अक्सर नेताहरू स्टेज वा उच्च आसनमा देखिन्छन् । भूइँका आसनमा हुन्छन्, जनता । सामान्य अवस्था भए, तल जनतालाई ताली बजाउन लगाएर नेताहरु स्टेजबाट हात हल्लाउँथे । ‘नमस्ते’ जस्ता अभिवादन पनि जनताले गरेपछि नेताले फर्काउने हुन् । तर, अहिले चुनाव लागेको छ । परिस्थिति पनि ठिक उल्टो छ । नेता हात जोडिरहेका छन्, मतदाताले फर्काइरहेका । नेता/कार्यकर्ता घरका मुनिमुनि गल्लीबाट हिँडिरहेका छन्, मतदाता रुचिअनुसार छत वा बार्दलीबाट हात हल्लाइरहेका ।
मंगलबार बिहान काठमाडौं–४ का रास्वपा उम्मेदवार पुकार बमलाई पछ्याउँदा त्यस्तै देखियो । रिपोर्टिङको क्रममा बिहान ७ बजे मण्डीखटारको बिगमार्ट नजिक पुग्दा माइकिङ गर्दै पुकारको टोली मतदातासँग हिँडिरहेको थियो ।
‘आदरणीय टोलबासी दाजुभाइ दिदीबहिनी… यहाँहरूको उम्मेदवार पुकार बम तपाईंको घरदैलोमा आइपुग्नुभएको छ,’ निरन्तर माइकिङ चलिरह्यो ।
पुकार हात जोड्दै मत माग्दै अघि बढिरहे । ९५ वर्षका राम बलवारले पुकारलाई भोट दिने सहमति परिवारमा भइसकेको सुनाए । उनले भने, ‘सबैलाई घण्टीमा दिने सहमति भइसक्यो । ढुक्क हुनुस् ।’
बलवारले आफ्नो विगत पनि सम्झन भ्याए । विगतमा ‘केआईसिंह जिताएर रंगनाथलाई चुनाव हराउने म नै हुँ’ भन्दै कस्सिए । मतदाताका आश्वासनले जोस्सिएका कार्यकताले सँगसँगै स्कुटरमा स्पिकर बाँधेर हिँडिरहेका थिए । बलवारको आश्वासनमा लय मिलाउँदै गीत घन्काइहाले, ‘देशैभरी सुन्नेगरी घण्टी बजाऔँ… ।’
जब कसैले भोट दिने आश्वासन दिन्थ्यो, पुकारले टोलछिमेकमा पनि आफ्ना लागि प्रचार गरिदिन अनुरोध गर्थे । ‘हुन्छ, हुन्छ । तर जितेर पनि आउनुपर्यो है,’ जितेपछि नेता नफर्किने गरेको गुनासो सम्झँदै कतिपय मतदाताले जवाफ दिइहाल्थे ।

पुकारको टिममा २० जना हाराहारी घरदैलोमा हिँडेका थिए, जसमा केहीले आलोपालो माइकिङ गर्थे । एकजना फोटो/भिडियोग्राफर थिए । तर, सबैतिर फोटो खिच्न र भिडियो बनाइरहने उनी बेलामौकामा रोकिन्थे । कारण, कतिपय यस्ता मतदाता हुन्थे, जो अन्य पार्टीमा आबद्ध हुन्थे । ती पार्टीका नेता भेट्दा ‘फोटो नखिच्ने’ सल्लाह नै हुन्थ्यो ।
यसबारे चासो राख्दा पुकारले अनलाइनखबरसँग उत्साही हुँदै जवाफ फर्काए, ‘हाम्रोमा एमाले र कांग्रेसका थुप्रै मान्छे प्रवेश गरिसक्नुभयो । कतिले चाहिँ खुलेर समर्थन नगरेपनि भित्रभित्रै हामीलाई साथ दिने वाचा गर्नुभएको छ ।’
कांग्रेसी गढ मानिने मण्डीखटारका गल्लीहरु छिचोल्दा माइकिङले राजनीतिक गर्मी बढाइरहेको थियो । पोल र रुखहरुमा टाँगिएका कांग्रेसका झन्डा छिचोल्दै हिँड्दा माइकिङमा रास्वपा कार्यकर्ताले नारा लगाइरहन्थे, ‘काठमाडौं–४ यसपटक पुकार ।’
रास्वपा टोलीका अनुसार मंगलबारको घरदैलो विशेषगरी बुढानिलकण्ठ नगरपालिका–९ केन्द्रित थियो । तर, वडा नम्बर ८ मा पनि केही भाग बाँकी रहेकाले उनीहरुले त्यता पनि भ्याउँदै सोच बनाए । क्षेत्र नम्बर ४ का रास्वपा सभापति रबि बन्जारले उम्मेदवारलाई गाइड गरिरहेका थिए । अझ ८ नम्बर वडा आफ्नै वडा भएकाले उनले सक्रियताका साथ स्थानीय मान्छे बोलाउने र उम्मेदवारसँग भेटघाट गराउने काम गरे ।
जति घरबाहिर निस्केर पुकारलाई भेट्थे, मत हाल्ने आश्वासन दिन्थे । ‘मलाई त भेट्नै पर्दैन नि ! भोट आइहाल्छ,’ एक मतदाताले ढुक्क बनाए । मतदाताबाट ढुक्क हुँदै अघि बढेका कार्यकर्ताले गीत बजाउँदै बाटो तताइरहे –
‘घामलाई पनि हेर्यौ यहाँ, रुखलाई पनि हेर्यौँ
यसपाली त भोट हाल्ने सोच पनि फेर्यौँ… ।’
यही गीतले मात्र सबै घरदैलो धान्नेवाला थिएन । गल्ली थर्काउनेगरी घन्किरहने गीतमध्ये अर्को थियो, ‘छोड्न बाबू छोड, छोड्न बाबू छोड्… यसपालीको निर्वाचनमा घण्टीलाई हो भोट ।’
मण्डीखटारकै एक गल्लीभित्र रहेको घिमिरे कोल्ड स्टोरमा पुगेपछि पसले परिवारले घण्टीमा भोट हाल्ने वाचामात्रै गरेनन् । भित्रबाट घण्टी नै ल्याएर उम्मेदवारको अगाडि बजाए । एकअर्कामा खुसी साटेर फेरि बाटो लागे ।
अर्को घरमा पुगेपछि भेटिए, ६४ वर्ष सुरेश ठाकुर । नातिनीलाई साथमै बोकेर आएका उनले पुकारलाई काठमाडौं–१ बाटै चिनेको बताए । मत माग्न घरघरै नआएपछि आफूले पुकारको अभियान पहिल्यैदेखि हेरिरहेकोले मत दिने कुरामा आश्वस्त रहन अनुरोध गरे ।
मतको अपिल गर्दै हिँडिरहेका पुकारले चिया पसलदेखि किराना पसल केही छाडेनन् । अर्बन चियाभित्रै छिरेर युवाहरुसँग भेटघाट गरे । वाचापत्र थमाए ।
यसरी पुकारले मत माग्दै गर्दा सँगै हिँडिरहेका कार्यकर्ता भने चुनावी गणितको हिसाब निकाल्थे । उनीहरुका गफ सुन्दा काठमाडौं–४ मा कांग्रेसभित्रकै असन्तुष्ट मतले आफूहरुलाई थप बलियो बनाउने आँकलन गरिरहेको बुझ्न सकिन्छ । जस्तै, उनीहरुका अनुसार मोहन बस्नेत, रामहरि खतिवडा लगायतका ‘रुष्ट कांग्रेसी’ सोही क्षेत्रमा रहेकाले त्यताको मत रास्वपालाई आउँछ । काठमाडौं–१ सँग जोडिएकाले प्रकाशमान सिंह पक्षका असन्तुष्ट पक्षले पनि रास्वपामा मत हाल्ने विश्वास कार्यकर्ताले गरिरहेका थिए ।

त्यसैले कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनालाई भन्दा एमाले उम्मेदवार राजन भट्टराईलाई रास्वपाले प्रतिस्पर्धीको रुपमा हेरिरहेको बुझ्न सकिन्थ्यो । ‘एमालले आफ्नो मत जोगायो भने कांग्रेसको असन्तुष्ट भोट हामीतिरै आउँछ । बरु एमाले नै हाम्रो प्रतिस्पर्धी हो, त्यताको मत तान्न ध्यान दिनुपर्छ,’ कार्यकर्ताहरुको हिसाब चलिरहेको थियो ।
मण्डीखटार चोकदेखि भित्रको क्षेत्र कांग्रेस र कम्यूनिस्टको गड भएको बुझाई रास्वपा नेता/कार्यकर्ताको थियो । त्यसैले पनि मेहनत आवश्यक रहेको भन्दै चौथोपटक उनीहरु त्यस क्षेत्रमा प्रवेश गर्दै थिए । यसरी जाँदा कुनै एक घरमा कम्युनिस्ट पृष्ठभूमिका मतदाता भेटिए । ती मतदाताले पुकारलाई भोट दिने वाचा त गरे, तर छुटिनेबेला झुक्किएर मुठी उचाले । एकाएक हासो फुट्यो । ‘नानीदेखि लागेको बानी, भोट हामीलाई हालेपनि अभिवादनमा चाहिँ मुठ्ठीले नछाड्ने भयो,’ एक कार्यकर्ताले ठट्टामिश्रित अभिव्यक्ति दिए ।
त्यसपछि पुकार अर्को घरमा छिरे । मतदाता घरबाट तलै ओर्लिए । ‘लु है हजुर, यसपटक तपाईंहरुले भोट पाउनुहुन्छ । युवाहरू लिएर, मिलाएर अघि बढ्नुस् । जिताउने हाम्रो काम, परिवर्तन अनुभूत गराउने जिम्मा तपाईंको,’ पुकारलाई जिम्मेवारी सम्झाउँदै ती मतदाता बोले ।
नाम खुलाउन नचाहेका ती मतदाताले उम्मेदवार हिँडेपछि अनलाइनखबरसँग कुराकानी गर्दै थप भने, ‘हामी परिवर्तन भएन भन्छौं । अनि नयाँ आए भने पनि विश्वास नै गर्दैनौं । यसरी त कसरी हुन्छ ? यसपटक परिवर्तनको लागि म पनि पहल गर्छु ।’
रास्वपाका महाधिवेशन प्रतिनिधि देवेन्द्र मास्के माइकिङ गर्दै अघिअघि हिँडिरहेका थिए । स्कुटरमा स्पिकर बाँधेर घरदैलोमा हिँडेको टोलीलाई पछ्याउँदै थिइन्, एक महिला । मतदातासँग सवालजवाफ गरिरहेका पुकारलाई मतदाता कविता कोइरालाले रास्वपाको चुनाव चिन्ह घण्टीको चर्चा गरिन् । उनका अनुसार, घण्टी भनेको पवित्र हो । अब संसद भवन मन्दिर जस्तै हुनुपर्छ ।
‘तपाईंलाई शुभकामना । अर्कोपटक यसरी भोट माग्नै आउनुनपरोस् । काम गरेपछि उसै जितिन्छ । काम गरेर मत पाउने वातावरण बनाउनुस्,’ कोइरालाले भनिन् ।
यसरी घरघर हिँडिरहेका पुकार बेलाबेला ‘प्रतिबद्धतापत्र चाहिँ नछुटोस् है’ भन्दै अनुरोध गरिरहन्थे । रास्वपा टोली काठमाडौ क्षेत्र नम्बर ४ र ५ को सिमानामा घरदैलो गर्नथाल्यो । काठमाडौं–५ का उनका समर्थक पनि ‘बक्स कल्भर्ट’ बनाइरहेको सो क्षेत्रमा निस्किए । आफूले क्षेत्र नम्बर ४ मा पर्ने छिमेकीलाई मत दिन अनुरोध गर्ने बताए ।
स्थानीय शान्तिकुमारी राई त घण्टी लिएरै निस्किइन् । उम्मेदवारसँगै नाचिन् । त्यसपछि भर्याङ चडेर फेरि वडा नम्बर ९ तिरै टोली निस्कियो । पुकारले घरदैलोको सुरुवातदेखि नै मतदाता शिक्षाको काम पनि गरिरहेका थिए । विशेषगरी, पछिसम्मै पाका वयका मतदाता भेट्दा भोट हाल्न सिकाए । वाचापत्र सँगै नमुना मतपत्र छाडेर हिँड्थे ।
जब मन्दिर देख्थे, छिरेर हात जोड्दै घण्टी बजाएर अघि बढ्थे । तर, मण्डीखटार हाइटतिर भने सोचेजस्तो महोल भएन । अझ कांग्रेस नेतृ सुजता कोइरालाको घर आसपास पुग्दा मान्छे बाहिर निस्केका थिएनन् ।
बरु पुकारले नै कुरेर भेट्नुपर्ने अवस्था थियो । मान्छे नभएपछि घरघरमा वाचापत्र छाडेर हिँड्थे ।
सर्वेश्वरी मार्ग छेउछाउ पुगेपछि भने पुकारलाई विवेकशील अभियानदेखि नोट गरिरहेकी एक मतदाता भेटिइन् । उनले घरको बार्दलीबाटै भनिन्, ‘विवेकशीलदेखि हेरिरहेको छु । विश्वास नतोड्नुस् । हाम्रो भोट पक्का ।’ पुकारले पनि विश्वास नतोड्ने वाचा खाए ।
केही मतदाताले भने पुराना नेताहरुले देश बिगारेको भन्दै गुनासो सुनाउँथे । ४४ वर्षीया विमला आचार्यले आफ्नी छोरी देखाउँदै भनिहालिन्, ‘यो पनि जेनजी हो । हाम्रो दुई भोट पक्का ।’
‘आमाछोरी निजी निवास’ लेखिएको आफ्नो घरको साइनबोर्ड देखाउँदै उनले अनुरोध गरिन्, ‘मेरो छोरीलाई फोटो खिच्न मन छ, लौन ।’
पुकारसँग उभिएर आमाछोरीले एक सेल्फी लिइहाले ।

६७ वर्षीया मतदाता सकुन्तला सापकोटाले त आशिर्वाद दिँदै रास्वपा मन्त्रालय नै बाँडफाँड गरिदिइन् । उनको अपेक्षा रहेछ, बालेन प्रधानमन्त्री बनुन्, अनि रबि लामिछाने गृहमन्त्री । यी मतदाता फूल बोकेर उम्मेदवारलाई कुरिरहेकी रहेछिन् । पुकारलाई फूल सिउरिँदै ‘ल है बाबू जितेर देश बनाउनुपर्छ’ भन्दै भावुक भइन् । सँगसँगै हिँडेका आफ्नै छिमेकी देखेपछि आश्चर्य मान्दै थप भनिन्, ‘…अनि बाबू कांग्रेसको मान्छे पनि यतै ? लु है, पहिलाकोलाई जस्तै जिताउनु अब ।’
घरदैलोमा पुकारले देखाएको शैली अन्य उम्मेदवारभन्दा केही फरक थियो । उनले मतदातालाई भेट्दा स्थास्थ्य अपडेट लिन्थे, अनि छुटिने बेला ‘स्वास्थ्यको ख्याल गर्न’ भन्थे ।
मण्डीखटारकै खड्का बस्तीकी ५८ वर्षीया कान्छी श्रेष्ठले पनि यसपटक घण्टीमा मत दिने मनस्थिति बनाएकी रहेछिन् ।
रास्वपाको टोलीले भेटघाट गएर गएपछि अनलाइनखबरसँग कुराकानी गरेकी उनी कांग्रेस सभापति गगन थापालाई लिएर असन्तुष्ट सुनिइन् ।
यसअघि कांग्रेसमा मत हालिरहेकी उनले ‘प्रधानमन्त्री हुनेबेला आफूहरुलाई धोका दिएको’ बताइन् ।
‘सबै उस्तै त रहेछन् । नयाँलाई दिएपनि केही होला भन्ने त लाग्दैन, तर एक मौका त दिनुपर्ला,’ परिवारको चार भोट होल्ड गरेकी श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘खासमा बोतल मात्र फेरेर भएन, पानी नि फेर्नुपर्यो । तर, अहिले त्यो अवस्था नरहेपनि नयाँलाई हेर्छौँ ।’
कांग्रेस सभापति थापाप्रति संकेत गर्दै उनले थपिन्, ‘पहिलाका त जितुन्जेल भोट माग्न आए, ठूलो मान्छे बन्ने भएपछि भागे । सबै त्यस्तै त होलान् । आशा कोहीसँग पनि छैन । तर पनि एउटालाई त पत्याउनैपर्यो नि !
रास्वपा टोलीले मंगलबारको घरदैलो धोबीखोला छेउ एकता बस्ती आसपास पुगेपछि अन्त्य गर्यो । त्यहाँ पुगेपछि माहोल तुलानात्मक रुपमा झन बढ्यो । ४५ वर्षीया सुजता थापा रास्वपाको क्याप लगाएरै घरबाट ओर्लिइन् । उनले देशको स्वास्थ्य बनाउन पुकारसँग अनुरोध गरिन् । उनका लागि विदेशिएका युवा रोक्नसके मात्र पनि देशको स्वास्थ्य ठिक भएको अनुभूत हुन्छ ।
थापाका मेकानिकल इन्जिनियर सकेका एक छोरा छन् । सँगै अर्की छोरी थिइन्, जसले यो सवालजवाफको भिडियो खिचिरहिन् । ‘मेरो छोराले पढाइअनुसारको अवसर पाएन । त्यो अहिले जर्मन छ । छोरी पनि अब पढ्दै छ, यो पनि बाहिरै जान्छे पनि भन्ने चिन्ता छ । कम्तिमा मेरा छोराछोरी मसँगै रहने वातावरण बनाउनुभयो भने खुसी हुन्छु । पुरानाले गरेनन्, अब तपाईंहरुलाई यसपटक मौका दिन्छौँ,’ थापाले भनिन्, ‘छरछिमेकलाई पनि घण्टीलाई भोट हाल्न भनेको छु । धोका दिनचाहिँ पाइँदैन ।’
‘फेलोशिप र क्राउडफन्डिङ एक एक जिम्मा लिन्छु’
घरदैलो कस्तो चलिरहेको छ ?
आज पनि विशेष गरी बुनपा ८ र ९ मा घरदैलो गर्यौं । यहाँ हामी आज चौथो चरणमा छौं – पहिले पैदल यात्रा र घरदैलो थियो, अहिले जागरण यात्राको रूपमा घरदैलो चलिरहेको छ । हामी एकदम उत्साहित छौं ।
३०/४० वर्षदेखि पुरानो पार्टीप्रति आस्था राख्नेहरू पनि नयाँ दललाई लिएर उत्साहित छन् । बुनपा-१० मा कम्युनिस्ट ब्याकग्राउन्डका जिल्लास्तरीय नेताहरू पार्टी प्रवेश गर्नुभयो । बुनपा–८ मा पनि उपसभापतिसहित धेरै व्यक्ति कांग्रेसबाट आए ।
मान्छेहरू वाक्क दिक्क छन् । अब स्थिर सरकार चाहिन्छ भन्नुभएको छ । ५ वर्षको एकल बहुमतको सरकार बनाएर योग्यता, अनुभव र क्षमता हेर्ने हो भन्ने कुरा सुन्छु ।
काठमाडौं ४ लाई कसरी चिन्नुहुन्छ ?
७/८ वर्षदेखि यतै बसेको छु । परिवार, आफन्त सबै यतै हुनुहुन्छ । यहाँ कति समस्या पुरानै छन् । कति नयाँ थपिएका छन् । यहाँ ५२ प्रतिशत महिला छन्, धेरै पुरुष बाहिर छन् । महिलालाई उद्यमशीलतामा जोड्ने अवसर छ । पशुपतिनाथदेखि विभिन्न सम्पदाहरु यस क्षेत्रमा पर्छन् । त्यसका लागि पनि काम गर्नुपर्ने छ ।
सम्पदा संरक्षण मात्र होइन, सम्पदा पर्यटन र दिगो विकाससँग जोड्नुपर्छ ।

अब बागमती सफाइ मात्र होइन, कोरिडोर बनाएर पर्यटन, रेस्टुरेन्ट, रिट्रीट सेन्टर बनाउने सम्भावना छ ।
विगत २५/३० वर्षदेखि जितेका नेताहरूले पानी, ढल, बत्तीमै सीमित राखे । सांसदको काम नीति निर्माण, बजेट, समन्वय हो । तर यहाँको लागि त्यो पनि भएको देखिँदैन ।
यो क्षेत्रमा तपाईंको प्रतिस्पर्धी को हो ?
मेरो लागि व्यक्ति वा पार्टी होइन, प्रवृत्ति हो । भ्रष्टाचार, लुटतन्त्र, कुशासन, माफियाजस्ता गलत प्रवृत्तिविरुद्ध २२ वर्षदेखि लड्दै छु । त्यसैले मेरो प्रतिस्पर्धी हिजोको कुशासन, भ्रष्टाचार, अनियमितता सबै हो । व्यक्तिलाई लिएर केही भन्दिनँ । पुराना प्रवृत्तिविरुद्ध हाम्रो लडाईं हो भनेर बुझिदिनुहोला ।
तपाईं यसअघि काठमाडौं–१ बाट दुईपटक लड्नुभयो । त्यो क्षेत्रलाई धोका दिएर यता आउनुभयो भन्ने आरोप पनि छ नि !
धोका होइन । म पार्टीको केन्द्रीय भूमिकामा रहेकाले समग्र देशलाई हेर्नु जिम्मेवारी पनि हो । क्षेत्र नम्बर १ सँग माया–सद्भाव छँदैछ ।
तपाईंहरुलाई थाहा नै छ, क्षेत्र नम्बर ४ मा कोही आउन मान्दैनथे । गगन थापाले सर्लाही जाने निर्णय नगरुन्जेल पोलिटिकल सुसाइड हुन्छ भनेर सबै डराएका थिए । एमाले उम्मेदवार राजन भट्टराईले त गगन थापा उता जाने भनेपछि बल्ल उम्मेदवारी दर्ता गराउनुभयो । त्यो बेला पार्टीले पनि मलाई यो क्षेत्रमा पठायो– किनकि यो संवेदनशील छ, संगठन बुझेको र अनुभवी नेता चाहिन्छ भनेर । त्यो समयमा म यहाँ आएको हुँ । त्यसैले मलाई अवसरवादी भन्न मिल्दैन । मैले धोका दिएको पनि छैन । उक्त क्षेत्रसँग पनि म सधैँ सम्पर्कमा नै रहेको छु ।
हार्वर्ड फेलोशिप र क्राउडफन्डिङको विवादबारे के भन्नुहुन्छ ? आममान्छेको पैसा उठाएर ठग्यो भन्ने आरोप तपाईंमाथि लगाइरहेका छन् नि !
हार्वर्डको ‘एडवार्ड एस म्यासन’ फेलोसिप पाएको थिएँ । ट्रम्प प्रशासनले फन्ड कटौती गरेपछि विकल्पमा कि त आफैँ पैसा हालेर जानुपर्ने वा छाड्नुपर्ने अवस्था थियो ।
तर, मैले यसैपटक जानुपर्छ भन्ने सोच बनाएँ । सामाजिक पूँजीमा विश्वास गरेर पक्कै सहयोग मिल्ला भनेर आह्वान गरेँ । केही पैसा पनि उठ्यो । बाहिर रहेका साथीहरुले पनि बस्नेखाने सहयोग गर्ने बताए । मैले एकएक रुपैयाँको जिम्मा लिनसक्छु । सबैको हिसाब छ । कसैलाई यसबारे बुझ्न मन छ भने विस्तृत ‘पुकार बम डट कम’मा गएर हेर्नसक्नुहुन्छ ।
प्रतिक्रिया 4