१६ फागुन, दमक । झापा–५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी ओलीले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । शनिवार निर्वाचन क्षेत्रमा एक पत्रकार सम्मेलन आयोजना गरी तामाङले ओलीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
‘जोसुकैले सहयोग गरेपनि तपाईं (ओली) ले चुनाव जित्नुहुन्न । त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईंले हामीलाई सहयोग गर्नुपर्छ,’ तामाङको आग्रह थियो ।
नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभ्याउन ओलीलाई सुझाव पनि उनले दिए ।
‘हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहौल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरूले गठबन्धनको नाममा फैलाएका तथ्यहीन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं,’ उनले भनेका छन् ।
यसैगरी तामाङले ओली र वालेन समुहले आचारसंहिता उल्लङ्घन गरेकोमा आपत्ति प्रकट गरे ।
‘निर्वाचन परिणामलाई प्रभावित गर्ने मनशायले सत्ता र शक्तिको आडमा वजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सबै खाले आचारसंहिता विरोधी हर्कतको घोर निन्दा र भर्त्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौं,’ उनले भने ।
पत्रकार सम्मेलनमा तामाङले चुनाव बिथोल्न कसैले लाग्नु नहुने बताए
‘रिपोर्टिङको शिलशिलामा झापा –५ अन्तर्गत कमल गाउँपालिकामा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सका कार्यकर्ताबाट गरिएको सांघातिक हमलाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कार्वाहीको माग गर्दछौं,’ उनले भनेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा झापा ५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र बालेन दुवैले ब्यापक आचारसंहिता उल्लंघन गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।
‘स्वच्छ, मर्यादित र शान्तिपुर्ण निर्वाचन बिथोल्ने हर्कत अविलम्ब वन्द गर्न सम्बन्धित सवैमा अपिल गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4