी
२०८२ फागुन १२ गते १५:५०

१२ फागुन (बाँके, बर्दिया, दाङ) । शहीद कवि नेत्रलाल अभागीले कुनै बेला लेखेका थिए, आँधीहुरीका बेला सतीसालमात्रै ठिङ्ग उभिन सक्छ । दाङ सदरमुकाम घोराही बजारमा बीपी कोइराला लगायत वाम प्रजातान्त्रिक नेताहरुका शालिकहरु एकपछि अर्को ढालिँदा उनै अभागीको शालिकमात्रै ठिङ्ग उभिन सक्यो ।

घोराही र तुलसीपुरमात्रै होइन पश्चिम नेपालका विभिन्न शहरमा बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंहका शालिक जेनजी आन्दोलनका क्रममा ढालिए ।

जेनजी आन्दोलनको भोलिपल्ट अर्थात् २४ भदौमा यहाँसहित सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिकमा प्रदर्शनकारीले हिलो र गोबर फाले । शालिक ढाल्ने प्रयासलाई राजावादीहरुले रोके, अनि तुरुन्तै गोबर सफा गरे । कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा रहेका माओवादी कांग्रेस एमाले जनमोर्चाको अफिस जलाए । रास्वपा राप्रपा कार्यालय भने सुरक्षित थिए ।

यस्तै दृश्य हामी नेपालगन्ज शहर घुम्दै जाँदा देख्न पुग्छौं । बीपी चोकमा बीपीको शालिक छैन । पुष्पलाल चोकमा पुष्पलालको नाममात्रै छ, शालिक पूरै भग्न अवस्थामा छ । गणेशमान चोकमा गणेशमान सिंहको शालिक जेनजी आन्दोलनको दोस्रो दिन ढल्न पुग्यो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले कांग्रेसको संयुक्त सरकारविरुद्ध जेनजी नवयुवाले भदौमा विद्रोह घोषणा गरेका थिए ।

२३ भदौको युवा उभार राज्यपक्षले मच्चाएको नरसंहारमा बदलियो । भोलिपल्ट २४ भदौमा त्यसको आक्रामक प्रतिवाद अन्ततः राष्ट्रिय उत्पातमा बदलियो ।

नेपालगन्जमात्रै होइन, बाँके बर्दिया दाङ, सुर्खेत लगायतका शहर त्यो उभार र उत्पात दुवैको साक्षी बस्न पुगे । शालिकप्रतिको नागरिक अविश्वास सत्ताप्रति आम आक्रोशको विम्ब हो, जहाँ सरकारी भवनसहित विभिन्न आगजनी, लुटपाट, तोडफोड आदिले प्रश्रय पाउँदा बचाउन कुनै सुरक्षा निकाय कर्तव्य सम्पादनका लागि दृश्यमा आएन ।

अनलाइनखबरको टिमले फागुन दोस्रो साता पश्चिम तराईका विभिन्न गाउँशहर घुम्दै जाँदा यो नवयुवा उभार र उत्पातले सिर्जना गरेका परिणामको सुक्ष्म अवलोकन गर्‍यो ।

बाँकेमा रहेका मानवअधिकारकर्मी तथा सामाजिक अध्येता प्रकाश उपाध्यायको भनाइमा यो चुनावमा त्यही जेनजी उभारको प्रतिविम्ब देख्न पाइने छ ।

‘गणतन्त्र स्थापनायता निरन्तर सत्तामा रहेका, अनि आफ्नो शक्ति आर्जनका लागि गठबन्धन अदलबदल गरेका थिए नेताहरुले, तर नागरिकको जीवनमा देखिने गरी ठोस परिणाम दिन सकेका थिएनन्,’ उपाध्याय भन्छन्, ‘यो चुनावमा त्यसको आक्रोश देख्न पाइने सम्भावना छ ।‘

लेखक तथा पूर्वराजनीतिकर्मी सनत रेग्मीको भनाईमा, सत्ताराजनीति चलाउने नेताहरुले यसबीचमा गरेका गल्तीहरुको मूल्य बीपी, पुष्पलाल र गणेशमान आदिका शालिकले चुकाउनुपर्‍यो । ‘दल वा नेताहरुलाई

नयाँ वा पुराना भनेर छुट्याउने क्रम बढेको छ,’ रेग्मी भन्छन्, ‘प्रश्न र अविश्वास कतिसम्म छ भने पुराना बुढाहरुसमेतले यसपालि नयाँ निर्णय लिन सक्छन् ।’

स्थानीयहरु भन्छन्- जेनजी आन्दोलनले पुरानो नेतृत्वलाई सम्पूर्ण रुपमा बढार्न चाहेको थियो, तर सफल भएन । त्यसैले २१ फागुनको आम चुनाव पुरानो नेतृत्वलाई बिदाई गर्ने प्रयासकै शृंखलाको अर्को कडी मात्र हो ।

दैनिक नेपालगन्जका सम्पादक झलक गैरे भन्छन्, ‘यो चुनावमा यसअघिका चुनावहरुभन्दा पूरै भिन्न परिदृश्य छ । नागरिकहरुले मतका मुखियाहरुविरुद्ध पहिलेभन्दा बढ्ता आक्रोश व्यक्त गरेका छन् । चुनावी परिणामले त्यही आक्रोशलाई सदर गर्ने संकेतहरु छन् ।‘

विगतमा जनआन्दोलन होस् या मधेस आन्दोलन, पश्चिम तराईको यो शहर सबैमा सक्रिय सहभागी बन्यो । मधेस आन्दोलनको आगो बाल्ने सलाईको पहिलो काँटी यही नेपालगन्जले कोरेको थियो । तुलसीपुर, घोराही, गुलरिया, कोहलपुरजस्ता शहरमा त्यही आक्रोश विस्तारित भइरहन्थ्यो । मधेस आन्दोलनका बेला पश्चिम तराई तथा भित्री मधेसमा थारु तथा मुस्लिमहरुको ठूलो सहभागिता थियो ।

अझ त्यसभन्दा अगाडि माओवादीले चलाएको हिंसात्मक विद्रोहमा दाङ त आधारभूमिजस्तै बनेको थियो, जहाँ रुकुम रोल्पा सल्यान प्युठानका २,४३१ नागरिकको ज्यान यी जिल्लामा मात्रै गएको थियो ।

दाङबाट मात्रै ५९७ को ज्यान गएको थियो ।

शहादत भोग्नेहरु होउन् या विद्रोहीको आक्रमणमा वीरगति पाउनेहरु, मध्यपश्चिमेलीहरु विद्रोह र विस्फोटका घटनाहरुको घानमा परे । अहिले पनि त्यसै उथलपुथलको बानी लागेका कारण हुनुपर्छ दाङ क्षेत्रले नयाँपनको खोजी गरिरहन्छ ।

चुनावमा प्रायः विजेता दोहोरिँदैनन् । नयाँ अनुहार र पार्टीको परीक्षण गर्नेमा मध्यपश्चिमका यी भेगहरु अगाडि छन् । कुनै बेला देशमा यसै क्षेत्रबाट नयाँ जनवादी क्रान्तिको शंखघोष भएको थियो । अहिले पनि यहाँ नयाँकै खोजी छ । तर हिजोका नयाँ भनिनेहरु अहिले पुराना भएका छन् । रास्वपा लगायत पार्टीहरु हामी नयाँ हौं भन्दै आएका छन् ।

०६४ तिर नयाँ भनिएको पुष्पकमल दाहाल नेतृत्वको माओवादी अब माओवादी रहेन । नयाँ शक्ति खोल्न कसिएका बाबुराम भट्टराई त्यो सटर बन्द गरेर अन्तै हिँडिसके । जनार्दन शर्माले बनाएको प्रलोपाले स्थापनाको छोटो अवधिमा आम विश्वास पाइसकेको छैन ।

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको माओवादीसँग पुरानो राजनीतिक आधार छैन । धर्मेन्द्र बास्तोलादेखि मोहन वैद्यसम्मले सफल नहुने बन्द घोषणा गर्ने, अनि बेलामौकामा साम्राज्यवादविरुद्ध विज्ञप्ति निकाल्नेबाहेक उत्रो गरेका छैनन् । जनमोर्चा अहिले पनि त्यस्तै छ, जो पहिले थियो । अझ मध्यपश्चिमका पहाडहरुमा यसको स्पेस खुम्चेको छ ।

यो अलमल, दिशाविहीनता र निराशाको सुविधा नयाँ भनिएका शक्तिहरुले लिन खोजेका छन् । पूर्वी र मध्य नेपालमा अनलाइनखबरको टिमले जुन मतको प्याटर्न देखिरहेको छ, पश्चिम नेपालमा पनि त्यही प्याटर्न अभिव्यक्त भएको देखिन्छ । जेनजी आन्दोलनको अगुवाई गर्नेहरुले छुट्टै पार्टी नखोलेको, बरु झन्डै चार वर्षअघि खुलेको राष्टिय स्वतन्त्र पार्टीमै कतिपय जेनजी अगुवा प्रवेश गरेको लाभ यसका कार्यकर्ताले लिन खोजेको छ ।

बाँके, बर्दिया, सुर्खेत, दाङ क्षेत्रमा घुम्दा हाामीले देख्यौं, ठूलो संगठन र मजबुत कार्यकर्ता नभए पनि रास्वपा जेनजी आन्दोलनमा नवयुवाले देखाएको उभारलाई चुनावी अवसरमा परिणत गर्ने प्रयासमा छ ।

रास्वपाभित्रका कतिपय पात्र र अनुहारप्रति आम भरोसा जागृत भइनसकेको भए पनि नयाँलाई मौका दिने कि भन्ने जिज्ञासामा स्थानीय मतदाताहरु देखिन्छन् ।

तुलसीपुरमा भेटिएका रास्वपा उम्मेदवार कमल सुवेदीले भने, ‘हामी यत्तिकै आएका होइनौं । विगतमा उहाँहरु अर्थात् पुरानै पार्टीहरुलाई पटक पटक विश्वास गरेर भोट हामीले नै दिएको हो । तर अब पुरानै पार्टी, नेता र संस्कारबाट परिवर्तन सम्भव छैन भनेपछि हाामीले बाटो बदलेको हो । यो चुनावमा हामी जनताको आशाको केन्द्र बन्दैछौं ।’

सुवेदी यसअघि ०७९ को चुनावमा पनि उम्मेदवार थिए । तेस्रो स्थानमा रहेर १५ हजार मत पाएका सुवेदीलाई यसपल्ट त्यही आन्दोलनको आत्मविश्वास प्राप्त छ । रवि लामिछाने र बालेनबीच भएको सहकार्यलाई चुनावी नतिजामा परिणत गर्न रास्वपा व्यग्र छ । तर, शंकर पोखरेल, किरण किशोर घिमिरे, दीपक गिरीजस्ता बलिया दाबेदार रहेको दाङमा रास्वपालाई अग्रताका लागि पूरै मेहनत लगाउनुपर्ने दबाब छ ।

दाङ-३ मा कांग्रेसका दीपक गिरीले यसअघि चुनाव जित्दै आएका थिए । एमालेले घनश्याम पाण्डेजस्ता स्थानीयमा घुलनशील पूर्व मेयरलाई उतारेको छ ।

यस्तै दाङ-२ मा यसअघि झिनो मतान्तरले पराजित एमाले महासचिव शंकर पोखरेल दोस्रोपल्ट पार्टीको सोही पदमा निर्वाचित भएर संसदीय प्रतिष्पर्धामा छन् । शंकरलाई बलियो संगठनको साथ छ भने यसअघि विभिन्न पार्टीमा आस्थावान्‌हरुलाई उनी छुट्टाछुट्टै भेटेर आफ्नो पक्षमा कन्भिन्स गर्न लागेका छन् । यसअघि पोखरेललाई हराएकी रेखा शर्मा प्रतिष्पर्धामा नरहे पनि रास्वपाका सहमहामन्त्री विपिन आचार्यले उनलाई शक्तिशाली दबाब सिर्जना गरेका छन् ।

एमाले महासचिव पोखरेलले अनलाइनखबरसँग भने, ‘नेपाल राष्ट्रको सम्प्रभुता बचाउने संघर्षमा एमाले नेतृत्व पंक्तिमा रहेकाले अरु विचार राख्ने पक्षले समेत हामीलाई नेतृत्वमा देख्न चाहेका छन् । नयाँ भन्दै विभिन्न शक्ति आए पनि बंगलादेशमा जस्तै नेपालको चुनावमा पनि जनताको अभिमत स्थापित बलियो शक्तिलाई नै प्राप्त हुन्छ ।’

तर, उनीसँग टक्करमा रहेका रास्वपा सहमहामन्त्री आचार्य भने जेनजी आन्दोलनमा हिंसात्मक दमन गर्ने, यसअघि पटकपटक अवसर पाएर पनि डेलिभरी दिन असक्षम नेतृत्वलाई जनताले बिदा गर्न चाहेकाले आफू जित्ने अवस्थामा रहेको टिप्पणी गर्छन् ।

रास्वपाका संस्थापक मध्येका एक आचार्य भन्छन्, ‘नागरिकले आफ्नो जीवनमा देख्न चाहेको परिवर्तन अझै सम्भव नभएकाले नै हामी रास्वपा दल खोलेर आएका हौं, यो चुनावमार्फत् त्यो भरोसा हामी दिलाउँछौं ।’

२००४ साल अर्थात् राणा शासन भन्दा पहिले जयतु संस्कृतम् आन्दोलनमा सक्रिय ऋषिराम शर्माका छोरा किरणकिशोर घिमिरे आफैं कांग्रेसबाट मैदानमा छन् । उनी अर्थसामाजिक मुद्दाहरुलाई प्रखर रुपमा मतदाताबीच राखिरहेका छन् । बौद्धिक पृष्ठभूमिका घिमिरे सजिलो भाषामा आफ्ना भनाइ राखिरहेका छन्, जसको दबाब एमाले र रास्वपा दुवैले महसुस गर्न सकेको देखिन्छ । घिमिरे भन्छन्,’हामी जेनजी आन्दोलनदेखि अहिले देखिएका संकटहरुलाई एमाले र रास्वपाजस्तो अतिवादी कोणबाट होइन, सन्तुलित र व्यावहारिक हल खोज्न लागिपरेका छौं । स्थानीय किसानदेखि आदिवासी थारुका मुद्दा सम्बोधन गर्ने सोच पनि कांग्रेससँग नै छ । हामी नै यहाँका लागि नयाँ र वैकल्पिक हौं ।’

दाङ-२ मा जस्तै अर्को क्षेत्र अर्थात् दाङ-१ मा पनि यस्तै खालको प्रतिष्पर्धा छ, जहाँ रवि बालेनको संयुक्त प्रभावलाई स्थानीय मतमा परिणत गर्ने रास्वपा तयारी छ । बाँके बर्दिया लगायत जिल्लामा हामीले त्यस्तै रुझान् देख्न सक्छौं ।

रवि बालेनप्रतिको क्रेजलाई चुनावमा देखाउँदै रास्वपा होमिँदै गर्दा कांग्रेस, एमाले जस्ता पार्टी स्थानीय मतदातासँग कनेक्सन बनाएका पात्र लिएर मैदानमा खडा छन् ।

त्यसैले अन्यत्र जेजस्तो क्रेज रहे पनि कांग्रेस, एमाले, माओवादीको नयाँ रुप अर्थात् नेपाली कम्युनिस्ट पार्टीका समर्थक भने रास्वपा उम्मेदवार सुवेदीको तर्क मान्न तयार छैनन् । अहिले पनि कतिपय असन्तुष्टिका बाबजुद आफूहरुलाई नै मतदाताले विश्वास गरेको, नयाँ भन्नेहरुप्रति आशा बढेको तर भरोसा कायम गर्ने स्थिति बनिनसकेको उनीहरुको दाबी छ ।

कमलरी कमैया प्रथाविरुद्ध थारुहरुले गरेको विद्रोह पनि यसै जिल्लासँग जोडिन्छ ।

नातेदारको बिहेका लागि देउखुरीको जंगलमा स्याउलापात टिप्न गएकी तुलसीपुरकी शिला चौधरी यस्तै एक कमलरी थिइन्, जसले ९ वर्ष अर्काको घरमा नोकर बनेर बिताउनुपरेको थियो ।

आफूले पढ्न नपाए पनि सन्तानहरुले पढ्न पाउन् भनेर दिनरात मेहनत गरिरहेको शिला चौधरी बताउँछिन् । हामीले जेजति अधिकार पायौं, त्यो चुनावबाटै पाएको हो । हामीले जिताएको सांसदले कमलरीबाट मुक्त पार्ने कानुन ल्यायो, शिला चौधरी भन्छिन्, कमैया मुक्ति भए पनि हाम्रो समस्या सकिएको छैन । हाम्रा धेरै लोग्नेहरु विदेशमा छन् । नेताहरुको जीवनमा परिवर्तन आयो, हामी उस्तै छौं । यसपालिको चुनावमा यसको रिस पनि पोखिन्छ ।

दाङकै जस्तो अवस्था बाँके, बर्दिया, सुर्खेततर्फ पनि देखिन्छ । बर्दियामा ०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टीले एक क्षेत्र जितेको थियो । स्वतन्त्रबाट जितेका लालवीर चौधरी पछि नाउपा प्रवेश गरेका थिए ।

अहिले भने त्यसका संरक्षक रेशम चौधरी स्वयं आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै जनार्दन शर्मा नेतृत्वको प्रलोपालाई समर्थन गर्दै थिए । बाँके, बर्दिया वा दाङ थारुहरूमा अहिले नेता बन्ने भोक पनि जागेको छ । रेशम चौधरीले थारु नेताको रुपमा उदाएपछि अहिले अरु पनि राजनीति तर्फ आकर्षित छन् । कांग्रेस,एमाले, नेकपाका कार्यकर्ताबाट नेता बन्न भोक मरेको छैन ।

मधेश आन्दोलनका एक अगुवाई ईस्तियाक राई विगतको मधेसी जनअधिकार फोरम, जनता समाजवादी पार्टी हुँदै अहिले एमालेबाट अन्तिम घडीमा उम्मेदवार बन्न पुगेका छन् बाँके-२ मा ।

मुस्लिम बुद्धिजीबी समद सिद्दिकीका अनुसार मुस्लिम समुदाय आफ्नो समुदायको हक हितका पक्षमा वकालत गरि दिने प्रभावशाली व्यक्तिले जितोस भन्ने चाहान्छन् । सामाजिक सदभाव कायम होस् धार्मिक अल्पसंख्यकको भाबनामा चोट पुराउने काम नहोस भन्ने चाहाना मुस्लिम समुदायको छ । यस पटकको चुनावमा बाँके-३ बाट मुस्लिम समुदायका तीन जना उम्मेदबार छन् ।

आम सर्वसाधारणलाई भने छिनछिनको दलबदल, मन्दिर, मस्जिद मदरसाको धार्मिक किचलो, अनि जमुनाह नाकासँग जोडिने नेपाल भारत सम्बन्धको उतारचढाव यी सबै कुराले दिक्क बनाएको छ । उनीहरु अझै पनि दलहरुले आफूहरुलाई साम्प्रदायिक पहिचान दिएर भोटबैंक ठानिरहेको भन्दै आक्रोशित थिए ।

यसपल्टको चुनाव यी सबैखाले प्रवृत्तिविरुद्ध एकमुष्ट प्रतिवादको संकेत भएको उनीहरुको भनाइ छ ।

स्थापित पार्टीहरुले आफ्नो संगठनका बलमा मतदाता सम्झाउन खोजिरहेका छन्, लोकतन्त्रले रातारात डेलिभर गर्दैन । समय लाग्छ ।

पश्चिम तराईका मतदाता भने पर्खने धैर्यमा देखिँदैनन् । जनताको जीवनमा देखिनेगरी तुरुन्तै परिवर्तनको तीव्र आकांक्षा यसपालिको चुनावमा मतमार्फत् पोखिने धेरैजसो मतदाताको भनाइ छ ।

२०४८ देखि हाल सम्म भएका आम निर्वाचनलाई नजिकबाट नियाल्दै आएका महेन्द्र बहुमुखी क्याम्पसबाट निवृत्त प्रा.डा.जनार्दन आचार्यका अनुसार यो क्षेत्रका करिब एक चौथाई मतदाताले मतदान हुनु भन्दा अघिल्लो दिन मात्रै कुन उम्मेदबारलाई भोट दिने भनेर निर्णय गर्छन् । चुनावभन्दा ठीक अगाडि चल्ने खतरनाक मौनता नै पश्चिम तराई भेगको विशेषता रहेको उनको भनाइ छ ।

आचार्यकै जस्तो विचार छ, पत्रकार झलक गैरेको । कत्लकी रात भन्ने गरिन्छ यहाँ, त्यस बेला यहाँ मठमन्दिर र मस्जिदमा बैठकहरु हुन थाल्छन् । आफ्नो सामुदायिक हित हेरेर निर्णय लिने परम्परा पनि छ ।

मतदाताले यसपल्ट के गर्छन् भन्नेबारे सुरुवाती संकेत प्रष्ट छन्, तर मतदानको दिनअघि कुनै पनि खालको ठोकुवा र अनुमान गर्न उचित नहुने गैरेको भनाइ छ ।

बाँके र दाङमा जनमत फेरिइरहने प्रवृत्ति छ । पहिले बाँकेको कुरा गरौं ।

दाङ र मध्यपश्चिमका अरु शहरकै जस्तो अनिश्चितता र रोचकता लिएर आउँछ बाँकेको निर्वाचन ।

एकैछिन बाँके-२ लाई हेरौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले ३ पटक जितेको २ पटक हारेको यहि निर्वाचन क्षेत्रबाट हो । २०४८ साल पछि भएका आम निर्वाचनहरुमा यो क्षेत्रबाट लगातार दुई पटक कुनै उम्मेदवारले जित निकाल्न सकेका छैनन् ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशात्रका प्राध्यापक डा जर्नादन आचार्यका अनुसार, बाँके- २ मा विकास निर्माणका ठूला र महत्वकांक्षी योजना भन्दा पनि उम्मेदबार मध्ये को हिन्दु , मुस्लिम ,पहाडी वा मधेशी भन्नेमा धेरैको चासो हुन्छ ।

यो क्षेत्रमा धर्म र भाषालाई आधार मत दिने उम्मेदबार छनौट गर्ने अस्थिर मतदाता करिब १५ देखि १८ प्रतिशत रहेको अनुमान डा. आर्चायको छ ।

त्यसै गरी क्षेत्र नं २ को शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमध्ये करिब २० प्रतिशत गरिबीको रेखामुनि छन्। आर्थिक प्रलोभन देखाउँदै भोट बैंक ठान्नेहरु यसै बेला सक्रिय हुन्छन् ।

२०४८ देखि हाल सम्म भएका आम निर्वाचनलाई नजिकबाट नियाल्दै आएका प्रा.डा.आचार्यका अनुसार बाँके-२ का करिब एक चौथाइ अर्थात् २५ प्रतिशत मतदाताले मतदान हुनु भन्दा अघिल्लो दिन मात्रै कुन उम्मेदवारलाई भोट दिने भनेर निर्णय गर्छन् । जसका कारण क्षेत्र नं २ को निर्वाचन परिमाण सधैं अनिश्चित र रोचक हुन्छ ।

राप्रपा उम्मेदवार शान्ति शमशेर राणासँग ०५१ मा हारेका सुशीलले २०५६ सालको निर्वाचनमा अस्थिर मत पुनः कांग्रेस मै फर्काउन सके । २०६४ सालको निर्वाचनमा अस्थिर मतदाताले मधेश आन्दोलनबाट उदाएको मधेशी जनअधिकार फोरमका लो प्रोफाइल उम्मेदबार सर्वदेव ओझालाई रोजे । २०७० मा फेरि सुशील आए । ०७४ मा इस्तियाक राई आउँदा ०७९ मा उनलाई हराउँदै राप्रपाका धवलशमशेर राणाले जिते ।

दाङमा ०६४ को पहिलो संविधानसभा चुनवका पाँच क्षेत्रमध्ये पाँचै क्षेत्र माओवादीले जितेको थियो । ०७० मा कांग्रेसले चार क्षेत्र जित्यो । ०७४ मा वाम गठबन्धनले त्यस बेलाका तीनमध्ये तीनै क्षेत्र जित्यो । ०७९ मा कांग्रेस माओवादीको गठबन्धनले सबै क्षेत्र जिते । बाँकेमा झैं हरेक पल्टको चुनावमा मतदाताको मनोविज्ञान गतिशिल देखिएको छ जसलाई उम्मेदवारले आफ्नो अुनकूल प्रभाव पार्न खोजेका छन् ।

विगतमा मत झर्ने र फेरिने जस्तो प्रवृत्ति रहे पनि यसपल्टको चुनावमा ती तथ्यांकको गणितले ठ्याक्कै काम नगर्ने स्थानीयको बुझाइ छ ।

फागुन २१ गतेको चुनावलाई लिएर पुराना दलहरुले भने विगतकै अंक गणित देखाउँदै आफू बलियो भएको दाबी गर्दै आइरहेका छन् । यसैलाई आधार मानेर चुनाव जित्ने आकलन गरिरहेका छन् ।

तर मतदाताको बद्लिएको मनस्थितिमा दलहरुले दाबी गरेको विगतको चुनावी अंक गणितले काम नगर्ने बताउँछन्, समाजशास्त्री निर्मल गौतम । ‘जेनजी आन्दोलनपछि अवस्था पहिले जस्तो छैन । पुराना दलहरुको असन्तुष्टिले मतदाताले यसपटक मुड बदलेका छन्’ उनले भने ।

खासगरी रास्वपाको प्रवेशले पुराना दललाई झस्काएको उनले बताए । ‘हेभिवेट नेता भनेर ढुक्क हुने अवस्था छैन । मत फेर्ने मुडमा रहेको मतदाताको मत नयाँले लिन सक्छन्’ उनले भने ।

दाङमै नेपाली कम्युनिष्ट पार्टीबाट तेस्रो पटक चुनाव लड्दै गरेका मेटमणी चौधरीलाई कांग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरी र राष्ट्रिय स्वन्तन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले बलियो टक्कर दिइरहेका छन् । त्यसमाथि माओवादी पृष्ठभूमिका नेता कुलप्रसाद केसी सोनाम नेकपाबाट बागी उम्मेदवार छन् । कतिपय माओवादी पंक्ति समेत उनको पक्षमा खुलेर मत मागिरहेको छ । कांग्रेसले पनि जातीय मत तान्न चौधरी समुदायबाटका योगन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । योगेन्द्र आफैं बलिया दाबेदार हुन् ।

यो स्टोरीको सुरुवातमा हामीले केही शालिकहरु तोडफोड र ध्वंश गरेको प्रसंग उठाएका थियौं । पार्टीहरुले अराजक समूहले जेनजी आन्दोलन हाइज्याक गरेको बताइरहेका छन् । २४ भदौका विध्वंशकारीलाई भोट हाल्न नहुने उनीहरुको तर्क छ । रास्वपा, उज्यालो नेपाल, श्रम संस्कृति लगायत पार्टीहरु भने २३ भदौमा राज्यको शक्ति दुरुपयोग गर्दै हिंसा मच्चाउनेहरु कुनै पनि हालतमा अस्वीकृत हुनुपर्ने मत चुनावमा मागिरहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ९ का शशिराम पुन मगर भन्छन्, कसले जितेर के गर्छ भन्नेमा मान्छेको ध्यान छैन । कसले जितेर पनि केही गरेन भन्नेमा गाउँको मान्छेहरुको रिस उठेको छ । यो चुनाव रिसको चुनाव हो ।

अर्थात् जुन रिस बीपी, गणेशमान र पुष्पलालको शालिकमा पोखियो, त्यो रिस अझै मरेको छैन । ब्यालेट बक्समा खस्ने मतमा त्यही रिस थप अभिव्यक्त हुन सक्ने देखिन्छ ।

तस्बिर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?