+
+
Shares

द्वन्द्वको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली

खाडी मुलुकमा द्वन्द्व चर्किएमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स मात्र ठप्प हुनेछैन, बरु २० लाख नेपालीको सुरक्षित फिर्ती सरकारका लागि ठूलो चुनौती बन्ने जोखिम छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको छ।
  • कतार, दुबई, कुवेत लगायतका खाडी मुलुकमा विस्फोट र ड्रोन आक्रमण भएका छन् जसमा केही घाइते भएका छन्।
  • नेपाल सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।

१६ फागुन, काठमाडौं। अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ।

इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग-अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन्। साथै, सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले भनेका छन्।

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पनि आज एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

दुबईमा केही घाइते, कतारमा पनि विस्फोट

बहराइनको आन्तरिक मन्त्रालयका अनुसार, राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको छ । प्रभावित स्थलहरूमा सिभिल डिफेन्स (नागरिक सुरक्षा टोली) ले आगो निभाउने र उद्धार कार्य जारी राखेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले यस आक्रमणको कारण वा यसबाट भएको मानवीय क्षतिको बारेमा तत्काल कुनै विस्तृत विवरण दिएको छैन।

उता, दुबईका अधिकारीहरूले पाम जुमेराह क्षेत्रको एउटा भवनमा एउटा घटना भएको र त्यसमा परी केही व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।

दुबई मिडिया अफिसले एक विज्ञप्तिमा भनेको छ, ‘आपत्कालीन उद्धार टोलीहरूलाई तत्काल खटाइएको थियो र घटनास्थललाई सुरक्षित गरिएको छ। त्यहाँ लागेको आगो अहिले नियन्त्रणमा आइसकेको कुरा दुबई सिभिल डिफेन्सले पुष्टि गरेको छ।’

विज्ञप्तिमा थपिएको छ, ‘हाम्रो राष्ट्र र यसलाई आफ्नो घर मान्ने सबैजना सुरक्षित रहुन्।’ बीबीसीका अनुसार, इरानी सरकारी सञ्चारमाध्यमले दुबईमा आक्रमण भएको बताएपछि यस क्षेत्रमा धुवाँ उडिरहेको तस्बिरसहित प्रत्यक्षदर्शीको विवरण आएको थियो।

पाम जुमेराह एउटा मानव-निर्मित टापुहरूको समूह हो, जुन आफ्ना विलासी होटलहरूका लागि प्रख्यात छ।

यसैबीच, कतार सरकारले देशवासीलाई अवस्था सामान्य नभएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । आन्तरिक मन्त्रालयले गरेको पछिल्लो अपडेटअनुसार, इरानी आक्रमणको बीचमा देशका नागरिक तथा बासिन्दाहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको हो ।

सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा मन्त्रालयले भनेको छ, ‘झ्याल र खुला ठाउँहरूबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुन्जेल अति आवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कनुहोस् ।’ नेपाली समयअनुसार राति ९:४० तिर कतारको दोहामा तीन ठूला विस्फोटनका आवाज सुनिएका छन् ।

यसैबीच, कुवेतमा भएको आक्रमणमा परी १२ घाइतेहरूलाई अस्पताल पुर्‍याइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण

नेपाल पत्रकार महासङ्घ कुवेतका अध्यक्ष राज मल्लका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल नम्बर एकमा ड्रोन आक्रमण भएको छ। आक्रमणबाट भवनमा क्षति पुगेको र केही मानिस सामान्य घाइते पनि भएका छन्।

त्यसअघि कुवेतको अली अल-सालेम एयर बेसलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल आक्रमण भएको थियो। तर ती आक्रमणलाई कुवेतको हवाई रक्षा प्रणालीले रोकेको थियो। रोकथामको क्रममा मिसाइलका टुक्रा र अवशेष बेसवरिपरि छरिएका तर क्षति नपुगेको बताइएको छ।

यस तनावका कारण स्वास्थ्य, खाद्यान्न आपूर्तिलगायतका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

त्रासमा नेपाली

नेपाल सरकार र विभिन्न आप्रवासन संस्थाहरूको पछिल्लो तथ्याङ्कअनुसार खाडीका ६ प्रमुख मुलुकहरूमध्ये यूएईमा सबैभन्दा धेरै ६ लाखभन्दा बढी नेपालीहरू छन्। कतारमा करिब ५ लाख नेपालीहरू रहेको अनुमान छ।

साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा ५० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान छ।

यसबाहेक, इजरायलमा करिब ५ हजार नेपालीहरू ‘केयरगिभर’ र कृषि क्षेत्रमा कार्यरत छन्।

खाडी मुलुकहरू नेपालीका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू हुन्। मध्यपूर्वमा पछिल्लो २४ घण्टामा विकसित सैन्य तनावका कारण खाडी मुलुकहरूमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ।

इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य टकराव र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी भएका आक्रमणका प्रयासले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष जोखिममा परेका छन्। विशेषगरी खुला स्थानमा निर्माण कार्यमा संलग्न र सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरू बढी जोखिममा देखिएको त्यहाँ रहेका नेपालीहरू बताउँछन्।

गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेत शाखाले छुट्टाछुट्टै सूचना जारी गरेर हटलाइन सम्पर्क नम्बरहरू सार्वजनिक गरेका छन्।

साथै कुवेत सरकार तथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गरी पालना गर्न, सकेसम्म घरभित्र सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर ननिस्किन, नेपाल वा अन्य मुलुकमा यात्रा गर्नेहरूले सम्बन्धित एयरलाइन्सको वेबसाइट वा टिकट एजेन्टमार्फत जानकारी लिएर मात्र यात्रासम्बन्धी निर्णय लिन अनुरोध गरेका छन्।

काठमाडौँबाट हुने उडान प्रभावित

मध्यपूर्वको आकाश असुरक्षित भएपछि काठमाडौँबाट दोहा, दुबई, रियादलगायतका गन्तव्यका लागि हुने उडानहरू आज प्रभावित भएका छन्। उडान रोकिँदा सयौँको सङ्ख्यामा नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका थिए।

पछिल्लो तनावका कारण बिदामा स्वदेश फर्किन चाहने र आपत्कालीन उद्धारको पर्खाइमा रहेका नेपालीहरू समेत अलपत्र पर्ने जोखिम बढेको छ।

नेपाल सरकारले हालसम्म कुनै पनि मुलुकबाट सामूहिक उद्धारको ठोस योजना सार्वजनिक नगरे पनि दूतावासहरूलाई ‘हाई अलर्ट’ मा राखिएको जनाएको छ।

आप्रवासन विज्ञहरूका अनुसार, खाडी मुलुकमा द्वन्द्व चर्किएमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स मात्र ठप्प हुनेछैन, बरु २० लाख नेपालीको सुरक्षित फिर्ती सरकारका लागि ठूलो चुनौती बन्ने जोखिम छ।

परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीहरूलाई समस्या परेमा सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गर्न र सामाजिक सञ्जालमा आउने अपुष्ट हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?