News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनमा नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा रहने बताएका छन्।
- प्रचण्डले निष्पक्ष निर्वाचन भए नेकपाले राम्रो नतिजा ल्याउने र पार्टीभित्र एकता कायम रहेको बताए।
- उनले संविधान र शान्तिप्रक्रिया बचाउन कांग्रेस र एमालेसँग सहकार्य आवश्यक रहेको र वैदेशिक दलालविरुद्ध पनि जानुपर्ने बताएका छन्।
१३ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तयारी धेरै राम्रो भएको ब्रिफिङ गरेका छन् । बुधबार पार्टीनिकट बुद्धिजिबीहरूसँग कुरा गर्दै उनले स्वच्छ, निष्पक्ष निर्वाचन हुने हो भने नेकपाले राम्रो नतिजा ल्याउने बताएका हुन् ।
‘निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो राम्रै हुन्छ । पहिलेभन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् आज भोलि,’ उनले भने, ‘कतिपयले रिपोर्ट निकाल्दाखेरी अप्रत्यासित ६५-७० सिट भन्दा रहेछन् त्यो कत्तिको आधिकारिक हो मलाई पनि थाहा भएन ।’
उनले फागुन २१ को निर्वाचनमा नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा रहेको पनि बताए । ‘कस्सिएर लागियो भने हामी अगाडि आउने सम्भावना छ’ उनले भने ।
उनले पार्टीभित्र एकता कायम रहेको भन्दै थपे, ‘अहिले हाम्रो जस्तो सक्रियता, एकता अरु कसैको पनि देखिएको छैन । एकाद ठाउँ छोडेर । एकाद ठाउँ त अपवाद नै हो। बाँकी सबै ठाउँमा खुसियाली छ ।’
उनले संघीयता, संविधान र शान्तिप्रक्रियाको बचाउका लागि कांग्रेस र एमालेसँग पनि सहकार्य आवश्यक रहेको बताए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ । यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ,’ उनले भने, ‘अहिले हामीमाथि कसैको पनि सीधै आक्रमण परेको छैन । हामीले एकता, राष्ट्रियताको कुरा गरिरहेका छौं । सरकार व्यवस्थित सञ्चालन गर्न सक्ने, तुलनात्मक स्वच्छ छवी भएका नेता भएको पार्टी हाम्रै हो भन्ने जनताले बुझेका छन् ।’
प्रतिक्रिया 4