+
+
Shares
प्रदीप उदयसँग वार्ता :

‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

अहिलेसम्मको विश्व इतिहास हेर्ने हो भने, केवल ‘लोकप्रियता’ को आधारमा राज्यसत्ता सुम्पिँदा त्यो देशले दुःख पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते २१:४५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ १ लाख १३ हजार ३३३ मत ल्याएको थियो । प्रदेशगत रुपमा लुम्बिनी राप्रपाको तेस्रो प्रभाव भएको प्रदेश हो । त्यतिबेला प्रत्यक्ष तर्फ नवलपरासी–२ बाट ध्रुवबहादुर प्रधान, रुपन्देही–३ बाट दिपक बोहरा र बाँके–२ बा धवलशम्शेर जबरा निर्वाचित भएका थिए । राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको कुराकानी:

यहाँ उम्मेदवार  हुनुहुन्न, चुनावी चटारो कत्तिको छ ?

बिहे हुँदा बेहुलालाई भन्दा जन्तीलाई चटारो भनिन्छ नि, अहिले मलाई ठ्याक्कै त्यस्तै भइराखेको छ । एकातिर लुम्बिनी प्रदेश अध्यक्षको हैसियतले १२ वटै जिल्लामा मैले ध्यान पुर्‍याउनु पर्‍यो । अर्कोतिर म रुपन्देहीवासी भएको नाताले रुपन्देहीमा अझै बढी ध्यान दिनुपर्ने भएकाले, साँच्चै भन्नुपर्दा उम्मेदवारलाई भन्दा बढी चटारो मलाई छ, अहिले।

बेहुला नभई जन्तीको रूपमा चटारो गरिरहँदा राप्रपाको अवस्था कस्तो पाउनुभएको छ?

हामी अत्यन्तै उत्साहित छौँ । २०७९ को निर्वाचनमा पनि यो लुम्बिनी प्रदेशमा हामीले अत्यन्तै राम्रो मत पाएका थियौँ । देशभरिमा राप्रपाका लागि तीनवटा प्रदेश (बागमती, कोशी र लुम्बिनी) मा समान हाराहारीमा मत आएको थियो । त्यो हिसाबले लुम्बिनी प्रदेश राप्रपाका लागि पहिलेदेखि नै बलियो ठाउँ हो ।

हामीले प्रदेशमा पनि राम्रो समानुपातिक मत पाएका थियौँ । अहिले घरदैलो जाँदा र जनतासँग प्रत्यक्ष सम्पर्क गर्दा उहाँहरूबाट जुन किसिमको रेस्पोन्स, माया, सद्भाव र स्नेह पाएका छौँ, त्यसले गर्दा राप्रपाको एउटा कार्यकर्ता भएको हैसियतले म अत्यन्तै उत्साहित छु ।

प्रत्यक्षतर्फ अघिल्लो पटक गठबन्धनको समर्थन थियो र रुपन्देही–३ मा राप्रपाले जित्यो पनि । यसपटक गठबन्धन नहुँदा एक्लै चुनाव जित्न  सम्भव छ र ?

होइन, सकिन्छ । हेर्नुस्, गठबन्धनका फाइदा र बेफाइदा दुवै छन् । गठबन्धन गर्दा आफ्नै पार्टीका साथीहरू कताकता रुष्ट हुने अवस्था रहन्छ भने, अर्को पार्टीका रुष्ट कार्यकर्ताको मत गठबन्धनलाई नआएको पनि हामीले देखेका छौँ ।

रुपन्देहीमा गठबन्धन गर्दा मात्रै होइन, एक्लै लड्दा पनि २०७० सालमा हामीले जितेका हौँ । त्यसकारण गठबन्धन गर्दा मात्रै जितिन्छ भन्ने अवस्था होइन । रुपन्देही राप्रपाको एउटा गढ  हो । अहिले नै हामीले हेर्ने हो भने हाम्रो क्षेत्र नम्बर १ र ३ मा हामी विजयी हुन्छौँ ।

वैकल्पिक शक्ति बन्न त वैकल्पिक र नयाँ विचार पनि आउनुपर्‍यो नि ! नयाँ विचार त केही पनि छैन ।

जसरी अहिले घरदैलो गर्दा हामी जनतासँग प्रत्यक्ष गइरहेका छौँ, उहाँहरूले हाम्रा उम्मेदवारलाई सहर्ष स्वीकार्नुभएको छ। किनभने रुपन्देही विकासको पूर्वाधार तयार गर्ने व्यक्ति स्वर्गीय दीपक बोहरा हुनुहुन्थ्यो। दीपक बोहोरा नै यो आधुनिक रुपन्देहीका वास्तविक योजनाकार हुनुहुन्छ । उहाँ राजनीतिमा आएको २०३७ सालदेखि नै यहाँका खानेपानी, सडक, विद्युत् मात्रै होइन, अव्यवस्थित बसोबास वा सुकुम्बासीहरूका लागि बस्ती बसाल्ने काम गर्नुभयो । जस्तै: यही बुटवलको दीपनगर ।

२०३७ सालदेखि २०८९ साल (उहाँको निधनसम्म) निरन्तर रूपमा जनताको बीचमा रहने र जनताको माया पाउने व्यक्ति नेपालमा धेरै कम छन्। त्यसमध्ये एक दीपक बोहरा हुनुहुन्थ्यो र अहिले उहाँका दुई सुपुत्रहरू रुपन्देही–१ र ३ मा उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर ३ त उहाँले पहिला जितिसकेकै क्षेत्र हो । क्षेत्र नम्बर १ मा पनि एकपटक विजयी भइसकेको ठाउँमा प्रहरी प्रशासन लगाएर हराइयो, पछि अदालतले उहाँले जितेको फैसला सुनाउँदासम्म संसद्‌को कार्यकाल नै सकिसकेको थियो ।

त्यसैले क्षेत्र नम्बर १ पनि हाम्रो बलियो पकड भएको ठाउँ हो । त्यहाँको रोहिणी गाउँपालिका, देवदह नगरपालिका, तिलोत्तमा र ओमसतियामा हाम्रो राम्रो उपस्थिति छ । रोहिणी गाउँपालिकामा त हाम्रो दुई तिहाइ मत सुरक्षित छ । देवदहमा पनि हामी पहिलाभन्दा धेरै अगाडि आइसकेका छौँ। त्यसैले अहिलेको अवस्थामा हामी क्षेत्र नम्बर १ मा जितको नजिक छौँ भने क्षेत्र नम्बर ३ त हामीले जितेकै ठाउँ भइहाल्यो ।

रुपन्देही–२ मा प्रत्यक्षमा राप्रपाको उम्मेदवार छैन । क्षेत्रीय समितिले कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको समाचार आएको छ । जिल्ला समितिका अध्यक्षको फरक धारणा आएको छ । यथार्थ के हो ?

हामीले उम्मेदवार छनोट गर्दा सम्भावना बोकेको व्यक्तलिाई क्षेत्र नम्बर २ बाट उम्मेदवार तय गर्‍यौँ । तर उम्मेदवारले हामीलाई वास्तवकि कुरा बताउनु भएन । कोसँग ‘ग्रीन कार्ड’ छ भन्ने कुरा त हामीलाई थाहा हुने वषिय भएन, त्यो त सम्बन्धति व्यक्तलिाई नै थाहा हुने हो । तर उहाँले त्यो कुरा लुकाउँदा हामी यहाँ उम्मेदवारविहीन हुन पुग्यौँ, जुन हाम्रा लागि अत्यन्तै दुःखद् घटना हो ।

जहाँसम्म समर्थनको कुरा छ, क्षेत्रीय समितिले गरेको निर्णय नै अन्तिम निर्णय हो । क्षेत्रीय समितिले जे निर्णय गर्‍यो मेरो पनि त्यसैमा समर्थन छ । जिल्ला समितिले के भन्यो भन्ने कुराले यसमा खासै अर्थ राख्दैन । क्षेत्रीय समितिले जे गर्यो ठीक गर्यो ।

देशव्यापी चुनावी माहोल हेर्दा कांग्रेसएमालेमाओवादी वा राप्रपा जस्ता दलभन्दा नयाँ पार्टीहरू प्रति जनआकर्षण बढी देखिएको छ । राप्रपाको मत त्यता सिफ्ट‘ होला जस्तो लाग्दैन ?

यसमा मेरो दुइटा धारणा छ। पहिलो कुरा, मान्छेहरू अहिले विचारप्रति सचेत छन् । अहिले ‘नयाँ पार्टी, नयाँ पार्टी’ भनिन्छ, तर म त कुनै नयाँ पार्टी नै देख्दिनँ ।

किनभने अहिले हेर्नुस्, रास्वपामा हिजो एमाले, कांग्रेस र राप्रपामै बसेर रजगज गरेका मान्छेहरू छन् । जब उनीहरूलाई ‘अब आफ्नो पार्टीमा बसेर हालीमुहाली गर्न सकिन्न’ भन्ने लाग्यो, ती मान्छेहरू रास्वपामा गएर टिकट लिएर चुनाव लडिरहेका छन् । रास्वपाले पनि तिनै व्यक्तिलाई उम्मेदवार बनाएको छ जसले हिजो पुराना पार्टीबाट चुनाव लडेका वा जितेका थिए । त्यसो भएपछि रास्वपालाई कसरी नयाँ पार्टी भन्ने ? यो त चारैतिरबाट जोडेर बनेको पार्टी मात्र हो ।

वैकल्पिक शक्ति बन्न त वैकल्पिक र नयाँ विचार पनि आउनुपर्‍यो नि ! नयाँ विचार त केही पनि छैन । अहिले विचारको लडाइँ भनेको दुइटा मात्रै हो— एउटा ‘प्रचण्ड पथ’, अर्को ‘पृथ्वी पथ’। तपाईं भन्नुहोला प्रचण्डको त छुट्टै पार्टी छ। तर प्रचण्डले जुन गणतन्त्रको एजेन्डा ल्याएर यो देशमा स्थापना गर्नुभयो, त्यही पथमा अहिले रास्वपा पनि हिँडेको छ। नेपाली कांग्रेस र एमाले त पहिल्यै हिँडिसके।

अर्को भनेको राप्रपाले बोकेको ‘पृथ्वी पथ’ हो— जसले राष्ट्रिय एकीकरण, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको कुरा गर्छ। त्यसैले अहिलेको लडाइँ यी दुई विचारबीच मात्र हो। रास्वपालाई नयाँ विचारको पार्टी भन्न मिल्दैन।

बालेन शाह भन्ने चर्चित मान्छे आउँदा त्यहाँ अधिकांशको काम भनेको फोटो खिच्ने मात्रै हुन्छ । त्यो विचारको लोकप्रियता होइन, व्यक्तिगत लोकप्रियता हो।

दोस्रो कुरा, ‘भिडभाड’ को कुरा गर्नुहुन्छ भने, अहिले श्री ५ ज्ञानेन्द्र जहाँ सवारी हुन्छ, त्यहाँ बालेन शाह आउँदा भन्दा बढी भिड हुन्छ कि हुँदैन ? तपाईं आफैँ भन्नुस् त ! अस्ति १ फागुनमा मात्रै झापाबाट काठमाडौँ सवारी हुँदा लाखौँ जनता सडकमा उत्रिए । त्यही भिडको आधारमा मत क्याल्कुलेसन गर्ने हो भने त ‘राजसंस्थासहितको प्रजातन्त्र’ को एजेन्डा बोकेको राप्रपा सबैभन्दा ठूलो पार्टी हुनुपर्ने हो नि !

बालेन शाह भन्ने चर्चित मान्छे आउँदा त्यहाँ अधिकांशको काम भनेको फोटो खिच्ने मात्रै हुन्छ । त्यो विचारको लोकप्रियता होइन, व्यक्तिगत लोकप्रियता हो। यदि त्यो विचारकै लोकप्रियता हुन्थ्यो भने रवि लामिछाने वा बालेन शाह आउँदा जत्रो भिड हुन्छ, त्यस्तै भिड नयाँ पार्टीका अन्य नेताहरू आउँदा पनि हुनुपर्ने हो नि ! तर अरू आउँदा आधाभन्दा कम भिड हुन्छ । यसको अर्थ त्यो व्यक्तिगत क्रेज मात्र हो, जुन सधैँ मतमा परिणत हुँदैन ।

अर्को महत्त्वपूर्ण कुरा, अहिलेसम्मको विश्व इतिहास हेर्ने हो भने, केवल ‘लोकप्रियता’ को आधारमा राज्यसत्ता सुम्पिँदा त्यो देशले दुःख पाएको छ । धेरै पुरानो कुरा गर्नै परेन, युक्रेनकै कुरा गरौँ । युक्रेनका राष्ट्रपति (जेलेन्स्की) त कुनै राजनीतिक पृष्ठभूमि वा विचारबाट आएका होइनन् नि, उनी त लोकप्रियताको आधारमा आएका हुन् । त्यसपछि देशको हालत के भयो ? हामी सबैले देखेकै छौँ ।

तस्वीर/भिडियो:  चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?