+
+
Shares

सेटिङमा आएका सर्वेक्षण तथ्यपरक छैनन् : विष्णु पौडेल

एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको हुँदा ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने उनको जिकिर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १८:५८

१४ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण गलत मनसायबाट आएको बताएका छन् ।

बुटवलमा बिहीबार पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनाबद्ध रूपमा आएका सर्वेक्षण गलत भएको दाबी गरे ।

स्वदेशी तथा विदेशी संस्थाहरूले गरेको वास्तविक सर्वेक्षण केही दिनमा आउने उनको भनाइ छ ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर ती वास्तविक र तथ्यपरक होइनन् । फिल्डको अवस्था धेरै फरक छ । ती प्रक्षेपणहरू फेल खानेछन्,’ रुपन्देही २ का एमाले उम्मेदवार समेत रहेका पौडेलले भने, ‘त्यस्ता प्रक्षेपण आचार संहिता विपरीत हुन् । तर सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरू छैनन् ।’

एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको हुँदा ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने उनको जिकिर छ ।

पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे ।

पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि आफूप्रति जनताको विश्वास विगतमा जस्तै रहेको बताए। पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै हल्ला गरे पनि जनताले विगतमा गरेका काम, अनुभव र योग्यताका आधारमा आफ्नो प्रतिनिधि छान्ने बताए ।

उनले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने मतदाताले राम्रोसँग बुझेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?