News Summary
Generated by OK AI. Editorially reviewed.- हर्कराज साम्पाङ राईले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह भएको बताएका छन्।
- उनले श्रम संस्कृति पार्टी खोलेको उद्देश्य देश बचाउनु रहेको र पार्टी विदेशी पैसाले नचल्ने उल्लेख गरेका छन्।
- साम्पाङले विद्यार्थीलाई सातामा ३ दिन मात्र स्कुल जान दिने र बाँकी समय श्रम र उत्पादनको शिक्षा दिने नीति ल्याउने बताएका छन्।
१५ फागुन, सुनसरी । हर्कराज साम्पाङ राईले प्रतिनिधिसभाको चुनावमा सुनसरी १ बाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्षलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह भएको बताएका छन् ।
धरान उपमहानगरपालिकाको मेयर हुँदैमा श्रम संस्कृति पार्टी र हर्कवाद जन्माएका उनले गृहनगरमा पहिलो पटक चुनावी आमसभा गर्दै सुनसरी १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवारलाई भोट हाल्नु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु भएको बताएका हुन् ।
भानुचोकमा आयोजित चुनावी आमसभामा उनले जेनजी विद्रोहका बारेमा बोल्दै भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन षडयन्त्र गरेर जलाइएको छ । नौ, दश कक्षा, प्लसटु पढिरहेकाले जलाउन सक्छ ? षडयन्त्रमा संलग्न बालेनजीहरु थिए । यसरी देश जलिरहेको बेला, ढलिरहेको बेला देश बचाउन जाने को हो ? त्यो मान्छेको नाम बिर्सें । त्यो मान्छे को हो ? (भाषण सुन्न बसेकाहरूले भने हर्कराज साम्पाङ) हो त्यो मान्छे हो देश बचाउने ।’
उनले देश बचाउनकै लागि श्रम संस्कृति पार्टी खोलेको पनि बताए । उनले भने, ‘यो देशलाई बचाउन भनेर श्रम संस्कृति पार्टी खोलेर अध्यक्ष भएको हो । त्यसैले तपाईंहरुले मलाई र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई जिताउन भोट दिनुपर्छ ।’
उनले आफ्नो पाटी कुनै विदेशीले दिएको पैसाले नचल्ने उल्लेख गर्दै भने, ‘हाम्रो पार्टी संघीयता, लोकतन्त्र र प्रत्यक्ष कार्यकारी प्रमुखमा विश्वास गर्छ । समानुपातिक र समावेशितामा विश्वास गर्छ । प्रकृति, संस्कृति र प्रविधिमा विस्वास गर्छ ।
तर म विदेशी प्रभूलाई ढोगेर राजनीति गर्न चाहान्न । जेनजी विद्रोहपछिको अन्तरिम सरकारमा यति म प्रधानमन्त्री भएको भए यतिबेला प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराउथें ।’
उनले अधिकांश युवाहरु विदेश जाने सन्दर्भसंग जोड्दै श्रम संस्कृति पार्टीको सरकार भएमा विद्यार्थीहरु सातामा ३ दिनमात्र स्कुल जाने व्यवस्था गरेर बांकी समय श्रम र उत्पादनको शिक्षा दिने नीति बनाउने बताए ।
उनले भने, ‘विदेशी हस्तक्षेप मुक्त देश बनाउने छौं । सीमा सुरक्षाका लागि प्लस टु गरेपछि अनिवार्य ६ महिना सैनिक तालिम लिने व्यवस्था गर्ने छौं ।’
प्रतिक्रिया 4