+
+
Shares
स्थलगत : महोत्तरी :

सुक्खा मधेश, चिल्ला चुनावी भाषण

पछिल्ला वर्षहरूमा तराईमा सुक्खा र खडेरी बढ्दै गएको छ, गतवर्ष त मधेश सरकारले आठ जिल्लालाई ‘सुक्खाग्रस्त क्षेत्र’ नै घोषणा गर्‍यो । ५० लाख जनताको दैनिकी र जीवनयापन जोडिएको विषय राजनीतिक दलहरूको मुख्य चुनावी एजेन्डा छैन । अब अबकी बार… सरकार भन्दै हिँडेका छन् ।  

दुर्गा खनाल कृष्ण ज्ञवाली शैलेन्द्र महतो दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो
२०८२ फागुन १५ गते १९:२६

१५ फागुन, औरही (महोत्तरी) । महोत्तरीको औरही गाँउको सडकछेउको खेतमा किसान दम्पत्ति दिनेश यादव र पुलमकुमारी यादव गोडमेल गर्दै थिए । केही दिनदेखि पानी नपाएको लसुन र प्याज रोपेको गह्रो पट्ट फुटेको थियो । ‘पहिले त यसरी माघफागुनमै सुक्खा हुँदैनथ्यो,’ दिनेशले भने, ‘अहिले चार दिन मात्रै बोरिङको पानी नचलाउँदा यो हालत छ ।’

करिब एक बिगाहा जग्गामा उखु, गहुँ, काउली, प्याज, लसुन लगायतका तरकारीको खेती गरेका उनी बिहान सबेरै दूध लिएर बजार निस्कन्छन्, त्यतैबाट खेततिर लाग्छन् अनि साँझमात्रै फर्कन्छन् । उनलाई खाना पनि परिवारका सदस्यहरूले खेतमै पुर्‍याइदिन्छन् । त्यति मेहनत गर्दा पनि अचेल भने पर्याप्त उब्जाउ गर्न र घर चलाउन हम्मेहम्मे छ ।

‘यहाँका बोरिङहरूको भरमा नै खेतहरू चलेका हुन्, किसानहरू बाँचिरहेका छन्,’ उनी भन्छन्, ‘पहिले पो प्रशस्त पानी हुन्थ्यो । पानी भएपछि हरियाली रहन्थ्यो । अहिले खेतमा पानी टिक्नै छाडेको छ । पानी नभएपछि के को हरियाली ?’

बढ्दो खडेरी

महोत्तरीको औरही वरपरका किसानहरूलाई भेट्दा उनीहरू गतवर्षको खडेरीबाट त्रस्त देखिन्थे । यसपाली पनि आकाशबाट पानी नपर्ने र सुक्खायाम चर्किने हो कि भनेर उनीहरू चिन्तित छन् । जमिनको अलि गहिराइको पानी बिजुलीले तानेर जमिनकै सतहमा सिँचाइ गर्ने प्रयासले उनीहरू टिक्नै नसक्ने अवस्थामा पुगेका छन् ।

औरहीका दिपेन्द्रकुमार यादवलाई लागेको छ, तराईका बस्ती वरपरका रुखहरू काट्ने कामले सुक्खायाम बढ्यो । पछिल्ला वर्षहरूमा वृक्षारोपण गर्ने काम नभएको बताउने उनले ८/१० वर्षयता विस्तारै चर्किंदै गएको खडेरीले गतवर्ष सीमा नाघेको देखे र भोगे ।

दिपेन्द्रकुमार यादव

किसानहरूका अनुसार, केही वर्ष अघिसम्म फागुन, चैतसम्म खडेरीको महसुस हुँदैनथ्यो । फाट्टफुट्ट रूपमा पानी परिरहन्थ्यो, त्यसले राहत हुन्थ्यो । अनि, इनार र बोरिङहरूबाट सहजै पानी आउँथ्यो । केही वर्षयता भने वर्षायाम रोकिएपछि हिँउदे झरी घट्दो क्रममा छ, जसले गर्दा जाडो सिजन सकिनासाथ सुक्खा र खडेरीको समस्या बढ्दो छ ।

स्थानीय किसान सुरेश यादव उमेरमा साढे तीन वर्ष साउदी अरबको गर्मी खेपेका व्यक्ति हुन् । गतवर्षको खडेरीले उनलाई त्यहाँको गर्मी र खडेरीको झल्को दिलायो । ‘पानी पटक्कै पर्दैन, झ्याप झ्याप गइरहने बोरिङले कति दिन हुन्छ र ?,’ उनी भन्छन्, ‘एक दिन पानी लगायो, अर्को दिन सुक्छ । पर्सिपल्ट त उस्तै हुन्छ ।’

दिगम्बर चौधरीका अनुसार, फागुनदेखि सुरु भएको खानेपानीको दुःख असारसम्म कायम रहन्छ । करिब ५०/६० फिट खनेपछि ट्युबवेलमा पानी त भेटिन्छ तर आर्सेनिकको मात्रा बढी हुने भएकाले कम्तीमा पनि २ सय फिटभन्दा बढी खन्नुपर्छ ।

सुरेश यादव

उनी भन्छन्, ‘कतिपयले यहाँ आफैं बोरिङ खनेका छन्, केहीले नगरपालिकाको अनुदानमा पानी निकालेका छन् । तर, जता गएपछि भनेजति खानेपानी छैन । खानलाई त यस्तो हाहाकार छ, खेतमा कसरी पुगोस् ?’

अनलाइनखबरले गतवर्ष माघमा हिउँदहरू वर्षेनी सुक्खा बन्दै गइरहेको विवरण सहितको रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्ट अनुसार, पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा त्यस्तो खडेरी अझै चर्को छ ।

हिँउदपछिका महिनाहरूमा चर्को गर्मी हुने र त्यसले माटोको ओसिलोपन गायब हुने हुँदा अझै ठूलो संकट ल्याउनसक्ने भनी विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । जलवायु अध्येता ङमिन्द्र दाहाल भन्छन्, ‘गण्डकी पूर्वको मध्य र पूर्वी भू-भागमा दुई दशकदेखि हिउँदे झरी छैन । यो चिन्ताको विषय हो ।’

दिनेश यादव

टिक्नै हम्मेहम्मे

३९ वर्षीय किसान सन्तोष मण्डलका अनुसार, अहिले किसानहरूले काँधमा मोटर बोकेर खेततिर नलाग्दासम्म खेती गर्ने कल्पना पनि नगरे हुन्छ । खेतमा छाड्दा चोरी हुने डरले किसानहरूले दिनभर मोटरबाट पानी तान्छन् र बेलुकी साइकल वा काँधमा हालेर त्यही मोटर घर लैजान्छन् ।

डिप बोरिङका पाइपहरू गाडेर पनि सुख छैन, सबै ठाँउमा बिजुलीको सुविधा नहुने भएकाले लामो तार तानेर पम्पसम्म बिजुली पुर्‍याउनुपर्छ । सुक्खायाम चलेपछि सबै किसानहरूले धमाधम पम्प चलाउने भएकाले ट्रान्सफर्मरले लोड धान्दैन र पटकपटक बत्ती जान्छ ।

अनि डिलेजबाट चल्ने पम्पबाट पानी तान्दा लागत महंगो पर्छ । ‘हामीले यस्तो झेलेको त १० वर्षभन्दा बढी भयो,’ किसान सन्तोष मण्डल भन्छन्, ‘बल्लतल्ल अनेक गरेर पम्प जोडेर ठिक्क पार्‍यो, अनि बत्ती जान्छ । अनि कसरी बाली टिकाउनु ?’

सन्तोष मण्डल

सुरेश यादवको सात जनाको परिवार धान्ने त्यही डेढ बिगाहा जति जमिन हो । खेतीपातीमै भविष्य नदेखेर हुनुपर्छ, उनका दुई छोराहरू विदेश गए । पहिलेपहिले नजिकैको खोलाको पानी कुलोबाट आउँथ्यो । आजभोलि न खोलामा पानी बाँकी छ, न कुलो नै रह्यो । उनी भन्छन्, ‘यस्तै भयो भने खेतीकिसानी गर्न गाह्रो हुन्छ, तर जाने कहाँ ? जसरीतसरी फसल उब्जाएर खानुपर्छ ।’

औरहीका किसान दिपेन्द्रकुमार यादवसँग किसानले भोग्नुपरेको समस्या र त्यसको बहुआयामिक असरको फेहरिस्त छ । बोरिङ खनेर पनि सहजै बिजुली पाइन्छ भन्ने छैन ।

किसानहरूले एउटा बोरिङ राख्न ५० हजारदेखि एक लाख खर्च गर्नुपर्छ । सुक्खायामसँगै जमिनमुखी पानीको सतह पनि तलतल गएकाले कम्तिमा पनि २ सय फिट खनेपछि मात्रै किसानहरू ढुक्क हुने अवस्था रहन्छ । यादव भन्छन्, ‘त्यसरी खनेको पनि टिक्छ भन्ने छैन । हुनेखाने किसानहरूले एक्लै बोरिङ खन्छन्, नसक्नेहरूले सामूहिक रुपमा ट्युबवेल चलाउँछन् ।’

बालीनालीका लागि चाहिने तीनथरी पक्ष नै किसानको पहुँचबाटै टाढा हुँदै गइरहेको उनी बताउँछन् । मलखादको समस्या चर्को छ । सहज रूपमा नपाइने मल अनेक झन्झट र सास्तीबाट मात्रै पाइन्छ, त्यो पनि भनेजति हुँदैन । सिँचाइको समस्या दिनप्रतिदिन चर्कँदो छ । किसानहरूले राम्रो र गुणस्तरीय बीउ पनि पाउँदैनन् । दिपेन्द्रकुमार यादव भन्छन्, ‘किसानहरू सबैभन्दा बढी पीडामा छन् । तर कसैले पनि किसानका कुराहरू उठाउँदैनन् ।’

चुरे संरक्षणको क्षेत्रमा लामो समय काम गरेका भूसंरक्षणविद् नागदेव यादवका अनुसार, पछिल्ला वर्षहरूमा बदलिएको वर्षाको स्वरूपले पनि तराईमा खडेरी बढाइरहेको हो । अहिले लामो समय खडेरी पर्छ, अनि एकाएक छोटो समयमा ठूलो वर्षा हुन्छ ।

जसले गर्दा चुरेबाट गिटीबालुवा र गेगरहरू तराईतिर गएर थुप्रिएको हुन्छ । खोला र नदीका सतहहरू अस्वाभाविक रुपमा माथि आइरहेका छन् । ‘सानो बाढी आउँदा पनि गिटीबालुवाहरू घरखेतमा पस्ने र थुप्रिने गरेको छ,’ उनी भन्छन्, ‘त्यसले तराईका उर्वर भूमि र खेतीयोग्य जमिनलाई मरुभूमिकरण बनाउँदै गएको छ ।’

बहुआयामिक असर

औरहीमा भेटिएका एक किसानका अनुसार, खडेरीले एकपछि अर्को असर पारेको छ । उनका एक छिमेकीले उब्जाउ भन्दा खर्च बढी भएपछि आफ्नो खेत इटाभट्टावालालाई दिएछन् । इटाभट्टा सञ्चालकले ७/८ फिट माटो खनिदिए ।

‘वरपर रहेको उनको खेतको सतह घटेपछि त हाम्रोमा झनै सुक्खा हुने भयो नी’ ती किसानले भने, ‘झगडा गरौं, त्यो उनको बाध्यता थियो । तर उनको बाध्यताले हामीलाई झनै समस्यामा पार्‍यो ।’ वर्षायाममा भने इटाभट्टाकै लागि खनिएको खेतमा ज्यादा पानी जम्मा भएर डुबान हुने भयो, अनि अग्ला गह्राहरूमा पानी टिक्न नसक्दा धानखेती फस्टाउन सकेन ।

तराईका चुरे र अग्ला ठाँउबाट वर्षेनी ठूलो भूस्खलन भएको छ । खोलानदीहरूमा जथाभावी रोडाढुंगा निकालिएका छन् । त्यसले गर्दा खोलानदीको सतह फैलिँदै माथि उठ्दै गएको छ । र हिउँदमा खोलाको सतहबाट पानी भेटिँदैन । औरहीका किसानहरूले त्यसकै कारण खोलाबाट लगिएको कुलो काम नलाग्ने भएको गुनासो गरेका हुन् ।

‘एक त पैनी माटोले भरिएको छ, अर्कोतिर ठाँउठाँउका सडकले पुरिएको छ,’ किसान सन्तोष मण्डल भन्छन्, ‘हाम्रा खेतहरूमा आउने पैनी मासिएकाले बोरिङ सुरु गर्नुपरेको हो ।’

स्थानीय दिगम्बर चौधरीलाई लागेको छ, पछिल्लो वर्षहरूमा अस्वभाविक रूपमा भइरहेको रोडाढुंगा उत्खननको असरले खडेरी चर्कँदै गएको हो । गाँउमा गाडिएका कयौं ट्युबवेलहरूमा २/४ वर्षमै पानी आउन छाडेको उनी बताउँछन् ।

दिगम्बर चौधरी

कुनै समय एक विगाहा खेतमा दुःखसुख गरेर सन्तान हुर्काएका दिनेश यादव र पुलमकुमारी यादवलाई यस्ता दिन पनि आउँछन् भन्ने लागेको थिएन । हुर्किएका सन्तानहरूले अहिले आ–आफ्नै कमाई गरेर खानसक्ने भए । उनीहरूले बाबुआमालाई ‘बुढेसकालमा धेरै दुःख नगर्नु, अब सकिँदैन’ भन्छन् ।

‘एकातिर खेतीकिसानी गरेर त्यही अनुसारको उब्जनी हुँदैन, कहिलेकाहीँ त आफ्नो खर्च पनि उठ्दैन,’ दिनेश भन्छन्, ‘किसानले खेतीपाती पनि गर्न सकेन भने छिमेक र समाजले ‘यसले त खेतबारी पनि सम्हाल्न सकेन भनेर हेला गर्लान् । त्यत्तिको डरले मात्रै हामी खेतीपाती धानिरहेका छौं ।’

दिनेश यादव र पुलम कुमारी यादव

तर,राजनीतिक दलका उम्मेदवारहरूलाई जनताको दैनिकीसँग जोडिएको यो विषय निर्वाचनको एजेन्डा बन्न नसकेकोमा आश्चर्य लागेको छ । दिगम्बर चौधरी भन्छन्, ‘उम्मेदवारहरू घरदैलोमा आइरहेका छन् । तर कसैले पनि खानेपानीको समस्या, खडेरी र त्यसले खेतीपातीमा परेको असरबारे कुरा गरिरहेका छैनन् ।’

चुरेविद् नागेश्वर यादवको भनाइ पनि चौधरीको जस्तै छ । उनका अनुसार राजनीतिक दलहरूले त चुरे दोहन गर्ने कुनै पनि दुष्प्रयास बाँकी राखेका छैनन् । चुरेको संरक्षणमा यसैगरी उदासीन हुने हो भने धेरै होइन, ८-१० वर्षमा तराई मरुभूमिकरण हुन्छ । तराई पानीविहीन भएर अन्न उब्जाउ हुँदैन र मरुभूमिकरण हुन्छ ।

‘खाद्य असुरक्षा बढ्दै गयो भने तराईबाट पनि मानिसहरू बसाइँ सरेर अन्यत्र जानुपर्ने हुन सक्छ । त्यसैले चुरेको महत्त्व बुझिदिनुहुन म तीनै तहका सरकारहरू, सरोकारवाला एवं उम्मेदवारहरूलाई आग्रह गर्दछु’ यादव भन्छन् ।

तस्वीर/भिडियो : कमल प्रसाईं

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?