News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दिवाकर भट्टराईले मुम्बईबाट फर्केका कतिपय फिल्मकर्मीहरूको व्यवहारप्रति फेसबुकमा तिखो टिप्पणी गरेका छन्।
- फिल्म 'शिवांश' बक्स अफिसमा असफल भएको र प्राविधिक त्रुटीले आर्थिक भार थपेको निर्माता अन्जन केसीले बताएका छन्।
- प्राविधिक र निर्देशकबीच पोस्ट–प्रोडक्सनमा समय र बजेट अभावले काम प्रभावित भएको साउन्ड डिजाइनर भरत कंडेलले बताएका छन्।
फिल्म निर्देशक दिवाकर भट्टराईले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै मुम्बईबाट फर्केका कतिपय फिल्मकर्मीहरूको व्यवहारप्रति तिखो टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘आजकाल नेपाली फिल्ममा मुम्बईबाट आएको ‘म यस्तो, उस्तो’, ‘यसलाई चिन्छु, उसलाई चिन्छु’ भनेर आइडेन्टी देखाएर आफूलाई भयंकर ठान्ने वालाहरूले मुम्बईकै बेइज्यत गर्लानजस्तो भइसक्यो ।’
उनी यतिमै रोकिदैनन् । ‘मुम्बईमा राम्रो पोजिसनमा काम गर्ने र सफल हुने धेरै नेपालीहरू नेपाली फिल्ममा करियर बनाउन फर्कँदैनन्’ उनले भनेका छन्, ‘मेरो २–४ अनुभव अनुसार, काम नपाउन्जेल यिनीहरू मुसो जस्तो हुन्छन्, काम पाएपछि अलिक स्ट्रोङ देखाएर बाघ बन्न खोज्छन्, तर वास्तविकतामा यिनीहरू स्याल हुन् । त्यसैले मुम्बईबाट फर्केको भनेर ठूला हेडलाइन छाप्नु भन्दा पहिले, त्यहाँ के काम गरेको, कस्तो काम गरेको, कहाँ काम गरेको भन्ने कुरालाई पनि हेर्नुपर्छ ।’
यसअघि दिवाकरले अनलाइनखबरसँग कुरा गर्दै कतिपय प्राविधिकको कारण फिल्ममेकर्सले निकै हैरानी खेप्नुपरेको बताएका थिए । एक प्राविधिकले उनको नाम नै तोकेर ‘पारिश्रमिक नपाएको’ दुखेसो गरेपछि दिवाकर त्यसको प्रतिरक्षामा उभिएका थिए ।
दिवाकरले प्राविधिकलाई लक्षित गर्दै टिप्पणी गरेको समाचार प्रकाशित भएपछि भरत कँडेलले लेखे, ‘धन्यवाद निर्देशक सर । हजुरले मेरो काम कसरी गर्नुपर्छ भनेर सचेत गराउनुभएकोमा आभारी छु । अहिले बुझ्दैछु कि काम कसरी गर्नुपर्छ र कस्तो मेहनत चाहिन्छ । अबदेखि अझ जिम्मेवारीपूर्वक र सही तरिकाले काम गर्ने प्रयास गर्नेछु ।’ कँडेल प्राविधिक हुन् ।
उनीहरूबीचको यो जुहारीले को कति पानीमाथि ओभानो छन् भनेर त समयले नै नतिजा दिनेछ । यद्यपि उसले स्पष्ट रूपमै के संकेत गरेको छ भने प्राविधिक र निर्देशकबीचको यो खटपट नयाँ होइन । र, यो बहसलाई सतहमा ल्याइदिएको छ ।
जस्तो पछिल्लो दृष्टान्त हो, फिल्म शिवांश । गएको शुक्रबार सार्वजनिक भएको यो फिल्म बक्स अफिसमा गोलखाँडी गयो । निर्माण टिमका अनुसार उनीहरूले माउथ पब्लिसिटी बढाउन भनी डेढ लाख रुपैयाँ बराबरको टिकट त आफैं खरिद गरेका थिए । तर, फिल्मले दर्शक फर्काउन सकेन, हलबाट उत्रियो ।
किन यस्तो भयो ?
फिल्मका निर्माता तथा लेखक अन्जन केसीले ‘शिवांश च्याप्टर १’ असफल हुनुमा प्राविधिक त्रुटीमाथि औँला उठाएका छन् । उनका अनुसार फिल्ममा १२३ वटा भिएफएक्स सट तयार गर्न दिइएको थियो । यसका लागि १२–१५ लाख रुपैयाँ खर्च भए पनि अपेक्षित स्तरको काम प्राप्त हुन सकेन ।
नेपालको टिमबाट सन्तोषजनक नतिजा नआएपछि भारतमा काम गराउनुपरेको र त्यसले थप आर्थिक भार थपेको उनले सुनाएका छन् । पोस्ट–प्रोडक्सनकै क्रममा करिब ५३ लाख रुपैयाँ ‘नेगेटिभ आउटफ्लो’ भएको, जसले बजेटको ठूलो हिस्सा सकिँदा प्रमोशनमा समेत असर गरेको अन्जनले बताए ।
अन्जन केसीले मिडियासँगको कुराकानीमा गुनासो गर्दै भने, ‘इमान्दार भएर म फसेँ ।’
फिल्म आफैंमा रचनात्मक काम हो । तर, यो प्रविधिसँग अभिन्न रुपले जोडिन्छ । खासगरी छायांकन सकिएपछि पोस्ट प्रोडक्सन सुरु हुन्छ । यही बेला फिल्मलाई प्रविधिले सिंगारपट्टार गर्ने हो । यस क्रममा सम्पादन, रङ संयोजन, ध्वनि संयोजन, भिएफएक्स जस्ता अनगिन्ती काम गरिन्छ । त्यही चरणमा आएर नेपाली फिल्ममेकर्सले हैरानी खेप्नुपरेको धेरैको गुनासो हुन्छ ।
फिल्ममा करोडौं खर्च गरेर, दिनरात खटिएर काम गरे पनि प्राविधिकले त्यस अनुरुप मिहेनत नगरिदिदाँ आफ्नो लगानी स्वहा भएको उनीहरू बताउँछन् ।
यता प्राविधिकहरू भने फिल्म निर्माता, निर्देशककै बढी कमजोरी रहेको औंल्याउँछन् । उनीहरू भन्छन्, ‘अन्तिम समयमा हतारो गर्ने, फुटेज कम्प्लिट नल्याउने, धेरै दिन करेक्सन गर्ने र समयमा पारिश्रमिक नदिने समस्या छ ।’ अन्तिम अवस्थामा कसरी गुणस्तरिय काम दिन सकिन्छ ? भन्ने प्रश्न उनीहरूको छ ।
निर्देशक मिलन चाम्सका अनुसार प्राविधिकहरू पनि मेकर्सजस्तै क्रियटिभ हुन जरुरी छ, पैसामुखी हुनुभएन । ‘फिल्मको विषयमा यहाँ सधैं मेकर्सलाई मात्र दोष दिने चलन छ, तर मेकर्सको पीडा कसले बुझ्छ ?’ उनी भन्छन्, ‘फिल्म भनेको टिमवर्क हो, जहाँ दुवै पक्षबीच अनुशासन र आपसी सम्मान अनिवार्य हुन्छ नि ।’ दुई पक्ष सन्तुलित भए मात्रै फिल्मको फाइनल आउटपुट दमदार र प्रभावशाली बन्न सक्ने उनको भनाइ छ ।
चाम्सका अनुसार, सुटिङको समयका टेक्निसियनहरू निकै इमानदार देखिए पनि पोस्ट–प्रोडक्सनमा भने निर्माताहरूले धेरै सास्ती खेप्नुपर्छ । विशेषगरी फिल्म सम्पादनको काम समयमा नसकिने समस्या गम्भीर बन्दै गएको उनी बताउँछन् । समयमै काम सक्ने प्रतिबद्धता जनाइए पनि प्रोजेक्ट भने ढिलो बुझाइने प्रवृत्ति रहेको उनको गुनासो छ ।
‘अन्तिम समयमा प्रोजेक्ट हातमा आउँछ, सेन्सर कहिले गर्ने ? पर्सि जस्तो त रिलिज डेट हुन्छ । अब करेक्सन कहिले गर्ने ?’ उनले पोस्ट–प्रोडक्सनको यो अवस्थाले निर्माता तथा निर्देशकलाई धुरुक्कै रुवाउने गरेको सुनाए ।
उनका अनुसार, फिल्म क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन दुवै पक्षले जिम्मेवारी बोध गर्नु आवश्यक छ । अनुशासन, समयपालन र पारस्परिक सम्मान कायम रह्यो भने मात्र नेपाली फिल्म उद्योगले गुणस्तरीय परिणाम दिन सक्ने उनको बुझाइ छ ।
केही एकाध टेक्निसियनले समयमा काम गरेपनि अधिकांश प्रोजेक्टको पोस्ट-प्रोडक्सममा सधैं झमेला व्यहोर्नु पर्ने भन्दै अब सबै सचेत हुनुपर्ने उनले बताए ।
अर्का निर्देशक नवल नेपाल काम गर्दै जाँदा पोस्ट-प्रोडक्सनमा एक किसिमको तनाव सिर्जना हुने विषय स्विकार्छन् । तर, त्यो आवेगलाई क्षणिक मान्नुपर्ने उनको धारणा छ । ‘कतिपय प्राविधिकको अज्ञानताका कारण काम ढिलो हुने र त्यसले निर्माता तथा निर्देशकलाई रिस उठाउनु स्वभाविकै हो’ नेपाल भन्छन् ।
पोस्ट–प्रोडक्सनका सन्दर्भमा टेक्निसियनमाथि मात्र दोष थोपर्नु उचित नभएको साउन्ड डिजाइनर भरत कंडेल बताउँछन् । उनका अनुसार, धेरैजसो अवस्थामा मेकर्सहरूले पहिले नै रिलिज डेट लक गरेर फाइल पोस्ट–प्रोडक्सनमा ल्याउने गर्छन्, त्यसपछि समय अभाव हुँदा टेक्निसियनलाई दोष दिनु न्यायसंगत हुँदैन।
‘पोस्टको प्राविधिक कामका लागि पर्याप्त समय अनिवार्य हुन्छ’ कंडेल भन्छन्, ‘तर वास्तविकता के छ भने साउन्डको फाइनल काम भइरहेका बेला भिडियो सम्पादन समेत सँगै चलिरहेको हुन्छ ।’ कंडेलका अनुसार कतिपय अवस्थामा लिपसिंक बिना पाइलट साउन्ड आउने भएकाले अनुमानको भरमा डब गर्नुपर्ने अवस्था आउँछ । यो टेक्निसियनको गल्ती नभई सिस्टमकै समस्या भएको उनी स्पष्ट पार्छन् । समय र स्पेस नदिइएसम्म पोस्ट–प्रोडक्सनमा सिर्जनशील काम सम्भव नहुने उनले बताए ।
कंडेलले बजेट पक्षतर्फ पनि गम्भीर प्रश्न उठाएका छन् । समग्र फिल्मको २ प्रतिशत पनि पोस्ट–प्रोडक्सनमा छुट्याइँदैन, तर फाइनल प्रोजेक्ट भने हतारमा चाहिन्छ । अधुरो फाइलमा साउन्डको काम गर्नुपर्ने, पटक–पटक एउटै फाइल सम्पादन गर्नुपर्ने, र छोटो समयमा उत्कृष्ट नतिजा दिनुपर्ने दबाबले टेक्निसियनहरू मानसिक तनावमा पर्ने गरेको उनको गुनासो छ।
हालै निर्देशक दिवाकर भट्टराईले स्टुडियोमा २/३ दिन नसुतेर काम गरेको कुरा मिडियामा आएको प्रसंग जोड्दै कंडेल प्रश्न गर्छन्, ‘हामीले कैयौँ रात नसुतेर दिएको कामबारे किन कसैले लेख्दैन ?’
हतार र दबाबमा होइन, पर्याप्त समय र बजेटसहित काम गर्न दिइए मात्रै पोस्ट–प्रोडक्सनको वास्तविक गुणस्तर बाहिर आउन सक्ने कंडेल बताउँछन् ।
फिल्म सम्पादक मित्र डी गुरुङको धारणा पनि साउन्ड डिजाइनर भरत कंडेलको जस्तै छ । उनका अनुसार, एउटै फाइल महिनौँसम्म सम्पादन गर्नुपर्ने अवस्था आउँछ, जुन पेशागत हिसाबले उचित होइन। ‘सुरुमै स्पष्ट समयसीमा तय गर्नुपर्छ’ गुरुङ भन्छन्, ‘यति समयमा काम सक्छु भनेर समय लिनुपर्छ । एउटा प्रोजेक्ट १ वर्षसम्म सम्पादन गर्दै बस्ने कुरा त हुँदैन नि ।‘
उनका अनुसार मेकर्सहरूले आवश्यक समयमा फुटेज वा फाइनल सामग्री उपलब्ध नगरिदिँदा काम समयमै सकिन्न । पछि ढिलाइ हुँदा दोष भने टेक्निसियनमाथि नै लगाइन्छ।
सम्पादक गुरुङका अनुसार, लामो फिल्म यात्रामा धेरै मेकर्सहरूले समय व्यवस्थापनमा ध्यान नदिई हतार–हतारमा काम गर्ने प्रवृत्ति देखिन्छ । रिलिज नजिकिँदै जाँदा अचानक दबाब सिर्जना गरिन्छ, जसले सम्पादनजस्तो संवेदनशील र क्रियटिभ काममा असर पुर्याउँछ ।
प्रतिक्रिया 4