News Summary
Generated by OK AI. Editorially reviewed.- दार्जिलिङको चौरास्तामा नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको शालिक स्थापना गरिने भएको छ।
- जीटीएको प्रमुख अनित थापाले प्रशान्तको निधनको ५० दिन पुगेको सन्दर्भमा परिवारलाई शालिक स्थापना गर्ने आश्वासन दिएका छन्।
- शालिकको डिजाइन चर्चित मूर्तिकार अमिर सुन्दासले गर्नेछन् र यो गोर्खा समुदाय र संगीतप्रेमीका लागि गर्वको क्षण हुनेछ।
दार्जिलिङ । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको छ ।
तामाङको निधनको ५० दिन पुगेको सन्दर्भमा आइतबार सिलिगुडीमा आयोजित भेटमा जीटीए प्रमुख अनित थापाले परिवारलाई उक्त आश्वासन दिएका हुन् ।
उक्त भेटमा प्रशान्तकी श्रीमती मार्था आले, छोरी र दिदी अनुपमा उपस्थित थिए । भेटमा थापाले दार्जिलिङका गौरव तामाङको सम्झनालाई सदैव जीवित राख्न चौरास्तामा उनको पूर्ण कदको शालिक स्थापना गरिने बताएका हुन् ।
प्रशान्तले दार्जिलिङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिकालाई स्मरण गर्दै यो निर्णय ऐतिहासिक र भावनात्मक दुवै रूपमा महत्वपूर्ण रहेको थापाले बताए ।
शालिकको डिजाइन चर्चित मूर्तिकार अमिर सुन्दासले गर्नेछन् । कलात्मक उत्कृष्टताका लागि परिचित सुन्दासले प्रशान्तको व्यक्तित्व, सरलता र संगीतप्रतिको समर्पण झल्किने गरी मूर्ति तयार पार्ने बताइएको छ ।
‘दार्जिलिङको प्रसिद्ध पर्यटकीय थलो चौरास्तामा तामाङको शालिक स्थापना हुनु केवल एक स्मारक निर्माण मात्र होइन, यो सम्पूर्ण गोर्खा समुदाय र संगीतप्रेमीका लागि गर्वको क्षण हुनेछ’ थापाले भनेका छन्, ‘यसले भावी पुस्तालाई पनि प्रेरणा दिने विश्वास गरिएको छ ।’
प्रशान्तले आफ्नो मधुर स्वर र सरल व्यक्तित्वमार्फत लाखौंको हृदय जितेका थिए ।
प्रतिक्रिया 4