+
+
Shares

महोत्तरी-४ : सेरहाका मतदाताको एकै स्वर- जन्ती राख्ने धर्मशाला चाहियो

करिब १०० घरधुरी रहेको यो गाउँमा जन्ती राख्ने सार्वजनिक स्थल छैन । धर्मशाला नहुँदा कहिले गोठ त कहिले धान मिलमा जन्ती राख्नुपर्ने बाध्यता छ ।

विजयकुमार सिंह विजयकुमार सिंह
२०८२ फागुन १३ गते १६:४३
बायाँबाट क्रमशः शत्रुधन महरा, अब्दुल रसिद, झग्रु मुखिया, सुखल दास र गणेश राय ।

१३ फागुन, महोत्तरी । महोत्तरीको औरही नगरपालिका-४ सेरहा गाउँका बासिन्दालाई छोरीको विवाह गर्दा उत्सवभन्दा बढी जन्ती व्यवस्थापनको तनाव हुन्छ ।

करिब १०० घरधुरी रहेको यो महोत्तरी-४ को यो गाउँमा जन्ती राख्ने सार्वजनिक स्थल छैन । धर्मशाला नहुँदा कहिले गोठ त कहिले धान मिलमा जन्ती राख्नुपर्ने बाध्यता छ ।

२०७९ सालको चुनावमा धर्मशाला बनाइदिने अश्वासन पाएपछि यहाँका अधिकांश मतदाताले नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरे । चुनाव कांग्रेसले नै जित्यो ।

वाचा गरेका र आफूहरूले भोट दिएकै उम्मेदवार निर्वाचित भएपछि सेरहा टोलका स्थानीयवासी धर्मशाला बन्नेमा ढुक्क थिए । तर अर्को चुनाव आयो, गाउँमा धर्मशाला बन्ने बजेट आएन । धर्मशाला नबनेपछि यहाँका स्थानीय निराश छन् ।

बस्तीका ७२ वर्षीय सुखलाल दास भन्छन्, ‘यसपटक उधारो कुरा गर्दैनौं । धर्मशाला बनाइदिनेलाई मत दिन्छौं ।’ यसपालि सर्त नै राखेर मत दिनुपर्ने आफूहरूको बाध्यता रहेको उनी बताउँछन् ।

‘सर्तसहित मत दिनु भनेको दान हैन, बेच्नु सरह हो । भोट बेच्नु हाम्रो बाध्यता हो । नेताहरूको ठगी शैलीले हामी दिक्क भइसक्यौं,’ सुखलाल भन्छन्, ‘भोट लिएर गएपछि नेताहरू गाउँ फर्किंदैनन् ।’

झगरु मुखियाको गुनासो पनि उस्तै छ । छोरीको विवाह गाउँवासीका लागि टाउको दुखाइ बनेको उनको दुखेसो छ । ‘हामीले जिताएको नेताले आफ्नै गाउँमा ५-६ वटा धर्मशाला बनाइसके । तर हामीसँग गरेको वाचा बिर्सिए,’ झगरु भन्छन् ‘जन्तीलाई कहिल्यै गोठमा, कहिले धान मिलमा राख्नु परेको छ । हामीलाई धर्मशाला बनाइदिने नेता चाहियो ।’

स्थानीय मतदाता गणेश राय भने गाउँमा कम्तीमा माध्यमिक शिक्षाको व्यवस्था हुनुपर्ने बताउँछन् । नेताहरूको नीति ठिक भए पनि नियत ठिक नभएको उनको टिप्पणी छ ।

सेरहा गाउँ ।

‘यो गाउँ शिक्षा, स्वास्थ्य, ढल निकास जस्ता आधारभूत विषयमा पछाडि छ । त्योभन्दा पहिले धर्मशाला चाहिएको छ । हामीलाई छोरीको विवाह गर्न हम्मेहम्मे पर्छ । जन्तीलाई गोठ र मिलमा राख्नुपर्ने बाध्यता छ,’ गणेश भन्छन्, ‘हामी सामूहिक छलफल गरेर मतदान गर्छौं । झुटा अश्वासन बाँड्ने नेतालाई अब धपाउँछौं ।’

सम्सी गाउँपालिका-२ पर्साका ५८ वर्षीय अब्दुल रसिद नेताहरूको घोषणापत्रको कुनै औचित्य नरहेको टिप्पणी गर्छन् । ‘घोषणापत्रको कुरो स्वयं नेताहरूलाई थाहा हुँदैन । रोजगाारी दिन्छु भनेर भोट माग्छन् । तर कसरी रोजगारी दिने भन्ने थाहा छैन,’ शेख भन्छन्, ‘सबै चुनावमा एउटै घोषणापत्र बाँड्छन् ।’

नेताहरूको विकासे एजेन्डामा आफूहरूलाई विश्वास नरहेको उनको भनाइ छ । ‘विकासको आश कसैबाट छैन । सबै धर्म, समुदाय र जातजातिको सम्मान गर्ने नेता चाहिन्छ, मुलुकको भलो गर्ने नेता रोज्नुपर्छ,’ पञ्चायतकालदेखि नै मतदान गर्दै आएका शेखले भने, ‘देशमा भ्रष्टाचार कसैले रोक्न सकेन । जुन दिन भ्रष्टाचार अन्त्य हुन्छ, त्यही दिनदेखि मुलुक समृद्धिको बाटोमा अघि बढ्छ । नाराले मात्रै देश समृद्ध हुँदैन ।’

५२ वर्षीय शेख इरफान पनि शिक्षा नेताहरूको प्राथमिकतामा नपरेको बताँछन् । ‘नारामा जहिल्यै पहिलो नम्बरमा रहेको शिक्षा व्यवहारमा कहिल्यै प्राथमिकतामा पर्दैन । शिक्षा विना मुलुकको समृद्ध सम्भव छैन,’ अब्दुल भन्छन् ‘नेताहरूको शैलीले जनता आजित छन् । जनतासँग मत माग्ने आधार नेताहरूले गुमाइसकेका छन् ।’

नागरिकले नेताको विश्वासमा नभई अन्धविश्वासमा मत हाल्न बाध्य भएको अब्दुलको ठम्याइ छ ।

औरही नगरपालिका-१ का शत्रुधन महरालाई उम्मेदवारहरूको विषयमा खासै जानकारी छैन । सडक र नाला बनाइदिने उम्मेदवारलाई मतदान गर्ने उनी बताउँछन् । ‘उम्मेदवार चुनावमा मात्रै देखिन्छन् । त्यसपछि हामी खोजेर पनि पाउँदैनौं ।’

कुल १ लाख ७ हजार ६०६ मतदाता रहेको यस क्षेत्रमा ६० मतदानस्थल र १३१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस क्षेत्रमा पूर्वकृषि मन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र पूर्वप्रदेश गृहमन्त्री भरतप्रसाद साह गरी तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन् ।

राय नेपाली कांग्रेसबाट, डा. यादव जनता समाजवादी पार्टी (जसपा) नेपालबाट र साह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन् । नेकपाका साह मधेश प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

सेरहा गाउँका स्थानीयहरू ।

तीन पूर्वमन्त्रीलाई चुनौती दिन नेकपा एमालेकी निलम अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गौरीकुमारी यादव सक्रिय छन् ।

यस क्षेत्रको विगत दुई निर्वाचनको परिणाम चाखलाग्दो छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका रायलाई पराजित गर्दै जसपाका डा. यादव निर्वाचित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका डा. यादवले १८ हजार ३५३ मत ल्याउँदा राय १३ हजार २५ मतमा सीमित भएका थिए ।

त्यसपछि २०७९ सालको निर्वाचनमा कांग्रेसका रायले हारको बदला लिँदै जसपाका डा. यादवलाई पराजित गरे । रायले २५ हजार ४४८ मत प्राप्त गर्दा डा. यादवले २१ हजार २९६ मत ल्याएका थिए । यसले मतदाता दलभन्दा पनि उम्मेदवार, स्थानीय प्रभाव र चुनावी सन्दर्भअनुसार निर्णय बदल्न सक्ने देखाउँछ ।

आसन्न निर्वाचनमा कांग्रेसका राय जितको निरन्तरता कायम राख्ने लक्ष्यमा छन् भने जसपाका डा. यादव अघिल्लो निर्वाचनको हारको बदला लिने रणनीतिमा छन् ।

यस क्षेत्रमा जनमत पार्टीका मनोजकुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिलकुमार सिंह, आम जनता पार्टीका सिलमदेवी यादवलगायत ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?