+
+
Shares

सन् २०२५ मा १२९ पत्रकार मारिए, इजरायलका कारण दुई तिहाइ मारिएको दाबी

इजरायली डिफेन्स फोर्सले खण्डन गर्दै भन्यो– आतंककारीहरू पत्रकारको भेषमा

सीपीजेको रिपोर्टमा नेपालको पनि प्रसंग उल्लेख गर्दै आपराधिक गिरोह, भ्रष्ट राजनीति र अधिनायकवादी राज्यबाट पत्रकारहरु जोखिममा रहेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १०:३२

१४ फागुन, काठमाडौं । सन् २०२५ मा आफ्नो पेशागत कर्तव्य निर्वाह गर्ने क्रममा १२९ जना पत्रकार तथा सञ्चारकर्मी मारिएको तथ्यांक सार्वजनिक भएको छ । ती १२९ जनामध्ये करिब दुई तिहाइ पत्रकार इजरायलका कारण मारिएको दाबी गरिएको छ ।

‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)’ ले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सो तथ्यांक उल्लेख छ ।

प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरेको भनिएको न्यूयोर्कस्थित गैरनाफामूलक संस्था सीपीजेका अनुसार पत्रकारको मृत्यु संख्या लगातार दोस्रो वर्ष पनि कीर्तिमान स्तरमा पुगेको हो ।

सीपीजेको प्रतिवेदनमा सन् १९९२ देखि तथ्यांक संकलन सुरु गरेयता कुनै पनि सरकारको सेनाले भन्दा इजरायली डिफेन्स फोर्स (आईएफडी)ले बढी लक्षित रूपमा पत्रकारहरूको हत्या गरेको दाबी गरिएको छ ।

इजरायली डिफेन्स फोर्सको खण्डन

इजरायली डिफेन्स फोर्सको खण्डन (आईएफडी)ले भने यी दाबीहरूलाई अस्वीकार गर्दै आफूले जानाजानी पत्रकार वा उनीहरूका परिवारलाई हानि नपुर्‍याउने जनाएको छ । उसले प्रतिवेदन ‘सामान्य आरोप, अज्ञात स्रोतका तथ्यांक र पूर्वनिर्धारित निष्कर्षमा आधारित रहेको तथा युद्धको जटिलता र गैर–युद्धरत नागरिकलाई हुने क्षति कम गर्न आईएफडीले गरेका प्रयासलाई बेवास्ता गरिएको’ दाबी गरेको छ ।

सीपीजेका अनुसार सन् २०२५ मा इजरायलका कारण ८६ जना पत्रकार मारिएका थिए । तीमध्ये ५५ जना गाजाका प्यालेस्टिनी पत्रकार थिए भने बाँकी यमनस्थित हाउथी सञ्चार केन्द्रमा मारिएका थिए, जसलाई आईएफडीले उक्त आतंकवादी समूहको ‘प्रोपागान्डा आर्म’ (प्रचार संयन्त्र) भनेको छ ।

प्रतिवेदनअनुसार १२९ मध्ये कम्तीमा १०४ जना पत्रकार सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनामा मारिएका थिए । गाजा र यमनबाहेक पत्रकारका लागि सबैभन्दा घातक देशहरूमा सुडान र मेक्सिको छन् । सुडानमा ९ जना र यमनमा ६ जना मारिएको तथ्यांंक छ ।

युक्रेनका ४ जना पत्रकार रुसी सेनाका कारण मारिएका थिए, जुन सन् २०२२ मा मारिएका १५ जनाभन्दा कम हो । फिलिपिन्समा ३ जना पत्रकारको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

आईएफडी भन्छ– आतंककारीहरू पत्रकारको भेषमा

प्रतिवेदनमा समेटिएका मृतक पत्रकारमध्ये नासेर अस्पताल, खान युनिसमा भएको आक्रमणमा मारिएका रोयटर्सका हुस्साम अल–मस्री पनि छन् । त्यस्तै, हमासको बेत हानुन बटालियनका स्नाइपर हुस्साम शबात पनि सूचीमा समावेश छन् । उनलाई आईएफडीले अल जजीरा पत्रकारको भेषमा रहेको दाबी गरेको छ ।

आईएफडीले शिन बेटसँग मिलेर शबातको हमास र अल–कासाम ब्रिगेड्स (हमासको सैन्य शाखा) सँगको सम्बन्ध उजागर गरेको दाबी गरेको छ । सन् २०१९ मा सैन्य तालिममा सहभागी भएको प्रमाणित गर्ने हमासका आन्तरिक कागजात सार्वजनिक गरेर उक्त सम्बन्ध देखाइएको आईएफडीको भनाइ छ ।

अगस्ट २०२५ मा आईएफडीले गाजा क्षेत्रमा अल जजीरा संवाददाताका रूपमा काम गर्दै आएका हमासका एक सदस्य अनास अल–शरीफको मृत्यु पुष्टि गरेको थियो ।

सन् २०१३ देखि हमासका सदस्य रहेको सैन्य दाबीअनुसार अल–शरीफ गाजा सिटीस्थित शिफा अस्पताल नजिक मारिएका थिए । उनलाई हमासको रकेट आक्रमणमा सहयोग गरेको आरोप लगाइएको थियो ।

गत वर्षको अन्त्यतिर गरिएको एक अध्ययनअनुसार गाजा युद्धका क्रममा मारिएका र आफूलाई पत्रकार बताउने व्यक्तिमध्ये ६० प्रतिशत हमास वा प्यालेस्टिनी इस्लामिक जिहादजस्ता आतंकवादी संगठनसँग आबद्ध रहेको दाबी गरिएको छ । यसले हमास र विभिन्न गैरसरकारी संस्थाले गरेका दाबीलाई खण्डन गर्ने उल्लेख गरिएको छ ।

नेपाली पत्रकार पनि असुरक्षित

रिपोर्टमा नेपालको पनि प्रसंग उल्लेख गर्दै आपराधिक गिरोह, भ्रष्ट राजनीति र अधिनायकवादी राज्यबाट पत्रकारहरु जोखिममा रहेको उल्लेख छ ।

‘पत्रकारहरू युद्ध रिपोर्टिङ गर्दा मात्र जोखिममा पर्दैनन् । बंगलादेश, कोलम्बिया, ग्वाटेमाला, होन्डुरस, भारत, मेक्सिको, नेपाल, पेरु, फिलिपिन्स, पाकिस्तान र साउदी अरेबियामा पनि पत्रकारहरू मारिएका छन्,’ रिपोर्टमा लेखिएको छ, ‘यसले कानुनी शासन कमजोर भएका, आपराधिक समूहहरू स्वतन्त्र रूपमा सक्रिय रहने र राजनीतिक नेताहरूले अनियन्त्रित शक्ति प्रयोग गर्ने देशहरूमा देखिने प्रवृत्तिलाई झल्काउँछ ।’

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकबारे रिपोर्टमा उल्लेख छ । ‘राजनीतिक अस्थिरता पनि पत्रकारहरूका लागि खतरा बढेको’ भन्दै रिपोर्टमा लेखिएको छ, ‘आन्दोलन कभरेजका क्रममा हुने अधिकांश हिंसात्मक घटनाले ज्यान लिँदैनन्, तर नेपालमा भने काठमाडौंमा भएको हिंसात्मक राजावादी प्रदर्शन कभरेजका क्रममा एभिन्युज टेलिभिजनका वरिष्ठ भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परी मृत्यु भएको थियो ।’

सीपीजेका अनुसार यो अनुसन्धान रिपोर्ट ७ अक्टोबर २०२३ देखि ३० नोभेम्बर २०२५ सम्म २६६ जनाको मृत्यु भएका घटनाको अध्ययनबाट तयार पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?