+
+
Shares

सूर्यबहादुर थापालाई ५ पटक प्रधानमन्त्री बनाएको धनकुटामा कसको पल्ला भारी ?

थापाको विरासत बोकेको समूह नै कांग्रेसमा विलय भएपछि धनकुटामा राप्रपाको चमक-धमक लगभग सकिएको छ । थापा अर्थात् राप्रपाको विरासत कमजोर बन्दै गएपछि धनकुटामा राजनीतिक नेतृत्वको केन्द्रबिन्दुमा एमाले उदाएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन १४ गते १३:३४

१४ फागुन, धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाता रिझाउन विभिन्न आश्वासन बाँड्दै घरदैलोमा पुगिरहेका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै जाँदा यो जिल्लामा कसले जित्ला भन्ने अड्कलबाजीहरू भइरहेका छन् । यस पटक धनकुटामा पुराना र नयाँ राजनीतिक दलहरूबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

धनकुटा ५ पटकसम्म देशको बागडोर सम्हालेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा जन्माएको ठाउँ हो । धनकुटामै जन्मिएका नगेन्द्रप्रसाद रिजाल पनि देशको प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् ।

सूर्यबहादुर थापाको उनले बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरासत धनकुटामा क्रमश: हराउँदै गएको देखिन्छ ।पछिल्ला निर्वाचनमा धनकुटामा राप्रपा अस्तित्व रहे पनि प्रतिस्पर्धाबाट भने बाहिरिँदै गएको ।

२०१५ सालमा सल्लाहकार सभाको अध्यक्ष नियुक्त भएदेखि २०७१ सालमा अन्तिम सास फेर्दासम्म थापा नेपाली राजनीतिको केन्द्रमा थिए ।तत्कालीन राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीन जनाको सारथि बनेर पाँच पटकसम्म प्रधानमन्त्री बनेका व्यक्ति हुन् सूर्यबहादुर थापा ।

२०२२ सालमा राजा महेन्द्रको छनोटबाट पहिलो पटक, २०३६ सालको जनमत संग्रहपछि पञ्चायतले जितेपछि राजा वीरेन्द्र छनोटमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । यस्तै, बहुदलीय व्यवस्था आएपछि पनि २०५४ सालमा कांग्रेसको समर्थनमा र २०५९ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी पुनः प्रधानमन्त्री बनेका थिए ।

थापाले प्रधानमन्त्रीका रूपमा धनकुटाका लागि जति गरे, त्यसकै जगमा आजको आधुनिक धनकुटा बनेको बताउने धनकुटामा धेरै छन् । उनकै पहलमा धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको प्रशासनिक सदरमुकाम, धरान-नकुटा सडक, पाख्रिबास कृषि अनुसन्धान केन्द्र, धनकुटा बहुमुखी क्याम्पस र विभिन्न सरकारी कार्यालयहरूको स्थापनाले धनकुटालाई पहाडको एउटा विकसित हब बनाएको बताउने गरिन्छ ।

तर, उनको निधनपछि धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत गुम्दै गएको छ । थापाले आफू असक्त हुन थालेपछि आफ्नो विरासत थाम्न छोरा सुनिलबहादुर थापालाई राजनीतिमा ल्याएका थिए । सुनिलले केही समय राप्रपाको बिँडो थाम्न खोजे । तर उनी २०७७ सालमा दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरे ।

थापाको विरासत बोकेको समूह नै कांग्रेसमा विलय भएपछि धनकुटामा राप्रपाको चमक-धमक लगभग सकिएको छ । थापा अर्थात् राप्रपाको विरासत कमजोर बन्दै गएपछि धनकुटामा राजनीतिक नेतृत्वको केन्द्रबिन्दुमा एमाले उदाएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटाकै दुईवटै क्षेत्रमा तत्कालीन नेकपा माओवादी निर्वाचित भएको थियो ।

धनकुटामा १ लाख १८ हजार ४२५ मतदाताले एक जनालाई निर्वाचित गर्नेछन् । जसका लागि ११९ मतदानस्थलमा १६६ वटा मतदान केन्द्र तोकिएको छ ।

तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा-१ मा नेकपा एमाले र २ मा राप्रपाका सुनिल थापा विजयी बने ।

त्यसपछि देशमा आएको संघीयतासँगै एउटा निर्वाचन क्षेत्र बनेको धनकुटामा लगातार एमालेले जितेको छ ।

२०७४ र २०७९ को निर्वाचनमा विजयी भएका एमालेका राजेन्द्रकुमार राई यसपटक चौथो पटक चुनावी मैदानमा छन् । उनी २०७० सालको संविधानसभामा पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए ।

२०७९ सालमा गठबन्धनलाई पराजित गरेका राई यसपटक कुनै प्रतिस्पर्धा नभई सहज जित निकाल्ने बताउँदै आएका छन् ।

एमालेको बलियो सांगठनिक संरचना र विगतमा आफूले गरेका विकास निर्माणका काम नै आफ्नो जितको मुख्य आधार भएको उनले बताए ।

राईलाई चुनौती दिन नेपाली कांग्रेसले जिल्ला सभापति दिनेश राईलाई चुनावी मैदानमा पठाएको छ । कांग्रेसका उम्मेदवार राई धनकुटामा यसपटक परिवर्तन र कुशासनको अन्त्यका लागि जनताले आफूलाई जिताउने बताउँछन् ।

उनले कांग्रेस बदलेर देश बदल्न चुनावी मैदानमा आएको बताउँदै कांग्रेसले अगाडि बढाएको युवा नेतृत्व र निःशुल्क शिक्षा, स्वास्थ्यका एजेन्डाहरू जनताले मन पराएकाले जित सुनिश्चित भएको बताए ।

यस्तै, धनकुटामा यस पटकको निर्वाचनमा अर्को रोचक पक्ष पनि छ । एउटै संगठनको एउटै कमिटीमा काम गरेका दुई सहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।  नेकपा एमालेका राजेन्द्र राई र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल कुनै बेला एउटै कमिटीमा रहेर काम गरेका पात्र हुन् ।

२०४९ सालमा पौडेल जिल्ला विकास समितिको सभापति हुँदा राई सदस्य थिए । अहिले तिनै पौडेलले राईलाई चुनौती दिइरहेका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि बनेको नेकपाबाट उम्मेदवार बनेका पौडेल झन्डै १८ वर्षपछि उम्मेदवार बनेका हुन् । उनी २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बन्दा तत्कालीन माओवादीकै हरिराज खेवासँग पराजित हुन पुगेका थिए । उनी यो पटक आफूले जित्ने दाबी गर्छन् ।

‘जिल्लाको व्यवस्थित विकासको मार्गचित्र मसँग मात्र छ । म इमानदारिताको राजनीति गर्न मैदानमा आएको हुँ,’ उनले भने ।

उनले यस पटक एमालेसँग भन्दा पनि कांग्रेससँग जितका लागि प्रतिस्पर्धा भइरहेको उनको दाबी छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारीले जेनजी आन्दोलन र नयाँ पुस्ताको चाहनालाई प्रतिनिधित्व गरिरहेको बताउँछन् ।  पुराना दलहरुप्रति मतदातामा रहेको व्यापक असन्तुष्टिलाई क्यास गर्दै रास्वपाले आफूलाई पहिलो शक्तिको रूपमा उभ्याउने दाबी गरेको छ ।

‘पुराना दलहरूले धनकुटालाई केवल भोट बैंक मात्र बनाए, हामी यसको पुरानो प्रशासनिक र शैक्षिक साख फर्काउन आएका हौँ,’ भण्डारीले भने ।

धनकुटामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सानबहादुर राईलाई उम्मेदवार बनाएको छ । राईले श्रमले देश बनाउने भन्दै मत मागिरहेका छन् ।  उनले अरूको सहयोगमा नभई देशलाई आत्मानिर्भर बनाउन चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए ।

धनकुटामा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा राप्रपाका सुनिल थापाले एमालेका राजेन्द्र राईलाई पराजित गरेका थिए । २०७४ सालमा वाम गठबन्धनको साथ पाएका राजेन्द्र राईले सुनिल थापालाई १० हजार ४५९ मतान्तरले हराए । २०७९ सालमा राजेन्द्र राईले उनै सुनिल थापालाई १ हजार ३९७ मतान्तरले मात्र पराजित गरे ।

धनकुटामा १ लाख १८ हजार ४२५ मतदाताले एक जनालाई निर्वाचित गर्नेछन् । जसका लागि ११९ मतदानस्थलमा १६६ वटा मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?