News Summary
Generated by OK AI. Editorially reviewed.- रवीन्द्र अधिकारीको सातौं स्मृति दिवसमा उनकी पत्नी विद्या भट्टराईले राजनीतिक एजेन्डा र पार्टी रुपान्तरण विषयमा आफ्नो धारणा व्यक्त गरिन्।
- विद्याले रवीन्द्रको विकास र उद्यमशीलता सम्बन्धी विचारलाई अधुरो रहेको बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिइन्।
- विद्याले अब पार्टी राजनीतिबाट टाढा भएर अनुसन्धान र विचार निर्माणमा लाग्ने र सबै पार्टीको व्यक्ति भएको बताइन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले मात्रै होइन, सबैजसो दलका उम्मेदवारले भाषण गरिरहेका छन्, ‘हिजो रवीन्द्र अधिकारीले देखेको सपना अधुरै छ, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो भयो ।’
कास्कीलाई केन्द्रीय राजनीति र सरकारसँग जोड्ने व्यक्तिका रूपमा रवीन्द्रलाई स्वीकारेका दलहरूका उम्मेदवारले सहानुभूति बटुल्न एजेन्डा नै बनाइरहेका छन् । विषेशगरी कास्की क्षेत्र नम्बर २ लाई उनकै विरासतसँग जोडेर हेरिरहेका छन् ।
पोखरा–१८ ग्यारजाति विभूति पार्कमा शुक्रबार बिहान रवीन्द्रको शालिकमा माल्यार्पण गर्दै उनी पत्नी विद्या भट्टराईले भनिन्, ‘तपाईंको अभाव खड्किरहने छ, हार्दिक श्रद्धाञ्जली ।’ कार्यक्रममा विद्याले रवीन्द्रको स्मृतिमा लम्बेतान कुरा गरिनन् । किनकि, उनी बितेका कुरा गरेर आफूलाई भावनामा बहकाउने र आत्मबल कमजोर बनाउने पक्षमा थिइनन् । सन्दर्भ थियो, रवीन्द्रको सातौं स्मृति दिवस ।
न रवीन्द्रलाई एजेन्डा बनाइरहने दल र उनका उम्मेदवार थिए, न रवीन्द्रलाई सम्झिने सिर्जनशील कार्यक्रम नै थियो । त्यहाँ त उनको निधन भएपछि वार्षिक क्यालेन्डरमा थपिएको एउटा कार्यक्रम मात्र थियो, ‘स्मतिमा रवीन्द्र अधिकारी ।’
रवीन्द्रको निधनपछि रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन भएको छ र त्यसको नेतृत्वस्वयं विद्याले गरेकी छन् । प्रतिष्ठानलाई राजनीतिदेखि भिन्न राख्ने उद्देश्य राखिएको भए पनि मानिसहरूले पार्टीगत नजरले नै हेर्ने गरेका छन् ।
२०७५ भदौ १५ गते २० ताप्लेजुङमा भएको हलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित ७ जनाको ज्यान गएको थियो । रवीन्द्रको निधनपछि प्राज्ञिक क्षेत्रमा अध्यापन र अनुसन्धान गरिरहेकी विद्यालाई एमालेले पार्टी राजनीतिमा फर्काउँदै टिकट दियो । २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा विद्याले चुनाव जितेर संसद्को यात्रा तय गरिन् ।
एमालेको केन्द्रीय सदस्य हुँदै दोस्रो पटक २०७९ को चुनावमा पनि कास्की–२ बाट विद्या नै विजयी भइन् । दोस्रो कार्यकालमा उनले शिक्षा मन्त्री बन्ने अवसर पाइन् । तर उनले आफ्नो काममा नेतृत्व हाबी भएपछि राजीनामा दिइन् ।
मर्यादित राजनीति र पदप्रति न्याय गर्नुपर्छ भन्ने वकालत गर्ने विद्याले शिष्टताको उदाहरण दिँदै आएकी छन् भने नागरिकले पनि विद्यालाई हेर्ने नजर सकारात्मक नै बनिरहेको थियो । निष्ठा र इमान्दारितापूर्वक राजनीति गर्नुपर्छ भन्ने विद्या चर्चा र पदको भोको देखिइनन् भने पार्टी रुपान्तरणको पक्षमासमेत उभिइन् ।
नवयुवाले गरेको जेनजी आन्दोलनको मर्म बुझ्न नेतृत्वलाई खबरदारी गरिन्, पार्टी रुपान्तरणको पक्षमा उभिइन् । जेनजी आन्दोलनपछिको महाधिवेशनमा उनले कुनै पदमा लडिनन् भने अब पार्टी राजनीतिबाटै टाढा रहेर विचार निर्माण, अनुसन्धानका काम लाग्ने बताइरहेकी छन् ।
रवीन्द्रको निधनपछि पार्टी राजनीतिमा फर्किएर २ पटक सांसद र एकपटक मन्त्री भएकी विद्याले अब नयाँलाई पालो दिने बताइन् । नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ भन्दै पार्टी राजनीतिबाट टाढिँदै गइरहेकी विद्या सभा, घरदैलो र दलको झण्डा बोकेर हिँडिरहेको पनि देखिएकी छैनन् । उनले अब सबै पार्टीको भएको बताएकी छन् ।
रवीन्द्रको निधनपछि सांसद, मन्त्री भएकी विद्याले उनकै स्मृति दिवसका अवसरमा राजनीतिलाई अलोचनात्मक ढंगले प्रस्तुत गरेकी छन् । रवीन्द्रले कास्कीबाट ह्याट्रिक मारेको क्षेत्रमा विद्याले पनि २ पटक चुनाव जितिन् र अहिले सबैजसो उम्मेदवारले त्यो विरासतलाई एजेन्डा बनाइरहेका छन् ।
विद्याले चाहिँ आजको दिनमा रवीन्द्रलाई कसरी सम्झिएकी छन्, राजनीतिलाई कसरी हेरिन् र अबको उनको बाटो कस्तो हुन्छ ? प्रस्तुत छ, रवीन्द्रको सातौं स्मृति दिवसका सन्दर्भमा विद्यासँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः
रवीन्द्रको सालिकमा माल्यार्पण गरेर उहाँको स्मृति दिवस मनाएको त देखियो, अहिले देश चुनावमा होमिएको अवस्थामा राजनीतिक रूपमा चाहिँ उहाँलाई कसरी सम्झनुहुन्छ ?
रवीन्द्रको राजनीतिलाई विकास र उद्यमशिलतासँग जोड्नुपर्छ भन्ने मान्यता थियो । कार्यकर्ता उत्पादन गर्नेभन्दा पनि उद्यमशील व्यक्ति उत्पादन गरौं, पार्टी कार्यकर्ता मात्रै बनाएर त हुँदैन भन्ने उहाँको भनाइ थियो । त्यो कुरातर्फ पार्टीले महत्व दिएर ध्यान दिए जस्तो लाग्दैन ।
रवीन्द्रले बोकेको जुन समृद्धिको सपना छ, राष्ट्रिय अर्थतन्त्रलाई विकास गर्दै समृद्धितर्फ जान सकिन्छ भन्ने थियो । त्यसको लागि उहाँले ३ वटा कुरा उठाउनुहुन्थ्यो । एउटा, पूर्वाधारको कुरा, दोस्रो, शिक्षालाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्छ र जीवनसँग जोडिनुपर्छ भन्ने थियो । तेस्रो, आर्थिक पक्ष मात्रै होइन, संस्कृतिलाई पनि बदल्दै जानुपर्छ, संस्कृति भित्रका जुन अवरोधहरू छन्, त्यसलाई पनि बदल्नुपर्छ । आर्थिक विकासमा संस्कृतिले पनि टेवा दिन सक्छ भन्ने थियो । देशसँग पर्यटनलगायत जति पनि सम्भावना छन्, राज्यले त्यसलाई देख्न सक्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।
उहाँले जे विषय जसरी उठाउनुभयो, त्यो काम अहिले पनि अधुरै छन् जस्तो लाग्छ ।
सबैजसो पार्टीले रवीन्द्रको अभाव पूरा गर्ने भनेर भोट मागिरहेका छन् । साँच्चै उहाँको अभाव खड्किए जस्तो लाग्छ तपाईँलाई ?
उहाँले जुन परिवर्तनको मुद्दामा आफूलाई अगुवाइ गर्नुभयो, अहिले कास्कीमा दलहरूले उठाएका मुद्दा नयाँ पुस्ताले चाहेको परिवर्तनसँग मिल्छन् जस्तो लाग्छ ।
उहाँ अनेरास्ववियुको अध्यक्ष हुँदा त्यो बेलाको राज्यसँग विद्यार्थीलाई सहुलियत दिनुपर्छ भन्नुभयो । यातायात मात्रैमा सहुलियत दिँदा पनि विद्यार्थी र राज्य जोडिन्छ भन्नुभयो । त्यो बेला त एमालेको सरकार पनि थिएन, संवैधानिक राजा भएकै अवस्थामा पनि उहाँले त्यो मुद्दा उठाएर राज्य र विद्यार्थी जोड्ने नेतृत्व गर्नुभयो । उहाँले नागरिकका आवश्यकता र संवेदनालाई राज्यसँग जोडेर काम गर्नुभयो । आज हामी सरकारमा जाँदा पनि अझै नागरिकसँग जोडिएर काम गर्न सकिरहेका छैनौं ।
मुद्दामा उहाँ जहिले पनि नवीनतम सोचलाई स्वीकार्ने मान्छे हो । युवाले उठाएका हरेक मुद्दालाई मनन गर्नुहुन्थ्यो । पुरानो, नयाँ र मध्यम पुस्ता सबैसँग उहाँले सल्लाह गर्नुहुन्थ्यो । नवयुवाको मागलाई सम्बोधन गर्नुपर्छ भन्नुहुन्थ्यो । निर्वाचित हुँदा पनि सबैले हाम्रो प्रतिनिधि हो भन्थे । मलाई आज नयाँ पुस्ताले उठाएका मुद्दा र विचारप्रति उहाँ जोडिनुहुन्थ्यो भन्ने लाग्छ ।
अहिले रवीन्द्र हुनुभएको भए पनि पार्टी र नेतृत्व त त्यही हुन्थ्यो, जुन तपाईंले पनि भोग्नुभयो । पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा कमजोर सावित भयो, सम्भव त नहुने रहेछ नि होइन ?
उहाँको विगतलाई हेरेर विश्लेषण गर्दा परिवर्तनको पक्षमा उभिनुहुन्थ्यो भन्न सकिन्छ । तर अब त्यो काल्पनिक हुन जान्छ । उहाँ परिवर्तनलाई आत्मसात गर्ने, समयलाई बुझेर निर्णय गर्ने, समयअनुसार हिँड्न सक्नुपर्छ भन्ने मान्छे हो । त्यसले नतिजा जे पनि आउन सक्थ्यो ।
विद्यार्थी आन्दोलन हुँदै अनेरास्ववियुमा तपाईंहरू सँगै काम गर्नुभयो तर विवाहपछि तपाईंलाई राजनीतिमा फर्किन उहाँको देहावसान भएपछिको परिस्थिति आइपर्यो । आज त्यही पार्टीबाट तपाईं आफैं पछि हट्नुपर्ने परिस्थिति आयो होइन ?
यसमा मलाई लागेको दुई वटा कुरा हो । पहिलो कुरा, संसदीय राजनीतिमा म दुई पटक लडें, अब लड्नु हुँदैन । कति अवधि काम गरें भन्ने फरक कुरा हो । तर दुई कार्यकाल लागि म सांसद बनेको थिएँ । तेस्रो पटकबाट म लड्दिन भनेको थिएँ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको व्यक्तिहरू नयाँनयाँ आउने र सिस्टम उन्नत बनाउँदै लैजाने हो । म जहिले पनि भन्छु, तपाईंले कुनै सिद्धान्त प्रतिपादन गर्नुहुन्छ, विचार बोक्नुहुन्छ भने त्यो आफैंबाट सुरु गर्नुपर्छ । अरूलाई मात्र प्रश्न तेर्स्याएर त भएन नि । रवीन्द्रले पनि जहिल्यै भन्नुहुन्थ्यो, एउटा औंला अरूलाई तेर्स्याउँदा बाँकी औंलाले आफूलाई सोधिरहेका हुन्छन् ।
जेनजी आन्दोलनपछिको महाधिवेशनमा पनि तपाईं उठ्नुभएन । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मुद्दा उठे पनि सकिँदैन भनेरै टाढा हुनुभएको हो ?
सांसद हुँदा त आफ्ना कुरा राख्ने थुप्रै ठाउँ हुन्छन् । मैले त्यस्ता ठाउँमा आफ्ना विचार राख्थें, त्यहाँ विचारलाई नियन्त्रण गर्ने भन्ने हुँदैन । तर सरकार र पार्टीमा चाहिँ कस्तो हुने रहेछ भने, मसँग कतिपय विचार हुन्छन्, ती विचारलाई नेता–कार्यकर्ताका बीचमा कसरी लैजाने भन्ने कुरामा बढी केन्द्रीयता हावी हुने रहेछ ।
२२ गतेसम्म जुन खालको स्थिति भयो, त्यति बेलासम्मको अवस्थाले मलाई के लाग्यो भने, मलाई पार्टीले सांसद बनायो, मन्त्री बनायो, काम गर्ने अवसर दियो, अब नयाँ आउनुपर्छ । म एउटा अनुसन्धानकर्ता, एउटा चिन्तक भएर बस्छु भन्ने निष्कर्ष निकालें । राजनीति भनेको पद मात्रै होइन, चेत हो । जुन चेतले राजनीति र समाज बदल्ने भूमिकामा म रहनुपर्छ, नयाँ साथीहरूलाई अवसर दिनुपर्छ भन्ने हो । त्यही मान्यताले मैले निर्णय गरेकी हुँ । कुनै दबाबले होइन ।
तपाईं मन्त्री हुनुहुन्थ्यो, राजीनामा दिएर हिँड्नुपर्ने परिस्थिति विभिन्न माध्यमबाट अभिव्यक्त गर्नुभएकै थियो । यही नेतृत्वले काम गर्न सकिँदैन, परिवर्तन गर्न सकिँदैन भन्ने महसुस गर्नुभयो कि ?
म एउटाले छोड्दा रुपान्तरण रोकिने वा हुने भन्ने हुँदैन । मलाई लागेको त के हो भने, पार्टी भित्र पनि परिवर्तनगामी नेतृत्व हुनुपर्छ, नेताहरू हुनुपर्छ । हामी बसुन्जेल हिजो त्यो भूमिका खेल्यौं । बाहिर पनि त्यो भूमिका चाहिने रहेछ । बाहिर पनि चिन्तन, बहस गर्ने र त्यसलाई पार्टीसम्म पुर्याउन भूमिका खेल्ने मान्छे चाहिन्छ । यहाँ नागरिक समाज र पार्टीबीच भेट नै नहुने अवस्था सिर्जना भइरहेको छ । अनुसन्धानकर्ताहरू पार्टीसँग भेट्ने अवस्था सिर्जना गर्नुपर्यो, पार्टीको कार्यकर्ता भएर होइन ।
अनुसन्धानकर्ताकै हिसाबले पार्टीमा भेटिने अवस्था सिर्जना हुनुपर्छ । अब मेरो ध्यान सबै पार्टीहरूले सुन्ने हाम्रो भूमिका कसरी निर्माण गर्ने भन्नेतिर हुन्छ । मैले जिम्मेवारी त पूरा गरिसकें नि । सांसद, मन्त्री भइसकें । म त आज सबैको व्यक्ति हुँ । यस्ता व्यक्तिहरू भेट्ने, छलफल, अनुसन्धान गर्ने र ती कुराहरू पार्टीहरूसम्म पुर्याउन सकियो भने परिवर्तन हुन्छ भन्ने मलाई लाग्यो । म त्यो कामका लागि आफूलाई तयार गर्नुपर्छ भनेर निस्किएकी हुँ ।
पार्टी कार्यकर्ता कस्तो रहेछ भने, कि शतप्रतिशत समर्थन गर्नुपर्यो कि शतप्रतिशत विरोध गर्नुपर्यो । शतप्रतिशत समर्थन गर्नै सकिँदैन कतिपय कुराहरूमा । शतप्रतिशत विरोध गर्दा विरोधीको ट्याग लाग्ने भो । म त हिजो थिङ ट्यांक भएर काम गरेको मान्छे हुँ । विश्वविद्यालयमा हजारौं विद्यार्थीलाई तिमीले आलोचनात्मक चेत राख्नुपर्छ भनेर, पढाएको अनुसन्धानमा सघाएको व्यक्ति हुँ । म हरेक कुरालाई अन्ध समर्थन र अन्ध विरोध गर्न पनि सक्दिनँ । समालोचना गर्छु । जब समालोचना गर्छु भने म पार्टी क्याडर हुन सक्दिनँ, बाहिर बसेर समालोचना गर्छु । पार्टी लिडरलाई यो काम गर्दा उपयुक्त हुन्छ भनेर सुझाव दिन्छु ।
भनेपछि अबको तपाईंको बाटो राजनीति होइन, प्राज्ञिक बहस, अनुसन्धानतिरै हो ?
हो, म अध्ययन-अनुसन्धान, तालिम र विचार निर्माणको कामतिर लाग्छु । नेपालको शिक्षा प्रणाली कस्तो छ, कस्तो हुनुपर्छ ? भन्नेतिर बोल्छु, खोज्छु । महिला प्रजनन स्वास्थ्यका विषयमा थुप्रै प्रश्न छन् । मैले त्यही विषयमा एमफिल गरेकी हुँ । म ती कुराहरूको अध्ययन-अनुसन्धान गर्छु ।
सिंगो राजनीतिलाई सुधार गर्ने, सुशासनका निम्ति काम गर्ने सवालमा जोडिन्छु । मलाई मानिसले मोरल पोलिटिक्सको बारेमा पनि तैंले बहस गर्नुपर्छ भनिरहेका छन् । राजनीति भित्रको संस्कृति कस्तो हुने भनेर छुट्याउन सक्दैनौं भने लोकतन्त्र बलियो हुन सक्दैन । यस्ता विषयमा विचार दिन–लिन सकिने ठाउँहरूमा छलफल, बहस, अनुसन्धान गर्छु ।
प्रतिक्रिया 4