काठमाडौं । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले मध्यपूर्वका अमेरिकी सैन्य वेश क्याम्पहरूमा आक्रमण गरिरहेकाे छ। यूएई, कतार, ओमान, कुवेत, बहराइन लगायतका देशमा इरानले आक्रमण तीव्र बनाएकाे हाे। यूएईमा भएको आक्रमणबाट एक नेपालीकाे मृत्यु भएकाे छ। हालसम्म उनकाे सम्पूर्ण जानकारी यूएई सरकारले गाेप्य नै राखेकाे छ।
त्यहाँकाे हालकाे अवस्था, नेपालीहरूमा देखिएकाे चिन्ता तथा सुरक्षा चासाे लगायतका विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयाेजक रमेश श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानी ।
समग्र रूपमा हेर्दा अहिले मध्यपूर्व, विशेषगरी यूएईको अवस्था कस्तो छ ?
अहिले मध्यपूर्वको अवस्था तनावपूर्ण छ। विशेषगरी यूएई केही दिनयता इरान आक्रमणको मुख्य लक्ष्य बनेको छ। हिजो भएको ड्रोन आक्रमणमा एक नेपालीको ज्यान गएको दुःखद खबर पुष्टि भएको छ। यसको जानकारी हामीले राजदूत तेजबहादुर क्षेत्रीमार्फत पाएका हौँ।
उहाँ यूएईको एक अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटीमा कार्यरत हुनुहुन्थ्यो। ड्रोन आक्रमणपछि उपचारका क्रममा उहाँको निधन भएको जानकारी आएको छ। यस घटनाले यहाँ रहेका नेपाली समुदायमा गहिरो चिन्ता थपेको छ।
यूएईमै बढी आक्रमण हुनुको कारण के देख्नुहुन्छ ?
जहाँ जहाँ अमेरिकी सैन्य बेस क्याम्प छन्, ती स्थानहरूलाई लक्ष्य बनाइएको देखिन्छ। यूएईमा अबुधाबी र दुबईसहित केही स्थानमा अमेरिकी सैन्य उपस्थितिका कारण यहाँ बढी आक्रमण भएको अनुमान छ।
अबुधाबी विमानस्थल, केही होटल र मलहरूमा ड्रोन आक्रमणको खबर आएका छन्। आधिकारिक रूपमा सबै विवरण सार्वजनिक नभए पनि हामीले विस्फोटका आवाजहरू सुनेका छौँ।
यूएई सरकारले धेरैजसो ड्रोनहरू इन्टरसेप्ट (विनाश) गरेको जनाएको छ। अहिलेसम्मको प्रतिरक्षा प्रणालीलाई ‘सफल’ नै भन्नुपर्छ। तर त्रास भने छँदैछ।
कतार, ओमान, साउदी अरेबियालगायत अन्य देशहरूको अवस्था कस्तो छ ?
कतारमा पनि केही प्रशासनिक बेस क्याम्प नजिक आक्रमणको खबर आएको छ। ओमानमा पनि आइतबार आक्रमणको सूचना आएको छ । इराकजस्ता देशमा त यस्ता घटनाहरू भइरहने नै गर्छन्। समग्र रूपमा हेर्दा मध्यपूर्वका धेरै देश सतर्क अवस्थामा छन्।
एनआरएनएले यस विषयमा के कदम चालिरहेको छ ?
आइतबार हामी आपतकालीन बैठक बसेका छौँ। यसमा अन्तर्राष्ट्रिय अध्यक्ष डा. बद्री केसीसहित विभिन्न देशका एनसीसी अध्यक्षहरू सहभागी हुनुभएको थियो।
यदि युद्ध लम्बियो भने कसरी नेपालीहरूलाई सुरक्षित राख्ने, आवश्यक परे उद्धार (रिप्याट्रिएसन फ्लाइट) कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयसँग पनि निरन्तर समन्वय भइरहेको छ। दूतावासको सहकार्यबिना उद्धार सम्भव हुँदैन। आवश्यकता परे नेपाल सरकारसँग समन्वय गरी विशेष उडान सञ्चालन गर्न पहल गरिनेछ।
अहिले त्यहाँ रहेका नेपालीहरूको मनोस्थिति कस्तो पाउनु भएको छ ?
नेपालीहरूमा मिश्रित प्रतिक्रिया छ। कतिपय अत्यन्तै चिन्तित हुनुहुन्छ । टिकट काटिएको छ, उडान कहिले हुन्छ, फिर्ता कहिले जान पाइन्छ, यस्ता प्रश्नहरू धेरै आएका छन्। ट्रान्जिटमा रहेका केही नेपालीहरू एयरपोर्टमै छन् । यूएई सरकारले एयरपोर्टमा फसेकाहरूका लागि खाना र बसोबासको अस्थायी व्यवस्था गरेको छ।
हामीले सबैलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न र निरन्तर सम्पर्कमा रहन अनुरोध गरेका छौँ।
लामो समयसम्म द्वन्द्व बढेमा खानपान र आवासको व्यवस्था कसरी हुन्छ ?
अहिले यूएई सरकारले निजी क्षेत्रलाई केही दिन ‘वर्क फ्रम होम’ लागू गरेको छ। धेरै कम्पनीहरूले कामदारलाई आवास र आधारभूत खानपानको व्यवस्था गरिरहेका छन्। यदि अवस्था बिग्रियो भने एनआरएनएले दूतावाससँग सहकार्य गरेर खाद्यान्न तथा आवश्यक सहयोग पुर्याउने तयारी गरेको छ।
उद्धार प्रक्रियामा के–कस्ता चुनौती देख्नुहुन्छ ?
उद्धार दूतावास र नेपाल सरकारको औपचारिक पहलमार्फत मात्र सम्भव हुन्छ । यदि युद्ध तीव्र भयो भने प्राथमिकता निर्धारण गरेर अति संवेदनशील अवस्थामा रहेका, भिसा समस्या भएका, स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई प्राथमिकता दिइन सक्छ । एयरलाइन्ससँग सहकार्य गरेर विशेष उडान सञ्चालन गर्ने सम्भावना रहन्छ। तर सबै कुरा परिस्थितिमा निर्भर हुनेछ।
अन्त्यमा, यहाँ रहेका नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ ?
सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, अफवाहमा नलाग्न र दूतावास तथा एनआरएनएले दिने आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गर्दछु । हामी निरन्तर सम्पर्कमा छौँ । परिस्थिति जटिल भए पनि समन्वयका साथ काम भइरहेको छ । धैर्य, सतर्कता र एकताबाटै यो कठिन घडी पार गर्न सकिन्छ ।
प्रतिक्रिया 4